बागलुङ’/राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले भारतीय बिस्तारबाद र अमेरिकी साम्राज्यबादबिरुद्ध बोल्दा सानो दल बन्नुपरेको बताएका छन् । उनले नेपालका ठूला दलहरु भारत र अमेरिकाको गुलामी गरेर आफ्नो पद जोगाउन लागेको पनि आरोप लगाए ।
शुक्रबार बागलुङमा आयोजित राष्ट्रिय जनमोर्चाको सातौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै केसीले बिदेशी शक्तीको भरमा लाग्नेले दल ठूलो बनाएपनि सुशासन र इमान्दारिता देखाउन नसकेको बताए । बिदेशीकै एजेण्डाको रुपमा संघियता लादिएको भन्दै त्यसले देशको अर्थतन्त्र टाट पल्टिन लागेको केसीले टिप्प्णी गरे ।
केसीले गणतनत्र र धर्मनिरपेक्षता जोगाउन यतिबेला नेपाली कांग्रेससँग सहकार्य गरेको बताए । ‘मलाई कांग्रेसको झोला बोक्यो भनेका छन्, तर केही एजेण्डा मिलेकोले सहकार्य गरेका हौं’ केसीले भने, ‘राष्ट्रियतामा एमालेभन्दा कांग्रेस नजिक भयो ।’ राष्ट्रपति निर्वाचनमा पनि कांग्रेस नेता रामचन्द्र पौडेललाई मतदान गर्ने उनले बताए ।
लामो समय सहकार्य गरेको एमालेलाई केसीले केही समयदेखि छाडेका छन् । ‘बामपन्थीका हिसाबले केपी ओली नजिक छन्, तर एजेण्डाले शेरबहादुर नजिक भए’ केसीले भने, ‘लोकतन्त्र बचाउनुपर्छ, बहुदलीय प्रणाली र धर्मनिरपेक्षता जोगाउनु पर्छ भन्नेमा कांग्रेसमा इमान्दारिता देखियो ।’ बर्गिय हिसाबले कांग्रेसभन्दा बामपन्थी नजिक भएपनि राष्ट्रियता र बिधिको शासन स्थापित गर्नुपर्छ भन्नेमा कांग्रेसले साथ दिएको उनले बताए । २०७७ साल पुस ५ गते संसद बिघटनपछि भने केसी एमाले अध्यक्ष ओलीको एजेण्डाबाट टाढा पुगेका छन् ।
दुर्गा प्रसाईले राजाबादीको भेला गरेको बिषयलाई उनले एमालेको इशारामा भएको आरोप लगाउन भ्याए । ‘एमालेका नेता दुर्गा प्रसाईले राजालाई स्वागत गरेको कुराले अर्को अविश्वास थपेको छ’ उनले भने, ‘पार्टीको केन्द्रीय सदस्य नै राजा बोकेर हिंडेपछि पार्टी नेतृत्वको वास्तविकता छर्लङ्ग भएको छ ।’ उनले गणतन्त्र र धर्मनिरपेक्षमा सबै दल एकमत हुनुपर्ने र संघियता हटाएमा देशको अर्थतन्त्र सुधार हुने तर्क गरे ।
केसीले संसदका ठूला दल सबैको आलोचना समेत गरे । कांग्रेसले लामो समय नेतृत्व गर्दा पनि देशमा सुशासन कायम नभएको उनले टिप्पणी गरेका थिए । एमाले, माओवादी र राप्रपाको नेतृत्वमा पनि भ्रष्टाचार बढेको उल्लेख गर्दै केसीले केही साझा मुद्दामा मात्रै गठबन्धन गरेको बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई यो नभए त्यो गर्दै आँफू सत्तामा बस्न चाहने नेता भएको आरोप लगाए । ‘बहुदलीय व्यवस्थामा पहिलो दलकै नेतृत्वमा सरकार बनाउने हो, तर उहाँ यो नभए त्यो गरेर आँफू सत्तामा बस्न चाहनुभयो’ केसीले भने, ‘तेस्रो शक्तीको सत्ता मोहले दुई महिनासम्म देश अस्थिर भयो ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई त अमेरिकी साम्राज्यबादीको एजेण्ट भएको आरोपसमेत लगाउन भ्याए । रास्वपा अमेरिकी गुप्तचर संस्था सिआईएले चलाएको पार्टी भएको केसीले दाबी गरे । ‘पार्टी ठूलो हुन एमसीसी बोक्नुपर्छ’ केसीले भने, ‘कि त अमेरिकाको एजेण्डा बोकेर हिंड्नुपर्छ ।’ गठन भएको ६ महिनामा धेरै मत पाउनुले यो पुष्टी गरेको उनले बताए । उनले ठूला दलको अर्कमण्यताले पनि स्वतन्त्र पार्टीले धेरै मत पाएको बताए ।





