बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दुई डाक्टरसहित गलकोट नगर अस्पतालमा सेवा सुरु

दुई डाक्टरसहित गलकोट नगर अस्पतालमा सेवा सुरु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०७९, शुक्रबार

बागलुङ/ मंगलबार गलकोट नगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिले नगर अस्पतालमा आएका एमजिडिपी डा. राजेश पौडेलको भब्य स्वागत गरे । यसअघि पनि यहाँ काम गरेको अनुभव भएका पौडेल नगर अस्पतालमा पुगेपछि स्थानीय पनि खुसी थिए ।

नगर अस्पताल संचालन गर्न आन्तरिक श्रोत लगानी गरेर काम थालेको गलकोटले दक्ष चिकित्सक पनि समयमै राख्न सकेको हो । उनीहरुले नगर अस्पताललाई नियमित संचालन गर्ने र सबै प्रकारका
समस्याको उपचार गर्ने स्थलको रुपमा बिकास गर्न तयारी गरेका छन् । त्यसैले लामो तयारीपछि २ दक्ष चिकित्सकसहित नगर अस्पताल संचालनमा आएको हो ।

केही समय अघिसम्म दरबन्दी अभावमा सेवा प्रभावित भएको गुनासो आउने गथ्र्यो । तर, नगरपालिकाले दुईजना चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापनपछि सेवा प्रवाह सहज भएको हो । डा. मनोज कार्मी र डा. राजेश पौडेल खटिएपछि अन्य दरबन्दीका स्वास्थ्यकर्मी पर्याप्त भएको सूचना अधिकारी जीवन नेपालीले बताए ।

यसअघि यहाँ हरिचौर प्राथमिक स्वास्थ्य केन्द्र थियो । सदरमुकामदेखि ५० किमी पश्चिममा भएकोले सामान्य समस्याले बिरामीहरु सदरमुकाम पुग्नु पथ्र्यो । अब भने यो समस्या हट्ने भएको स्थानीय सरिता निउरेले बताइन् ।

नगरपरिषदले गत बर्षनै यो केन्द्रलाई अस्पतालमा बढुवा गरेको थियो । बढुवापछि आवस्यक सेवा पनि संचालन गर्न पहल भएको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए । ‘कम्तिमा दुइ जना चिकित्सक सहितको स्वास्थ्यकर्मी नियमित बस्ने गरी आन्तरिक श्रोत व्यवस्थापन गरेका छौं’ गैरेले भने, ‘अब गलकोटेले अन्यत्र उपचार खोज्दै जानु पर्दैन ।’ हाल १० शैयाको अस्पताल संचालन भैसकेकोमा ५ शैया थप गर्ने तयारी भएको वडा अध्यक्ष पवन हमालले बताए ।

वडा अध्यक्ष पवन हमालको संयोजकत्वमा व्यवस्थापकीय काम पनि भइरहेको छ । उनकै नेतृत्वमा अस्पतालका लागि थप जग्गा व्यवस्थापनको काम भैरहेको हो । अस्पतालका स्वास्थ्यकर्मीका अनुसार यहाँ दैनिक ८० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् । उनीहरुलाई सामान्य समस्या पर्दा पनि सदरमुकाम पठाउन परेमा धेरै खर्च लाग्थ्यो तर नगरपालिकाले थालेको अभियानबाट धेरै बिरामीले सेवा पाउन थालेको अनमी शोभा काउचाले बताइन् ।

‘अहिले त शव गृह समेत बनेकोले यहीं पोष्टमार्टम पनि हुन थालेको छ,’ काउचाले भनिन् । डाक्टर अभावमा यसअघि कुनै घटनाका मृतकको पोष्टमार्टम गर्नु परेमा पीडितले कम्तिमा ३० हजार खर्चेर सदरमुकाम लैजानुपर्ने बाध्यता थियो ।

स्वास्थ्य मन्त्रालयले ‘ओएनएम’ सर्भे नगर्दा यहाँ पाउनुपर्ने दरबन्दी भने अझै पुरा हुन नसकेको हो । मन्त्रालयबाट पाउनुपर्ने छात्रवृत्ति कोटाका चिकित्सक पाउन नसकेकोले नगरको आन्तरिक श्रोत परिचालन गर्नुपरेको हमालले बताए । ओएनएम सर्भे भएमा यहाँ तीन जना डाक्टर पाउने व्यवस्था छ । ल्याब, एक्सरे, भिडियो एक्सरे, इसिजी लगायतका सेवा समेत यही संचालनमा आउन थालेको नगर स्वास्थ्य शाखाकाप्रमुख सुशिल पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->