बागलुङ/सुख्खा मौषममा बागलुङमा केही दूध पोखराबाट ल्याउने गरिन्छ । नत्र अधिकांस समय दूधमा आत्मनिर्भर जस्तै छ । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको तथ्यांक अनुसार बागलुङमा हरेक बर्ष २ करोड ४९ लाख ९१ हजार लीटर दूध उत्पादन हुने गर्छ ।
तर, अझै उत्पादन बढाएमा दूधको बिक्रीमा समस्या छैन । बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमका अनुसार शुद्ध दुध खानका लागि पुगेको जस्तो देखिएपनि दूधका परिकार बनाउने गरी उत्पादन छैन । जसका कारण मिठाइ लगायतका परिकार बागलुङमा बन्दैनन् ।
बलेवा र कुश्मीसेरा तर्फका केही किसानले पर्वतको कुश्मा लगेर दूध बेच्छन् । तर, त्यो पनि पर्याप्त छैन । दैनिक दुइचार क्यान्टिन बेच्ने किसानले मेहेनत अनुसारको कमाइ पाउन सकेका छैनन् । कतिपय ग्रामीण बजारमा दूध अभाव छ ।
कृषि मन्त्रालयको अध्ययन अनुसार एक जना मानिसलाई बार्षिक ९१ लिटर दूध आबस्यक पर्छ । राष्ट्रिय रुपमा निकालिएको लक्षको हिसाब गर्दा बागलुङमा भने प्रतिव्यक्ति ९३ लीटर पुग्ने गरी दूध उत्पादन भैरहेको छ । तर, यहाँका कर्मचारी र बाहिरबाट आएर बस्ने बिद्यार्थी समेतको तथ्यांक जोड्दा त्यो अंक पुग्दैन । त्यसैले दूध उत्पादन बढाउनुपर्ने उद्यमीले बताए ।
पोखरास्थित सुजल डेरीले त बागलुङका कतिपय ग्रामीण क्षेत्रमा पुगेर दूध उत्पादन बढाउन माग गरिसकेको छ । ‘दूध किनेर हामी लैजान्छौं, तपाईंहरु उत्पादन गर्नुहोस् भनेका छौं’ डेरीका डा. लक्ष्मणबहादुर ढकालले भने, ‘दुध उत्पादन गर्न सकेमा बिक्रीको समस्या छैन ।’ शुद्ध दूध मात्र उत्पादन गरेर नपुग्ने भन्दै उनले दूधजन्य परिकारमा जानुपर्ने धारणा राखे । डेरीको टोलीले जैमिनी नगरपालिकाका किसानसँग अन्तरक्रिया गरेर दैनिक ५ सय लीटरसम्म दूध पोखरा पठाइदिन आग्रह गरेको छ ।
पर्वतको लुंखु लगायतका क्षेत्रमा पनि दूध उत्पादन बढाउन सकेमा पोखरामा सहजै बिक्री गर्न सकिने गरी उद्यमीले खोजी गरेका छन् । स्थानीय किसानले पनि सोही अनुसार उत्पादनको तयारी गरेको बताए । ‘यसअघि सोझै बजार लैजाने समस्या थियो, सडकले सहज बनाएपछि किसानहरु आर्कषित भएका छन्’ स्थानीय तीलक शर्माले भने, ‘व्यवस्थित कृषि फर्म चलाउन सकियो भने दूध बेच्न समस्या छैन ।’
जैमिनी नगरपालिका–१ का अध्यक्ष बिष्णु आचार्यले नगरक्षेत्र भित्रका किसानलाई गाईभैसी खरिदमा अनुदान बढाउन सकेमा दूध उत्पादन पनि बढ्ने बताए । ‘धेरै दूध दिने गाइहरु भित्राएर नियमित संकलन गर्दै बजार पठाउन सकियो भने किसानहरु काम गर्न तयार छन्’ उनले भने, ‘यो अबस्था आएमा पशुफर्मका लागि घाँसको व्यवस्थापनमा पनि पहल गर्छौ ।’
पछिल्लो समय आएको सुपर नेपयर घाँसले गाईको दूध उत्पादन क्षमता बढाउने, व्याउने गाईको सुरक्षा हुने लगायतको फाइदा आएको भन्दै पुराना घाँसभन्दा नयाँ लगाउन ढकालले सिफािरस गराएका छन् । ‘किसानको तत्परता भयो भने प्रतिदिन १२ लीटर दूध दिने गाईलाई ३० लीटरसम्म पु¥याउन सकिन्छ’ ढकालले भने, ‘फर्ममा पाल्ने तरिका फेर्दा पनि सुधार हुन्छ ।’ ढकालका अनुसार सिमेन्टको भुईं बनाउँदा गाइको खुट्टामा घाउ भएर दूध घटाउने गरेको, तनावका कारण गाई व्याउने दर घटेको जस्ता अनुभव उनले सुनाए । ग्रामीण क्षेत्रमा सिमेन्टको भन्दा माटोकै भकारोमा राख्न उनले सुझाए ।
बागलुङको ताराखोलामा लिमे र पाराकोटे जातको भैसी संरक्षण अभियानले पनि दुध उत्पादनमा बढोत्तरी दिएको छ । तर, सडक अभावले ताराखोलाका किसानले भने समयमा बजारमा दूध पठाउन नसकेको बताए । ‘समयमै दूध बजार पुग्ने भए किसानले उत्पादन बढाउन चाहेका छन्’ स्थानीय प्रमानन्द गौतमले भने, ‘उत्पादनलाई बजारीकरणमा राज्यले साथ दिनुपर्छ ।’





