बागलुङ/ बिहान सा“ढे ११ बजेको समय थियो । एकाएक गुहार मागेको आवाज आयो । बागलुङ नगरपालिका–१ का रामबहादुर केसी (परिवर्तित नाम)को घरमा आगलागी भयो ।
छिमेकी जुटेर आगो निभाउने कोशिस गरे । तर, आगोको लप्काले छिमेकीको दुई घरमा पनि भेट्यो । त्यसपछि उनीहरुले तत्काल प्रहरीको १०० नम्बरमा फोन गरेर सहायता मागे । तत्काल वडाध्यक्ष जयबहादुर केसीसमेत घटनास्थल पुगेर नगरपालिकाको दमकललाई बोलाए । उनले रेडक्रसलाई समेत जानकारी दिए ।
एकैछिनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसका उद्दार टोली पुगेर आगो निभाए । घटनामा घाइते भएका ४ जनालाई धौलागिरि अस्पतालको एम्बुलेन्समा राखेर उपचारका लागि पठाइयो । घरभित्र रहेका सिलिण्डर लगायतका प्रज्वलनशील बस्तु निकाल्ने काममा प्रहरीले साथ दियो ।
वडाध्यक्ष, छिमेकी मिलेर रामबहादुरसहित पीडित परिवारलाई सम्झाए । रोइकराइ गरेरभन्दा धैर्य गरेर आगो निभाउने र प्रकोपसँग जुध्न आग्रह गरे । नगरपालिकाबाट अत्यावश्यक सेवा दिएर बस्ने खाने व्यवस्थापन गराउने आश्वासन दिए ।
रेडक्रसका उद्दार टोलीले खानेबस्ने बस्तुहरु दिएर साथ दिने बताए । घटनाबारे प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, सशष्त्र प्रहरी बलका नायव उपरिक्षक कृष्ण कुमार श्रेष्ठ लगायतका व्यक्तित्व गएर राहत दिने र घटनाबाट नआत्तिन सम्झाइबुझाइ गरे । यस्ता घटनाबाट पाठ सिकेर आगामी दिनमा सबैले प्रकोपबाट बच्ने पूर्वतयारी गर्नुपर्ने प्रजिअ श्रेष्ठले बताइन् ।
यो कृतिम घटना थियो । सशस्त्र प्रहरी बलले प्रकोपबाट आम नागरिकलाई सचेत बनाउन, खोजी उद्दार टोलीलाई नियमित सचेत बनाएर चुस्त दुरुस्त राख्नका लागि यो घटना अभ्यास गरिएको थियो । ‘यो घटनाको अभ्यासले स्थानीयलाई पनि प्रकोपप्रति चासो राख्न सहयोग पुग्छ,’ सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्णकुमार श्रेष्ठले भने, ‘हाम्रा संयन्त्र पनि कत्तिको चुस्त छन् भन्ने अभ्यास भएको छ ।’
घटना बाजा बजाएर आउ“दैन तर उद्धारमा संयम अपनाएर गर्नुपर्छ भन्ने सन्देशका लागि यो कृतिम अभ्यास गरिएको उनले बताए । सुख्खा मौषममा आगलागीको अभ्यास गरेको सशष्त्र प्रहरीले बर्षातमा बाढीपहिरो तथा बेला मौकामा भूकम्प लगायतका घटनाको पनि अभ्यास गराउने गरेको छ ।
नेपाली सेना, नेपाल प्रहरी तथा बिपत व्यवस्थापन गुल्मले बेलाबेला सचेतनाका लागि विभिन्न स्थानमा पुगेर कृतिम अभ्यास गराउने गरेका छन् । यस्ता अभ्यासले आम नागरिकमा घटना भइहालेमा तत्काल प्रहरीमा खबर गर्ने बानीको विकास हुने गरेको प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले बताए । ‘प्रहरीले पनि जानकारी आएपछि तत्काल घटनास्थलमा पुगेर सेवा दिन सक्नुपर्छ,’ उनले भने, ‘भौगोलिक
अबस्थाअनुसार उद्दारका फरक फरक रणनीति बनाउन सकिन्छ ।’
नगरपालिकाले दमकल तथा रेडक्रस र अस्पतालमा एम्बुलेन्सहरु पनि तयारी अबस्थामा राख्नुपर्ने यस्ता घटनाले सिकाएको उनले बताए ।





