
बागलुङ/ काम नगर्ने ठेकेदारहरु धमाधम कारवाहीमा पर्न थालेका छन् । बागलुङका योजना अलपत्र पार्ने ठेकेदारलाई डिभिजन सडक कार्यालयले कारवाही गरेको छ ।
पक्की पुलको ठेक्का लिएर वर्षौंसम्म म्याद थपिरहने, काम नसक्ने ठेकेदार कारवाहीमा परेका हुन् । कारवाहीमा पर्नेमा ‘वाइपी कन्स्ट्रक्सन प्रालि’ र ‘रफिना निर्माण कम्पनी’ रहेका छन् । उनीहरुको नाम कालोसूचीमा दर्ता गरिएको सडक डिभिजन कार्यालयका एक कर्मचारीले बताए ।
सडक डिभिजनकै सिफारिसमा संघिय सडक तथा सुपरिवेक्षण तथा अनुगमन कार्यालयले प्रक्रिया पु¥याएर ती दुई कम्पनीलाई कालोसूचीमा समेत राखेको हो । बागलुङको ढोरपाटन नगरपालिका–५ को भुजीखोला पुल तथा गलकोट नगरपालिका–८ र ९ जोड्ने दरमखोलाको पुल अलपत्र पारेपछि डिभिजनले ती दुई कम्पनीलाई कारवाही गरेको हो ।
३ करोड ३४ लाख लागतको भुजीखोला पुल र ५ करोड ४२ लाख लागतको दरमखोला पुल अहिले पनि अलपत्रै छ । पुलको मुख्य संरचना बनेकै छैनन् । पिलर ठडाएपछि अलपत्र परेको पुलहरु उनीहरुबाट बन्न नसक्ने देखेपछि कार्यालयले कारवाही प्रक्रिया थालेको थियो । उनीहरुलाई कारवाही किन नगर्ने भन्ने पत्र र सूचना समेत जारी हुँदा पनि सम्पर्क नगरेको कारण कारवाहीमा परेका हुन् ।
दुवै पुलको तीन–तीन पटक म्याद थप भएको थियो । डिभिजनका लेखा अधिकृत रामनाथ पौडेलका अनुसार कुनै सम्पर्क नगर्ने, काम पनि नगरी अलपत्र भएपछि यो निर्णय गर्नुपरेको हो । आगामी असार मसान्तभित्रै सबै प्रक्रिया पु¥याएर नयाँ ठेक्का सम्झौता गरेर काम अगाडि बढ्ने उनले बताए ।
ढोरपाटन नगरपालिका–५ को अधिकारीचौरमा निर्माण गरिने भुजीखोला पुल वाइपी रफिना संयुक्त निर्माण कम्पनीले ठेक्का लिएको थियो । २०७३ असोज ४ गतेको ठेक्का सम्झौता अनुसार २०७४ को माघ ४ गते सकिनुपर्ने उल्लेख छ । लामो समय अलपत्र पारेर अन्तिम पटक २०७७ साल मंसिर १४ मा थपिएको म्यादमा पनि कुनै प्रगति नभएपछि कार्यालयले ठेक्का रद्दको प्रक्रिया थालेको थियो ।
गत मंसिर २३ गते कार्यालयको कारवाही गर्ने सूचना उपर ठेकेदारले उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए । ‘काम गर्न कहिले पनि नआएको ठेकेदारले मुद्दा दिएर कार्यालयलाई अप्ठ्यारो पार्ने काम गरेका थिए, तर अदालतले अन्तरिम आदेश दिनु नपर्ने गरी फैसला गरेपछि कार्यालयलाई ठेक्का रद्द गर्ने बाटो खुलेको थियो’, डिभिजन प्रमुख बलिराज मल्लले भने, ‘चालु वर्षभित्रै अब उक्त पुल निर्माणको नयाँ काम थालिने छ ।’ उनले ठेकेदारबाट अहिलेसम्म खर्च भएको रकम समेत असुल उपर गर्ने प्रक्रिया सुरु भएको बताए ।
वाइपी कन्स्ट्रक्सनले २०७३ असोज १० गते ठेक्का सम्झौता गरेको दरमखोला मोटरेबल पुल पनि अलपत्रै छाडेको थियो । उक्र पुल नियमित बनेको भए २०७५ माघ ९ गते सम्पन्न हुने थियो । ‘सडक बनेको भए सजिलै सामग्री ढुवानी गर्न सकिन्थ्यो, अहिले धेरै अप्ठ्यारो छ’, ढोरपाटन–५ का वसन्त कंडेलले भने, ‘पुल नभएर वर्षांैदेखि हैरानी खेपेका छौं ।’





