बागलुङ/ देउराली प्रावि बागलुङ नगरपालिका–४ ओडारचौरले चारकोठे नयाँ भवन निर्माण थालेको छ । राष्ट्रपति शैक्षीक सुधार कार्यक्रमअन्र्तगत निर्माण थालिएको भवनको सोमबार पूर्व शिक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले शिलान्याश गरे ।
आगामी असार मसान्तभित्रै निर्माण सक्नेगरी भवन निर्माण थालिएको हो । नेपाल सरकारको ५० लाख रुपैयाँ अनुदानमा भवन बन्ने शिक्षक उमाकान्त शर्माले बताए ।
भवन शिलान्याश गर्दै पौडेलले पूर्वाधार सुविधासम्पन्न भएर मात्रै शिक्षा क्षेत्रको सुधार नहुने धारणा राखे । उनले सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर पूर्वाधार विकास र शैक्षिक गुणस्तर सुधारमा काम गरिरहेको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले शैक्षिक सुधारका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने बताए । बिष्णु कुमारी शर्माको अध्यक्षतामा सम्पन्न शिलान्यास समारोहमा बागलुङ नगरपालिका–४ का अध्यक्ष कुमार बिक्रम क्षेत्रीले स्वागत र विद्यालयका शिक्षक उमाकान्त शर्माले सञ्चालन गरेका थिए ।





