बागलुङ/ जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य बिमा बापतको रकम समयमा भुक्तानी नगर्दा सर्वसाधारण बिमा सुविधाबाट बञ्चित भएका छन् ।
सबै नागरिकलाई स्वास्थ्य बिमामा सहभागि गराउन गाउँपालिकाले बिमा बापतको रकम समयमै भुक्तानी नदिँदा बिमा कार्यान्वयनमा नआएको हो । स्वास्थ्य बिमाका लागि फाराम भरेर बसेका निसीखोलाबासी बिमा सुविधा उपभोगबाट भने बञ्चित छन् ।
गाउँपालिकाले पहिलो चरणको ६४ लाख रुपैयाँ बीमा रकम भुक्तानी गर्न नसक्दा स्वास्थ्य बीमाको काम अघि बढ्न सकेको छैन । गत असारमा सम्पन्न दशौं गाउँसभाले पालिकाका नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो ।
५ हजार ४ सय घरधुरीका लागि निःशुल्क बिमा गर्न राजश्व बाडफाँडबाट २ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियोे । स्वास्थ्य बीमाको लागि पालिकाले पहिलो चरणमा ९ हजार १ सय ८५ जनाको विवरण संकलन गरिसकेको छ । विवरण संकलन भएका नागरिकले फागुन १ गतेदेखि सेवा लिनुपर्नेमा बीमाको रकम भुक्तानी नहुँदा कार्यान्वयनमा ढिलाई भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए ।
संघ, प्रदेश र पालिकाको आन्तरिक श्रोतको राजश्व बाँडफाँडबाट बीमा गर्ने निर्णय गाउँसभाले पारित गरेको थियो । भुक्तानी भएको ३ महिनाबाट नागरिकहरुले स्वास्थ्य बीमाको सेवा लिन पाउँछन् । प्रदेश र संघबाट आउने राजश्व बाँडफाँड शिर्षकमा बजेट राखिएकोमा बजेट प्राप्त नहुँदा कार्यान्वयनमा समस्या भएको गौतमको भनाई छ ।
गाउँपालिकाले असोज, कार्तिक र मंसिरमा रकम भुक्तानी गरेको भए फागुन १ गतेदेखि नागरिकहरुले बीमाको सेवा लिन पाउने थिए । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार चन्दले पहिलो चरणमा परिवारको विवरण आएपनि विशेष विवरण नआएको प्रतिक्रिया दिए । ‘प्रदेश र संघीय सरकारबाट थोरै बजेट प्राप्त हुँदा योजनामा बाँडफाँड गर्न गाह्रो भयो, एक हप्तामा राजश्व बजेट हेरेर भुक्तानी गछौं’ चन्दले भने ।





