बागलुङ/ बागलुङ नगर सह–लगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी बैशाखभित्र बागलुङ बजारमा शुद्ध खानेपानी पु¥याउने भएको छ । परियोजनाको बागलुङ नगरपालिका–३ काठेखोला किनारदेखि पानी प्रशोधन केन्द्र रहेको कैलामपोखरीसम्म पानी पुगेसँगै बैशाखभित्रै बजारमा शुद्ध खानेपानी आउने आशा पलाएको हो ।
लामो समयदेखि अलपत्र आयोजनाको कामले पछिल्लो समय गति लिएको छ । ‘हामीले आयोजनाको ९० प्रतिशत काम सकेका छौं, केही प्राबिधिक र संरचना निर्माणका काम बाँकी छन्, सबै काम सुचारु रहेकाले अब ढिला हुँदैन्’ आयोजना निर्माण गरिरहेको कम्पनी कन्काई जयमाता जेभीका इञ्जिनियर बिक्रम अधिकारीले भने ‘खोलाकिनारको पानी तानेर प्रशोधन केन्द्रसम्म ल्याउने काम सकिएको छ, कुनै अबरोध नआएमा एक महिनाभित्रै वितरण ट्याङ्कीमा पानी पु¥याउने लक्ष छ ।’
प्रशोधन ट्याङ्कीमा खोलाबाट पानी पुगेकाले अब धेरै काम बाँकी नरहेको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताए । ‘दुई बर्षमा सक्नेगरी सुरु भएको आयोजना पाँच बर्षमा लाग्नै लाग्दा सम्पन्न हुने चरणमा छ, दुई सातामा बितरण ट्याङ्कीमा पानी खसाल्छौं’ शर्माले भने ‘आयोजनाको पानी सुचारु हुँदा बर्षको सुख्खा यामबाट बागलुङ बजारमा पानीको अभाव नहुने वातावरण बन्छ ।’
यसअघि निर्माण व्यवसायीले पुस मसान्तसम्म खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य लिएपनि अझै आयोजना सम्पन्न हुन नसकेको हो । दुई वर्षमा आयोजना सक्नेगरी २०७५ असार ३१ गते कन्काई जयमाता जेबीले निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीले तीन पटक म्याद थपेर योजना निर्माण सम्पन्नको चरणमा पुगेको हो ।
‘आयोजनाका लागि हामीले धेरै सहजीकरण र सहयोग गरेका छौं’ शर्माले भने ‘खानेपानी बिभागले कतिपय कामको भुक्तानीका लागि बजेट नभएको बताईरहँदा हामीले केही भुक्तानीका काममा समेत सहजिकरण गरेर यो अबस्थामा आएको हो ।’ लिफ्ट आयोजनाले बागलुङ बजारमुनी रहेको काठेखोलाको पानी लिफ्टीङमार्फत रातमाटामा तानेर शुद्धिकरण गरेर वितरण गर्नेगरी काम भैरहेको हो ।
३२ करोड २५ लाख रुपैयाँको लागतमा कन्काई जयमाता जेबीले ठेक्का सम्झौता गरी निर्माण थालेको थियो । कोरोना महामारी, आयोजना निर्माणस्थलको भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाई भएको निर्माण व्यवसायीले बताउँदै आएका थिए ।
पानी लिफ्टिङ गर्न मोटर सञ्चालनका लागि ६३० केभिएको ट्रान्सफरर्मर जडान भइसकेको छ । पानी जम्मा गर्नका लागि काठेखोला किनारमा पाँचवटा व्यवस्थित इनार तयार भएका छन् । पानी प्रशोधनका लागि ९ वटा र बितरणका लागि २ वटा ट्याङ्की तयार भएका छन्भने खोला किनारका इनारदेखि वितरण ट्याङ्कीसम्म पाइपलाईन तयार भैसकेको इञ्जिनियर अधिकारीले बताए ।
अहिले बजारमा मागको आधा मात्रै पानी बागलुङको काठेखोला गाउँपालिकास्थित रेश र लेखानी खोलाबाट ल्याइदै आइएको छ । बागलुङ बजारमा खानेपानीको समस्या देखिदै आएपछि बागलुङ जिल्लाकै ठूलो लिफ्ट आयोजना निर्माण थालिएको थियो । डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सहलगानीमा लिफ्ट आयोजना निर्माण थालिएको थियो ।





