बागलुङ/ उच्च अदालत बागलुङको निर्माणाधिन भवनको ढीलागरी नक्सापास गर्दा नगरपालिकालाई १२ लाख राजश्व उठ्यो । जिल्ला अदालतले पनि नक्सापास गराएको छ । तर, जिल्ला प्रशासनकै भवनको नक्सापास छैन । निर्माणाधिन प्रहरीको आबासगृहको पनि नक्सापासबिनै काम शुरु भएको छ ।
मुख्य नियामक निकायकै भवन नक्सापासबिनै बन्न थालेपछि अन्य सरकारी भवनले पनि नक्सापास गराएका छैनन् । नक्सापास नगर्दा बागलुङ नगरपालिकालाई लाखौं रुपैयाँ कर नोक्सानी भएको छ । कानून मिच्नेलाई कारवाही गर्ने प्रशासनिक कार्यालयले आफ्नो भवनको नक्सापास नगर्दा नगरपालिकालाई लाखौं रकम नोक्सानी परेको हो । नगरपालिकाले घरधुरी करसमेत लिने गर्छ । तर, नक्सापासै नभएका कार्यालयलाई नियमन गर्न नसकेको हो ।
‘नियमन गर्ने हो भने लाखौं रकम राजश्व संकलन हुने थियो, त्यो काम कर्मचारी तहबाट मात्र संभव नहुने रहेछ’ इन्जिनियर त्रिलोचत्र गिरीले भने, ‘जनप्रतिनिधि तहबाट समन्वय गर्ने हो भने धेरै भवनलाई नियमन गर्न सकिन्छ ।’ बाहिर देखिएर बनेका घरबाहेक गुपचुप बनेका कतिपय निजी घर नक्सापास नगरी बनेका छन् ।
भवन निर्माण सम्बन्धी बिज्ञ इन्जिनियरहरु रहने सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले पनि आफ्नो भवनको नक्सापास गरेको छैन । चारतले भवन बनाएको आयोजनाले बिज्ञको सल्लाहमा विभागमा नक्सांकन गरेर बनाएको जनाएको छ । आयोजना प्रमुख सुनिता श्रेष्ठले राज्यको भवन निर्माण संहिता पूर्ण पालना गरेर भवन बनाएको बताइन् । उनले विभागको मापदण्डमा रहेर काम गरेकोले नक्सापास भन्दा पनि निर्माण सम्पन्न हुने बेलासम्म नगरपालिकामा सूचिकृत गरिने बताइन् ।
नगरपालिकाले नियमबिपरित भएको चाल पाउने बित्तिकै सबै भवनका सरकारी कार्यालय र निजी आबास बनाउनेलाई पनि पत्राचार गर्ने गरेको छ । गिरीका अनुसार हरेक सरकारी भवनको डिजाइन तथा लागत स्टिमेट गर्ने बेलामै नक्सापास दस्तुर पुग्ने गरी नक्सांकन भएको हुने तर कार्यालयले चासो नदिँदा यस्तो भएको हो । कर्मचारीलाई नटेरेपनि स्थानीय सरकार र सरकारका प्रमुखको आदेश दिने व्यवस्थाले यो अभियान सफल हुने गिरीले बताए ।
त्यसो त बागलुङ नगरपालिका भित्रका निजी घरहरु पनि कतिपय नक्सापास नगरी बनिरहेका छन् । केही घरले नक्सापास गरेर पनि निर्माण सम्पन्न लिएका छैनन् । पहिलो दोश्रो तलाको पास गरेको नक्सामा थपघट नगरी चारपाँच तला पु¥याउने चलन बढी छ । केही होटल तथा ठूला घरले आँफुखुसी घर बनाएका हुन् । यसरी घर बनाउँदा कन्सल्ट्यान्टबाट नक्सांकन गरेर सिधै घर बनाएकाले नगरपालिकामा वास्तै नगरेका हुन् ।
‘जब उनीहरुलाई ऋण लिनुपर्छ, वा अन्य अप्ठ्यारो पर्छ अनि मात्र नक्सापास प्रमाणपत्र बनाइदिन आउने गरेका छन्’ उपप्रमुख राजु खड्काले भने, ‘भवन एकातर्फ बनेको छ, अर्को प्रकारको पास गर्न खोज्नेपनि छन् ।’ बजारभित्र सडकको मापदण्ड मिचेका, अन्य सुरक्षाको मापदण्ड पालना नगरेका तथा तोकेभन्दा बढी अग्ला घरको नक्सापास नभएको हो ।
नगरपालिकाको नक्सा शाखाका अनुसार बागलुङ बजारमा ४ हजार घरले नक्सा पास बनाएका छन् । तर, अधिकांसले सम्पन्नताको प्रमाणपत्र लिएका छैनन् । घर बनाउने बेला स्वीकृति लिएपनि मापदण्ड अनुसार नबनाएका, नक्सा फेरेकाहरुले सम्पन्नता लिन नसकेको इन्जिनियर गौरव शर्माले बताए । नक्सा शाखाको रेकर्डमा भएका यतिका धेरै घरमध्ये झण्डै एक हजार घरले मात्र काम सम्पन्न भएको प्रमाणपत्र लिएका छन् ।





