बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पानीका स्रोत जोगाउन ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

पानीका स्रोत जोगाउन ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

पोखरी निर्माणले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुलाई खानेपानी सुविधाको लागि वनमै स्रोतको सुनिश्चितता हुने ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०७९, शुक्रबार

बागलुङ/ पानीका स्रोत सुक्न नदिन बागलुङमा ‘एक सामुदायिक वन, एक पोखरी’ कार्यक्रममार्फत् ११ वटा पोखरी निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा डिभिजन बन कार्यालयले सामुदायिक वनसँग मिलेर पोखरी निर्माण गरेको हो ।

पानीको स्रोत संरक्षण, जंगलभन्दा तल्लो भू–भागमा रहेका पानीका मुहानहरुको ‘रिचार्ज’ गर्ने र जंगली जीवजन्तुलाई पानीको स्रोत उपलब्ध गराउने उद्देश्यले सामुदायिक वन उपभोक्ता समुहमार्फत् एक सामुदायिक वन एक संरक्षण पोखरी निर्माण अभियान थालेको डिभिजन वन कार्यालय बागलुङका प्रमुख मुकुन्द प्रसाद अधिकारीले जानकारी दिए ।

पोखरी निर्माणले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुलाई खानेपानी सुविधाको लागि वनमै स्रोतको सुनिश्चितता हुने अधिकारीले बताए । आर्थिक वर्ष २०७७÷०७८ मा पाँच र २०७८÷०७९ मा छ गरी कुल ११ वटा पानीपोखरी निर्माण सम्पन्न भएका छन् । चालु वर्षमा पनि ६ वटा पोखरीका योजना स्वीकृत भएका छन् । ‘कच्ची पोखरी निर्माणले पानीको संचिती बढाउँछ, अग्ला पहाडमा बनेका पोखरीले तल्लो भू–भागमा रहेका पानीका मुहानलाई सघाउँछन्’, अधिकारीले भने ‘बढ्दो जनसंख्याको माग अनुसार खानेपानी पु¥याउन दीर्घकालीन रुपमा पोखरीहरुले महत्व राख्छन् ।’

कार्यालयले चालु आबमा जैमिनी, बागलुङ नगरपालिका, बरेङ, काठेखोला, निसीखोला, तमानखोला गाउँपालिका र गलकोट नगरपालिकामा एक/एक पोखरी निर्माणको योजना छ । सामुदायिक वनबाट प्रस्ताव प्राप्त भएपनि निर्माण नभएको कार्यालयले जनाएको छ ।

अभियानको पहिलो वर्ष पाँच लाख ६५ हजार रुपैयाँ लगानीमा बडिगाड–४ को ठुलो वन सामुदायिक वन, बागलुङ नगरपालिका–१० को हिराताल पर्यटकीय सामुदायिक वन, तमानखोला–२ को रानीवन सामुदायिक वन, बरेङ–२ को चियापानी, बागलुङ नगरपालिका १३ र १४ को भुल्केमुल धैरेनी तथा ढोरपाटन नगरपालिका–४ को सिनका सामुदायिक वनमा पोखरा निर्माण गरिएको सहायक वन अधिकृत मदन कँडेलले जानकारी दिए ।

गत बर्ष पोखरी निर्माणको लागि प्राप्त १० लाखमध्ये ८ लाख ३० हजार लागतमा बरेङ–२ को पधेराडाँडा महिला, बागलुङ नगरपालिका–३ को रात्माटा, गलकोट नगरपालिका–७ को लाम्दारा, काठेखोला गाउँपालिका–५ को शिवधुरी र बागलुङ नगरपालिका–७ को तितौरे सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

कार्यालयले पोखरी निर्माणका लागि छनोटमा परेका प्रत्येक सामुदायिक वनलाई कार्यालयल एक लाख उपलब्ध गराउँदै आएको छ । कार्यालयले उपलब्ध गराउने रकमबाहेक थप दश प्रतिशत रकम उपभोक्ताको साझेदारीमा लगानी हुन्छ ।

सकेसम्म पानीको मुहान नजिकै पोखरी निर्माण गरिन्छ । मुहान नजिक पोखरी निर्माण गर्ने अवस्था नभए पाईपमार्फत पानी लगेर पोखरीमा जम्मा गर्ने गरेको बडिगाड गाउँपालिका सव डिभिजन वन कार्यालय बडिगाडका प्रमुख दीपक श्रीसले जानकारी दिए । मुहान नजिक नभएको र पाईप खरिद गर्न बजेट अभाव भएको ठाउँमा आकासे पानी संरक्षण गरी पोखरीमा जम्मा गरिएको उनको भनाइ छ ।

वन क्षेत्रमा पानीको सतह सुक्दै जान थालेपछि वन्यजन्त सामुदायिक वन छाडेर पलायन हुने अवस्था आएपछि कार्यालयले पानी पोखरीको व्यवस्थापन गर्न थालेको हो । पानीको अभावमा सामुदायिक वनबाट लोप हुँदै गएका जीवजन्तु र चराचुरुङ्गी जोगाउन पोखरी निर्माणको अभियान सहयोग बन्ने अपेक्षा गरिएको छ ।

मानिसले आफ्नो प्रयोगका लागि मुहानमा सिमेन्ट प्रयोग गरी पक्की घेराबन्दी गर्ने तथा पाईपमार्फत् सिधै ट्याङकीमा पानी पु¥याउँदा पानीको खोजीमा वन्यजन्तु बस्ती पस्दा मानिस र वन्यजन्तुबीच द्वन्द्व बढेको कार्यालय प्रमुख घिमिरेको भनाई छ । वनमा पोखरी निर्माण भएपछि पानीको खोजीमा बन्यजन्तु बस्ती नपस्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->