बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बिद्यालयलाई स्रोत जुटाउन महायज्ञ

बिद्यालयलाई स्रोत जुटाउन महायज्ञ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०७९, शुक्रबार

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–२ दमेकस्थित जैमिनी संस्कृत पाठशालाको स्तरबृद्धिका लागि महायज्ञ सञ्चालन भएको छ । बिद्यालय व्यवस्थापन समितिले सञ्चालन खर्च जुटाउन र स्तरबृद्धि गरिएको कक्षा सञ्चालनका लागि स्रोत जुटाउन महायज्ञ आयोजना गरिएको हो ।

फागुन १ गतेदेखि ८ गतेसम्म श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गरिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक सापकोटाले बताए । यसअघि यो बिद्यालय मन्दिरमा चढ्ने भेटी र दाताको सहयोगकै भरमा सञ्चालन हुँदै आएको थियो । दमेकमा रहेको हरिहर मन्दिर परिसरमा रहेको पाठशाला २०४९ सालयता दाताकै भरमा सञ्चालित छ ।

कक्षा ७ सम्म पठनपाठन हुने पाठशालालाई आगामी शैक्षिकसत्रदेखि कक्षा ८ सम्म स्तरबृद्धि गर्ने लक्षसहित महायज्ञ आयोजना गरिएको अध्यक्ष सापकोटाले बताए । संस्कृत भाषाको पठनपाठन हुने यस बिद्यालयबाट आधारभुत तह पास गर्न विद्यार्थीहरु पोखरा, चितवन लगायतका ठाउँमा रहेका संस्कृत पाठशाला जानुपर्ने बाध्यता छ ।

‘कम्तिमा आधारभुत तह यही बिद्यालयबाट पास भएर जाने वातावरण बनाउन लागेका हौं’ सापकोटा भन्छन् ‘हामीसँग स्थायी स्रोत केही पनि छैन्, सधैं दाताको भरपर्नुभन्दा एकैपटक यज्ञमा दान मागेर स्रोत जुटाउने प्रयासमा लागेका हौं ।’ विश्व शान्ति धनधान्याञ्चल महायज्ञ आयोजना गर्ने योजना भएपनि प्राबिधिक कारणले यो बर्ष सम्भब नभएको सापकोटाले बताए । महायज्ञमा वाचन शिरोमणी भूवन रेग्मीले प्रबचन गरेका छन् ।

बिद्यालयले एक करोड ५० लाख रुपैयाँको अक्षयकोष बनाउने लक्ष राखेको छ । ‘महायज्ञबाट संकलित रकमबाट अक्षयकोष बनाउने योजनामा छौं’ सापकोटाले भने ‘अक्षयकोषको व्याज रकमले एकजना शिक्षक र दैनिक सञ्चालन खर्च जुटाउने लक्ष छ ।’

महायज्ञ मुल आयोजक समिति सदस्य बन्नका लागि पाँच हजार १ सय रुपैयाँ न्युनतम सहयोग गर्नुपर्ने मापदण्ड बनाईएको छ । हालसम्म ३ सय ७५ जना मुल आयोजक समिति सदस्य बनेका छन् । ‘हामीसँग भएका भवनहरु पनि पर्याप्त छैनन्, महायज्ञबाट स्रोत जुटाउन सके भवन बनाउने जग्गाको समेत खोजी गर्ने लक्ष राखिएको छ’ उनले भने ‘भएका भवन जीर्ण हुँदा जोखिम मोलेर कक्षाहरु सञ्चालन गर्नुपर्ने बाध्यता छ ।’

विद्यालयले बेला बेलामा महापुराण, सप्ताह, गणेश पुराणलगायत धार्मिक कार्यमार्फत जम्मा भएको दानदक्षिणाबाट समेत खर्च जुटाउने गरेको छ । विद्यालयमा २२ जना बालकले अध्ययन गर्छन् । एकजना शिक्षकको दरबन्दी रहेको विद्यालयका लागि एकजना राहत दरबन्दी दुईजना करारमा जैमिनी नगरपालिकाले उपलब्ध गराएको छभने एकजना महर्षि फाउन्डेसनले संस्कृत भाषाका गुरुको दरबन्दी दिएको छ । तर, तोकिएर आएको पारिश्रमिकले मात्रै पाठशालाको खर्च चल्दैन् । विद्यार्थी, शिक्षकहरु सबैलाई विद्यालयले निशुल्क आवासीय सुविधा उपलव्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->