बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्वादका लागि चर्चित बागलुङको आलु

स्वादका लागि चर्चित बागलुङको आलु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०७९, बुधबार

बागलुङ/ बागलुङ बजारमा आजकल तराइको आलु थोरै मात्र उपयोग हुन्छ । उपभोक्ताले पनि स्थानीय जातकै आलु छानेर खान रुचाउन थालेका छन् ।

स्थानीय उत्पादन बढ्दो छ । किसानले पनि व्यवसायिक रुपमा उत्पादन गरेर बजारमा ल्याएपछि तराइका आलुको माग घटेको हो । ‘आजकल तराइबाट ट्रकमा आलु आउन छाडेका छन्, अधिकांसले गाउँतिरका खोज्छन्’ व्यवसायी अर्जुन चोखालले भने, ‘स्वादमै फरक पर्ने भएपछि सबैको चाहना स्थानीय आलुमा छ ।’

पछिल्लो समय बागलुङमा ताराखोला, ढोरपाटन र मुस्ताङका आलु ल्याउने गरिएको छ । ताराखोलाको आलु सानो आकारको पाइन्छ, ढोरपाटन र मुस्ताङको आलु ठूलो आकारको हुन्छ । ‘पहिला ट्रकमा आलु र प्याज प्रसस्त आउने गरेकोमा केही बर्षदेखि प्याज मात्रै मगाएका छौं’ थोक बिक्रेता गोपाल कंडेलले भने, ‘बागलुङकै ग्रामीण क्षेत्रबाट आइरहेको आलुले प्रसस्त पुगेको छ ।’ उनले ताराखोला, ढोरपाटन र गाजामा फलेको आलु खरिद गरेर बेच्ने गरेको बताए । ती स्थानबाट पोखरा र भैरहवासम्म पनि बिक्रीका लागि किसानले आलु निकासी गरिरहेका छन् । सजिलै पाक्ने र मिठो स्वादका कारण स्थानीय आलुको माग बढीरहेको होटल व्यवसायी बताउँछन् ।

स्थानीय उत्पादनको आलु खानेले तराइ र भारतबाट आउने आलु मन नपराउने व्यवसायीले बताए । ‘लोकल पाएसम्म हामीले पनि बाहिरको लिने कुनै भएन’ होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेस राजभण्डारीले भने, ‘पाहुनाकै चाहना अनुसार ताराखोले र ढोरपाटनको आलु खुवाइन्छ ।’ स्वादको कारण स्थानीय आलु नै बढी खपत भएको उनले बताए ।

अघिल्ला बर्षको तुलनामा बागलुङमा आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्रको पनि तथ्यांक छ । आलु लगाउने क्षेत्रफल र उत्पादन बढेकोले आत्मनिर्भर मात्र नभई बिक्री गरेर लाखौं कमाईसमेत भित्रिएको केन्द्रका प्रमुख भानुभक्त भट्टराइले बताए । चालु बर्ष बागलुङमा ३ हजार ५० हेक्टर क्षेत्रमा आलु लगाईदा ५४ हजार ८ सय १० मेट्रिकटन आलु फलेको केन्द्रको प्रारम्भिक तथ्यांक छ । प्रतिकेजी ३० रुपैयाँमा
मात्रै बेच्न सक्दा किसानले १ अर्ब ६४ करोड रुपैयाँ कमाउन सक्ने उनले बताए ।

गतबर्ष ४५ हजार ६ सय मेट्रिकटन आलु फलेको थियो । यो बर्षको उत्पादन २० प्रतिशतले बढी हो । मौषम राम्रो परेको, उन्नत प्रविधिको प्रयोग र समयमा मलको उपलब्धताले यो अबस्था आएको उनले बताए । ‘बागलुङमा आलुमा रसायनिक मल प्रयोग भएको छैन, समयमा कम्पोष्ट मलको प्रयोग भएको छ’ भट्टराइले भने, ‘राम्रो बजार पाएकोले किसान पनि खुसी भएका छन् ।’ ताराखोला, तमानखोला र काठेखोला गाउँपालिका तथा ढोरपाटन र जैमिनी नगरपालिकामा धेरै आलु फल्छ । गलकोट र निसीखोलामा पनि आलु उत्तिकै फलाइन्छ ।

बागलुङमा ढोरपाटनको लोकलबाहेक कार्डिनल, जनकदेव, खुमलटार र एमएस ४२ दशमलब ३ नामका आलु बढी फलेका छन् । सबैभन्दा बढी उपभोक्ताले ताराखोला र ढोरपाटनको आलु मन पराउने गरेको राजभण्डारीले बताए । आलुको उत्पादन बढेपछि कृषि ज्ञान केन्दसहित स्थानीय पालिका समेतले जिल्लामा ७ वटा कोल्ड स्टोर बनाएका छन् । ती कोल्ड स्टोरमा ३ सय ५० मेट्रिकटन बढी भण्डारन गर्न मिल्छ । १ सय १० मेट्रिकटनको भण्डारन निजी क्षेत्रले बनाएको छ ।

आलुको उत्पादकत्व बढाउन संचालित आलुजोन, ब्लक र पकेटक्षेत्र बिस्तार गर्दा पछिल्लो चार बर्षमा आलुको उत्पादन दोब्बर बढेको कार्यालयका सूचना अधिकारी कुमार पुनले बताए । चार बर्षदेखि हरेक बर्ष २० देखि २५ प्रतिशत बढीरहेको छ । घर घरमा फलाएर खाने आलुको रेकर्ड नभएको उनले बताए । ‘जसले ठूलो परिणाममा उत्पादन गरेर बजार पठाएका छन् उनीहरुको मात्रै तत्थ्यांक राखिएको छ’ पुनले भने, ‘बजारमा आलुको मूल्य ५० देखि ९० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।’ तथ्यांकका लागि किसानले ३० रुपैयाँ मात्र पाएको रेकर्ड बनाएपनि १ अर्व ६४ करोडको आलु बिक्री भएको अनुमान गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->