
बागलुङ/ यसवर्ष हिमपात मिस गरेको पर्यटकीय क्षेत्र हाँडिकोटले पर्यटक पर्खिरहेको छ । हिउँका पारखीलाई न्यानो हिउँदले हाँडिकोट पुग्न दिएन् तर खुलेको आकाश, फक्रिदै गरेका गुराँस र एकनास चल्ने सिरेठो अनि पुरातात्विक संरचनाले पर्यटक पर्खिरहेका छन् । मुस्कुराईरहेका हिमाल हाँडीकोटमा पर्यटक देख्न चाहन्छन् ।
सहरको कोलाहल र प्रदूषण छाडेर हाँडिकोट पुग्दा मन चंगा हुन्छ । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि जस्ता दर्जनौँ हिमश्रृंखलाको मनमोहक दृश्यले हाँडिकोट पुग्ने जोकोहीलाई प्रफुल्लित बनाउँछन् । सूर्योदयदेखि सूर्यास्तसम्म हिमालले अनेक रंग फेर्छ । तल हरियाली वनजंगलले ढाकेको डाँडामा पुग्दा बादलभित्र हराएजस्तो हुन्छ ।
बाग्लुङको जैमिनी नगरपालिकास्थित हाँडीकोट टापुबाट देखिने केही दृश्य साँच्चिकै अद्भूत लाग्दछन् । जैमिनीको राङखानी, जैदी र छिस्तीको संगमस्थल हो हाँडीकोट । समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोटमा वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिरोले ढाकिने र हिउँदमा हिउँले घुम्टो हाल्दा पर्यटक नियमित पुग्छन् । तर, हाँडिकोटले जती प्राकृतिक र पौराणीक महत्व बोकेको छ त्यती पर्यटक भित्राउन नसकेको जैमिनी–१० राङ्खानीका मित्र थापा बताउँछन् ।
बाइसे चौबीसे राजाका पालामा रहेको दरबार उठेपछि उराठलाग्दो भएको हाँडीकोटले पछिल्लो समय न्याय पाउन थालेको छ । समथर जमिन, राजदरबारका भग्नावशेष, मन्दिर र शीलाले सुशज्जित हाँडीकोटमा पुगेर तस्बिर खिचाउन पर्यटक पुग्छन् ।
हाँडिकोटको प्रचार प्रसारमा सरकारी निकायभन्दा स्थानीयको जोड छ । हाडीकोटमा केही बर्षदेखि मेला महोत्सव गर्ने र आन्तरिक पर्यटक पु¥याउन थालिएको छ । यो बर्ष हाँडिकोटमा चौथो महोत्सव हुँदैछ । हाँडिकोट सामुदायिक विकास केन्द्र राङ्खानीले फागुपूर्णिमाको अवसर पारेर महोत्सव आयोजना गरेको हो । हाँडिकोट चिनाउन केही बर्षदेखि मेला महोत्सवमार्फत प्रचार थालिएको केन्द्रका अध्यक्ष रोशन थापाले जानकारी दिए । यो पटक फागुन १७ देखि २२ गतेसम्म विविध कार्यक्रम गरी आफ्नो संस्थाको बर्षिकोत्सवसँगै महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा आयोजना गरिने भलिवल, सांस्कृतिक कार्यक्रम र महोत्सव हेर्न आउने दर्शकमार्फत हाँडिकोटको प्रचार गर्ने संस्थाको विश्वास छ । महोत्सवमा स्थानीय कला संस्कृतिसंगै स्थानीय परिकार पनि प्रदर्शनी गरिने छ । यसले हाँडिकोटसँग जोडिएको गाउँको आर्थिक विकासमा सहयोग गर्ने संस्थाको बुझाई छ ।
यसअघि पैदलयात्रा गर्नुपर्ने बाध्यता हटेर सडकले जोडिएपछि हाँडीकोटमा नियमित पर्यटक पुग्न सजिलाो रहेको जैमिनी नगरका उपप्रमुख हरिहर शर्मा बताउँछन् । हाँडीकोटको पर्यटन विकास र यसलाई अझै आर्कषण बनाउन भौतिक पूर्वाधार निर्माण गर्न नगरपालिकाले लगानी बढाएको छ । हाल भ्युटावर, प्रतीक्षालय र मन्दिर निर्माणका लागि २२ लाख रुपैयाँ खर्च गरिएको छभने यसवर्ष खानेपानी व्यवस्थापनका लागि ९ लाख रुपैयाँमा ट्याङ्की निर्माण गरिएको उपप्रमुख शर्माले बताए । माथि डाँडामा पानीको स्रोत नभएका कारण झन्डै ५ सय मिटर तल खानेपानीको ट्यांकी निर्माण गरेर लिफ्टिङ प्रविधिबाट माथि लैजाने योजना छ । आगामी आर्थिक वर्ष भ्युटावरमा रेलिङ र तारजालीका लागि ३ लाख विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
हाँडीकोट चौबीसे राज्यको पालामा रहेको भुरेटाकुरेमा गनिन्छ । त्यसैले यहाँ पुरातात्विक महत्वका क्षेत्र पनि छन् । भुरेटाकुरे राजारजौटाले प्रयोग गरेका कतिपय सामग्री यहाँ संग्रह गरेर राखिएको छ । त्यसका लागि संग्रहालय बनाएर संरक्षण गर्ने नगरपालिकाको योजना छ ।
हाँडीकोट नजिकका डाँडाखानी र व्याडथलामा सामुदायिक घरबास सञ्चालनमा छ । घरबासमा खाना र बस्न राम्रो व्यवस्था छ । होमस्टे बस्न नचाहने पर्यटकका लागि नान्दुक बजारमा होटल पर्याप्त मात्रामा छन् ।





