बागलुङ/ ढोरपाटन शिकार आरक्षमा बर्षको दोस्रो शिकार याम सुरु भएको छ । आगामी शिकार याम (२०७९ फागुन–२०८० वैशाख)का लागि ढोरपाटनमा शिकार गर्न इच्छुकबाट प्रस्ताव आह्वान भएसँगै शिकार आरक्ष शिकारी पर्यटकको पर्खाइमा छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार प्रतिस्पर्धाबाट शिकार गराउन दरभाउ पत्र आह्वान गरेको हो । १५ दिनभित्र पेश हुने प्रस्तावहरुबाट बढीबढाउका आधारमा शिकार कम्पनीले नाउर, झारल र बनेलको शिकार अनुमती पाउने छन् ।
विभागका अनुसार आरक्षमा तोकिएको ब्लक र निर्धारण गरिएको कोटाको आधारमा प्रतिस्पर्धाबाट नाउर, झारल र बनेलको शिकार गरिने भएको छ । यसका लागि व्यक्ति तथा संघ संस्थाले निवेदन दिन सक्ने विभागले जनाएको छ । आरक्षमा यस आ.व. २०७९।८० को दोस्रो यामका लागि १२ नाउर ८ झारलको शिकार कोटा तोकिएको छ । यस सिजनमा नेपाली नागरिकका लागि ७ बनेल र विदेशी नागरिकका लागि ४ बनेल गरी जम्मा ११ वटा बनेल शिकार कोटा तोकिएको आरक्षका प्रमुख संरक्षण अधिकृत बिरेन्द्र कँडेलले बताए ।
ढोरपाटन नेपालको एक मात्र शिकार आरक्ष हो । यहाँ कात्तिक–मंसिर र फागुन–वैशाख गरी दुई सिजनमा शिकारको अनुमति दिइन्छ । आरक्षले शिकारको अनुमति दिएको संख्या, पर्यटक र उनीहरुको गतिविधिलाई नियमनको काम गर्छ । नेपालमा दुई सिजनामा गरी सामान्यतया दुई दर्जन नाउर र एक दर्जन झारलको शिकार हुने गरेको छ ।
आरक्षमा कुल ६ वटा ब्लक रहेका छन् । ब्लकअनुसार मूल्य फरक फरक पर्छ । पर्यटकले शिकार गरेको जनावरको सिङ, छाला, खप्परजस्ता अंग भने आफ्नो मुलुक लैजान पाउँछन् ।
विभागले यस वर्षको पहिलो शिकार यामका लागि ८ नाउर र ५ वटा झारलको शिकार अनुमति दिएको थियो । ती मध्ये पाँच नाउर र चार झारलको मात्रै शिकार भएको थियो । अघिल्लो शिकार याममा शिकार हुन नसकेका नाउर र झारल समेतलाई थप गरेर बर्षको दोस्रो याममा शिकार अनुमती दिन लागिएको हो ।
पहिलो शिकार याममा कुनैपनि नेपाली र बिदेशीले शिकारका लागि चासो नदेखाए पनि दोस्रो याममा बनेलको शिकारका लागि प्रस्ताव आव्हान गरिएको छ । ‘अनुमति लिएका बिदेशीले निशुल्क बनेलको शिकार गर्न पाउँछन्, नेपालीलाई पनि सामान्य शुल्क लिएर शिकारका लागि अनुमती लिन प्रस्ताव आव्हान गरिए पनि अहिलेसम्म कोही पनि अनुमति लिन आएका छैनन्’ कँडेलले भने ‘आशा गरौं यो शिजनमा बनेको पनि शिकार हुने छ ।’
आरक्षमा रहेका बनेलहरु आरक्ष आसपासका बस्तीमा पसेर किसानको बाली मास्ने गरेका छन् । आरक्षमा बनेलको संख्या उच्च रहेपनि शिकारीले चासो नदेखाएका हुन् । शिकारको माग बढी हुँदा राजश्वको दर पनि बढ्ने र माग घट्दा राजश्व पनि घट्ने गरेको छ ।





