बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दृष्टिविहीन शिक्षकमाथि अमानवीय विभेद

दृष्टिविहीन शिक्षकमाथि अमानवीय विभेद

विद्यालयमा खुट्टा टेक्नै नदिए पनि शिक्षक विकल दुई महिनादेखि घर–विद्यालय गरिरहेका छन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०७९, शुक्रबार

बागलुङ/ नगरपालिकाले सरुवा गरेको पत्र लैजादापनि विद्यालयका प्रअले चासो नदिएर एक शिक्षक दुई महिनादेखि कामविहीन बनेका छन् ।

बागलुङ नगरपालिका वडा नंं ३ निबासी दृष्टिविहीन विकल थापालाई विद्यामन्दिर माविका प्रअ शान्तमणि ढकालले हाजिरी नगराएका हुन् । गत पुस ९ गते सरुवा भएर रामरेखा प्राविको रमाना लिएर गएका थापा हाँजिर हुन नपाएपछि दुई महिनादेखि विद्यामन्दिर जाने–आउने गरिरहेका छन् ।

नगर शिक्षा समितिले विद्यामन्दिर माविको व्यवस्थापन समिति अध्यक्ष बाबुलाल शाक्यको समेत सहमतिमा थापालाई सरुवा गरेको थियो । उनी दृष्टिविहीन भएकोले हरेक दिन रामरेखा जान समस्या भएपछि विद्यामन्दिर सरुवा गरिएको थियो । प्रावि तृतीय श्रेणीका थापा विद्यालयमा जाँदा पठनपाठनमा सहज हुने भए पनि प्रअले भने अपांगता भएकै कारण चासो नदिएको अपांग सरोकार संघकी अध्यक्ष चिजा थापाले बताइन् ।

२०७५ सालमा नियुक्ति पाएका थापाले चार वर्षसम्म रामरेखा आधारभूत विद्यालयमा पढाएका थिए । सरुवा लिएर गएका थापाको पत्रसमेत नबुझेर ढकालले व्यवस्थापन समितिको बैठक पनि नबोलाएका हुन् । फोनमा सम्पर्क गर्दा ढकालले आफ्नो विद्यालयमा दरबन्दी नै नभएकोले हाजिरी नगराएको जवाफ दिए । उनले गैरजिम्मेवारीपूर्वक यो विषय जानकारी नै नभएको पनि भन्न भ्याए । ‘यो सरुवा हामीलाई थाहै छैन, त्यो मानिस आएपनि मैले हाजिर गराउँदिन’, ढकालले भने, ‘नगरको निर्णय नमानेर जेल जानुपर्ने भए पनि जान्छु ।’ उनले दुई वर्षभित्र अपाङ्गमैत्री वातावरण बनाएर मात्र अपाङ्ग शिक्षक ल्याउन सक्ने प्रतिक्रिया दिए ।

थापाले भने लामो समयदेखि आफूलाई अलपत्र पारिएको भन्दै बिहीबार पत्रकार सम्मेलन गरेर न्याय दिलाइ दिन आग्रह गरेका थिए । ‘दृष्टिविहीन भए पनि म आफ्नो काम गर्न, पढाउन पनि सक्छु, उहाँ मप्रति पूर्वाग्रही बन्नुभयो’, थापाले भने, ‘मैले त सकेसमम राम्रो गरौंला भनेको थिए, किन यति सारै नकारात्मक बन्नुभयो बुझ्नै सकिन ।’ प्रअ ढकालसहितका केही शिक्षकले व्यवस्थापन समितिको बैठक नबसेको, अपांगलाई शौचालयसमेत अप्ठ्यारो हुनेलगायतका कुरा गर्दै पन्छ्याउने प्रयास गरिरहेको उनले गुनासो गरे ।

थापाका अनुसार बिद्यालयमा प्रअ ढकाल र अर्का एक शिक्षककी पत्नीलाई विद्यालयमा सरुवा गरेर ल्याउन भने कुनै निर्णयसमेत नकुरेको टिप्पणी गरे । ‘उहाँ मेडमहरु आउने बेलामा दरबन्दीको पनि कुरा भएन, सहमतिको पनि वास्ता थिएन’, उनले भने, ‘अपाङ्गप्रति गरिएको विभेद हो यो ।’ उनले यो समस्या भोगेपछि नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, शिक्षा विकास तथा समन्वय इकाइ र अपांग महासंघमा पनि गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->