बागलुङ/गण्डकी प्रदेशले घोषणा गरेका महत्वपूर्ण पर्यटन गन्तव्यदेखि सडक र स्वास्थ्य क्षेत्र पनि बागलुङमा धेरै छन् । तर, ती आयोजनामा लगानी भने सोचेजस्तो भएको छैन । कतिपय गन्तव्यको गुरुयोजना पूरा गर्न लगानीको अभाव छ भने कतिपयमा गुरुयोजना बन्नै सकेका छैनन् । केही महत्वपूर्ण काम सामान्य त्रुटि र अलमलले अगाडि बढ्न सकेका छैनन् ।
पर्यटकको ओइरो लाग्ने बागलुङ कालिका मन्दिर जीर्णोदार गर्न लागिएको छ । यो मन्दिरमा कलात्मक बुट्टासहित तामाको छाना र भक्तपुरे इटा टाँस्ने काम भैरहेको छ । पाटनबाट आएका कलाकारले धमाधम काम गरिरहेका छन् ।
गण्डकी प्रदेशमै धार्मिक महत्व बोक्ने कालिका मन्दिरप्रतिको आर्कषणले बागलुङको पर्यटन व्यवसायमा ठूलो सहयोग पुगेको छ । ‘कालिका मन्दिरको महिमाका कारण सयौं पर्यटक आउने गर्छन्, जसका कारण बागलुङका दर्जनौं होटल चलेका छन्’, पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले भने, ‘यो प्रदेश गौरवको योजनामा समेटिनुपर्छ ।’ गण्डकी प्रदेशले राखेको महत्वपूर्ण गन्तव्यमा भने बागलुङभित्रको सूचीमा कालीका मन्दिर पहिलो नम्बरमा छ । अहिले पनि वर्षमा डेढ करोड कमाइ गरेर सोही अनुसारका योजना निर्माण र सम्पन्न गर्ने काममा गुठी क्रियाशिल छ ।
मन्दिर जीर्णोद्दार गर्ने तथा अन्य संरचना बनाउने काममा भने कसैको पनि साथ र सहयोग नपाएको कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । कालिका मन्दिर जिर्णोद्दारका लागि आन्तिरक श्रोतबाट ४० लाख विनियोजन गरिएको छ । उक्त बजेटबाट काम भैरहेको हो । ‘हामीले माग्न त धेरै ठाउँमा पुगेर बजेट माग गरेका थियौं, कसैले पत्याएनन्’, खड्काले भने, ‘आन्तरिक श्रोतबाटै भएपनि काम थालेका छौं, फागुनभित्रै काम सक्ने लक्ष्य छ ।’ यो काम सँगै मन्दिर परिसरमा करोडौंको काम भैरहेको छ ।
गन्तव्य कालिका अभियान तथा आवधिक योजनासमेत बनाएको गुठीले ७१ लख रुपैयाँमा सत्तल निर्माण गर्दै छ । त्यस्तै अखण्ड ध्वनी लगाउने हवन कुण्डका लागि २० लाख लगानी गरिएको छ । यहाँका फर्निचर सबै कलात्मक बुट्टा भरिएका हुनेछन् । त्यसका लागि काठमाडौं उपत्यकाका कालीगढसहित बागलुङ नगरपालिका–३ का पुराना कलाकार भीमबहादुर बिकले काम गरिरहेका छन् । यो कामले जिल्लाकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । ‘हामीले लगानी पाइएन भनेर काम गर्न छाड्दैनौ, गण्डकी प्रदेशकै गौरवको योजना तथा गन्तव्यको रुपमा कालिका मन्दिरलाई बिकास गर्दैछौं’ खड्काले भने, ‘पोखरापछि धेरै पर्यटक आउने क्षेत्र यही हो ।’
प्रदेश सरकारकै गन्तव्य सूचिमा सूचिकृत पञ्चकोटमा अर्बौका योजना छन् । तर, प्रदेशको बजेटमा प्राथमिकतामा परेको छैन । तर पनि करोडौंका काम भने भैरहेका छन् । गत बर्ष गण्डकी प्रदेश सरकारको ५० लाखको काम र चालु वर्ष नगरपालिकाको ५० लाखको काम गरेपनि त्यो पर्याप्त भने छैन । संसारकै अग्लो कलस बनाउने पूर्वाधारको मुख्य काम भने अझै बनाउन बाँकी छ । ‘काम त धेरे छ, प्रदेश सरकारको कामले केही अगाडि बढ्ने अबसर मिल्यो भने अहिले नगरको बजेट पनि छ’ इन्जिनियर त्रिलोचन गिरीले भने, ‘पहिलाको डिपिआर परिमार्जन गरेर नयाँ बन्दैछ, त्यसपछि लगानीका अवसर अझै बढ्छन् ।’ प्रदेश सरकारको सूूचीमा रहेका भकुण्डे, गाजाको दह, ढोरपाटन र घुम्टे लगायतका धेरै स्थानमा लगानीको खोजी भइहेको छ ।
पर्यटन गन्व्यमा सूचीकृत गलकोटको घुम्टेको विकासमा भौगोलिक कठिनाइ बाधक बनिरहेको छ । गलकोट नगरपालिका वडा नंं ५ को कार्यालयदेखि झण्डै ५ घण्टा पैदल हिंडेपछि मात्र पुग्न सकिने घुम्टेमा प्राविधिक समयमा नजाने, जिल्ला दररेट र सामानय स्टिमेटअनुसार काम गर्न नसकिने भएकोले योजना सफल बन्न नसकेको वडाध्यक्ष पवन हमालले बताए । ‘बजेट त यो वर्ष पनि ८० लाख छ, त्यसका लागि स्टिमेट गरिदिन जाने प्राविधिकसमेत छैनन्’ हमालले भने, ‘प्रदेशकै गौरवको योजना भएपनि यहाँको बिकास गर्न कठिन भयो ।’ नगरपालिकाले घुम्टे लक्षित साना योजना संचालन गरेपनि ठूला योजनाका लागि प्रदेश र संघिय कार्यक्रमको भर पर्नुपरेको उनले बताए । वडा नंं ५ कै मूर्तिकला कार्यशाला पनि प्रदेश सरकार र नगरपालिकाको लगानीमा काम भइरहेको छ । सडक, पर्यटन र कृषि क्षेत्रका धेरै योजनाले घुम्टे गुरुयोजना समेटिएको छ ।
अस्पतालमा अक्सिजन प्लान्ट
प्रदेशको लगानीले धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएको छ । कोरोना संक्रमणका कारण देशभर समस्या भैरहेको बेला गण्डकी प्रदेशको लगानीले अक्सिजन प्लान्ट निर्माण भएको हो ।
उपप्रादेशिक अस्पतालको रुपमा समेत सूचीकृत भएपछि धौलागिरि अस्पतालमा प्रदेशको लगानीले ठाउँ पाएको थियो । कोरोना संक्रमणले आक्रान्त हुँदा भोगेको सास्तीपछि प्रदेश सरकारले अस्पतालमा पहिलो नजर लगाएको हो । दैनिक चार खेप हालेर अक्सिजन भर्न पोखरा पुग्ने सवारी र अस्पतालमा भरिएका बिरामीको चापको समस्याले सिकाएको पाठ स्वरुप बागलुङमै स्थापना भएको प्लान्ट बरदान साबित भएको छ । अहिले त अस्पतालबाट अक्सिजन भरेर ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा अक्सिजन लैजान सकिने भएको छ ।
अस्पतालमा अहिले सिटि स्क्यान राख्ने कार्यक्रमसमेत छ । गण्डकी प्रदेश सरकारले चालु बर्ष १० करोड बजेट बिनियोजन गरेर सिटि स्क्यान राख्न लागेको हो । त्यसका लागि प्रकृयाको काम भैरहेको प्रशासकीय अधिकृत तेजप्रसाद निउरेले बताए । अस्पतालमा अहिले एकैपटक धेरै जनाले डाएलाएसिस गर्न पाएका छन् भने प्रदेश सरकारकै लगानीमा आइसियु कक्ष बनेको छ । हरि खड्का ट्रमा सेन्टरका लागि कतिपय सामाग्री तथा उपकरण खरिद भएका छन् । सी ब्लक निर्माण सकिएमा सेन्टरकै रुपमा काम थाल्न सकिने मेडिकल सुपरिटेण्डेन्ट डा. अमित ढुंगानाले बताए ।
प्रदेशको लगानीपछि मात्रै बन्यो सडक
२०५४ सालमा निर्माण सुरु भएर पनि मालढुंगा कुश्मीसेरा सडक अलपत्र जस्तै थियो । तत्कालिन जिविसदेखि भिनिन्न परियोजना समेतले काम गरेपनि यो सडकको सास्ती कहिले हटेन । जब गण्डकी प्रदेश सकरारको बजेट परिचालन भयो अनि मात्रै यो सडकले स्वरुप फेरेको छ ।
काम सुरु भएको झण्डै २३ वर्षपछि यो सडक कालोपत्रे गरिएको छ । सडक कालापत्रे भएपछि बर्षात्का लागि खाद्यान्न जोहो गर्ने दक्षिण बागलुङबासीको समस्या हटेको छ । अहिले यो सडक कालोपत्रे भएकोले एक घण्टामा आउजाउ गर्न सकिने भएको छ । अहिले बागलुङदेखि कुश्मीसेरा सम्मको २१ किमी सडक कालोपत्रे भएको छ । ‘अहिले त धेरै सजिलो भयो, ४५ मीनेटमा सदरमुकाम आइपुगिन्छ’ जैमिनी नगरपालिकाका शिक्षा अधिकारी खेमप्रसाद आचार्यले भने, ‘भैपरी आउने पहिरोबाहेक बाटोले दुःख पाउनुपर्ने छैन ।’ २०५४ सालमा ट्रयाक खुलेपछि यो सडकमा १ अर्बभन्दा बढी रकम खर्च भएपनि बनेको थिएन ।
एशियाली विकास बैंकको ऋण सहयोगमा शुरुवातमा कामका लागि खाद्यान्न कार्यक्रममार्फत खुलेको ट्रयाकमा करोडौ खर्च भएको थियो । यो खण्डमै दोश्रो पटक एडिबीकै सहयोगमा १६ करोड रुपैयाँ लगानी भएपनि कामले गति लिएको थिएन । यो सडकको १० किमी खण्ड कर्ण बिल्डर्सले ३० करोडमा त्यसबाहेक बागलुङतर्फको ५ किमी सडक स्थानीय पूर्वाधार साझोदारी बिकास कार्यक्रममार्फत र जैमिनी तर्फको ३ किमी खण्ड नगरपालिका र ३ किमी खण्ड गण्डकी प्रदेशको बजेटबाट कालोपत्रे भयो ।
उत्तरगंगा सपना
उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना पनि गण्डकी प्रदेशको गौरवको आयोजना हो । तर त्यसका लािग राष्ट्रिय निकुन्ज, दुई प्र्रदेश र अन्य धेरै समन्वयका कारण राष्ट्रिय गौरवमा पनि समावेश छ । ८ सय २८ मेगावाट क्षमताको यो योजना निर्माण गर्न सकेमा देशकै ठूलो आयोजना हुनेछ । साथै, यो योजनाले गण्डकी प्रदेशकै लागि धेरै रोयल्टी संकलन हुने र त्यसबाट उज्यालो गण्डकी प्रदेशको अभियानलाई पनि सघाउ पुग्नेछ । १ खर्ब ७० अर्व लागत अनुमान गरिएको आयोजना निर्माणका लागि राष्ट्रिय राजनीतिबाटै पहल हुनुपर्ने जरुरी छ ।
गाउँमै सिंहदरवार
झोलामा कार्यालय राखेर तत्कालिन गाविस चलेकोमा संघीयता पछि बागलुङका १० वटा पूर्वाधारसहितका पालिका बनेका छन् । बागलुङमा अधिकांस पालिकाका भवन बनिसकेका छन् । केहीका बन्दै छन् । त्यसकालागि आफ्नै नामको जग्गा हातपरेपछि प्रदेश सरकारले लगानी गरेको छ ।
यसरी बनेका पालिकाबाट सबै काम गर्ने आर्कषक पूर्वाधार र सेन्टर तयार भएका छन् । गाउँ गाउँमा सिंहदरवारको रुपमा यी आयोजनाले चिनारी दिएको छ । बागलुङको निसीखोला, तमानखोला, बडिगाड र ताराखोला गाउँपालिकाले आफ्नै भवन बनाइसकेका छन् । जैमिनी र गलकोट नगरपालिकाले निर्माण थालनी गरेका छन् भने बरेङ गाउँपालिका पनि आफ्नै भवनमा बस्न थालेको छ ।





