बागलुङ/ महाशिवरात्रीको अवसरमा बागलुङका विभिन्न शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । ती भीडमा यो पटक हात्तिपाइले रोग विरुद्धको अभियानसमेत समावेश गरिएको छ ।
मन्दिरमा पूजा गर्ने, भजनकृतन तथा अन्य विभिन्न गतिविधि गरेर शिवरात्री मनाउँदा स्वास्थ्य विषयले पनि प्रवेश पाएको हो । बागलुङ नगरपालिका–४ को गौरीधाम शिवमन्दिरमा हात्तिपाइले रोग बिरुद्धको भजन प्रतियोगितासहित शिवरात्री मनाइएको छ । नगर स्वास्थ्य शाखाको सहयोगमा आयोजित भजन प्रतियोगितामा हात्तिपाइले रोग निको पार्न अनिवार्य रुपमा औषधि सेवन गर्नुपर्ने सन्देश दिइएको थियो ।
त्यस्तै, ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयमा आयोजित ८७ औं शिवरात्री तथा शिवबाबाको जन्मोत्सव समारोहमा पनि हात्तिपाइले रोग बिरुद्धको औषधि खानुपर्ने सन्देश दिइयो । शिवरात्रीको प्रवचन तथा धार्मिक कार्यक्रममा यो जानकारी दिइएको हो । बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले हात्तिपाइले बिरुद्धको अभियानबारे जानकारी गराएका थिए ।
धार्मिक क्षेत्रका मानिसले औषधि नखाएको धेरै पाइएको खनालको भनाई थियो । सहरी क्षेत्रका, ठूला र अग्ला घरमा बस्नेहरुले औषधि नखाएकोले बागलुङ नगरसहित जिल्लामै हात्तिपाइलेका बिरामी बढीरहेको तथ्यांक छ । खनालका अनुसार, बागलुङ नगरपालिकाभित्र मात्रै झण्डै ८० जना हात्तिपाइलेका संक्रमित रहेका छन् ।
कार्यक्रममा विश्वविद्यालयकी संचालिका साबित्री दिदीले मन शान्त बनाउने र नैतिक ज्ञानका लागि नियमित राजयोग गर्न आग्रह गरिन् । उनले स्वास्थ्य रक्षाका लागि पनि राजयोग उपयोगी भएको भन्दै जथाभावी खानपिन र बानी व्यवहारले समाजमा रोग फैलिएको बताइन् । कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठ, महिला संघकी अध्यक्ष शकुन्तला शर्माले बोलेका थिए ।
सबै धार्मिक स्थलमा सचेतना फैलाइएको हात्तिपाइले बिरुद्धको औषधि सेवन फागुन १० गतेदेखि सुरु हुनेछ । यो अभियानमा अनिवार्य औषधि खान सबै पक्षले आग्रह गरेका छन् । फागुन ११ गते टोलटोलमा खुवाइने कार्यक्रम पनि छ ।
शिवरात्रीकै अबसरमा तित्याङ स्थित शिवमन्दिर, कुँडुले, पर्वतको गुप्तेश्वर र म्याग्दीको गलेश्वर धाममा पनि सयौं भक्तजनले पूजा गरेका छन् । काठेखोलाको बिहुँ स्थित रामकोट शिव मन्दिरमापनि शनिबार सयौं भक्तजन पुगेका थिए । सुरक्षाकर्मी जस्तै यो पटक सबै शिवमन्दिरमा पुगेर भक्तजनलाई हात्तिपाइले रोग बिरुद्दको औषधि सेवन गरिदिन आग्रह गरिएको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिइन् । यो अभियान जिल्लाभरनै चलेको हो ।
अन्य धार्मिक आस्था राख्नेले पनि औषधि सेवनमा आनाकानी गरेपछि धार्मिक गुरुहरुमार्फत् नै औषधि खानकालागि आग्रह गर्न लागिएको शर्माले बताइन् ।





