यो स्वास्थ्यचौकीमा बर्षमा झण्डै ५० देखि ७० जना गर्भवती महिला नियमित स्वास्थ्य परीक्षणमा आइरहेकोमा सुत्केरी हुने बेलामा सहर जान बाध्य भएको अनमी देवी थापाले बताइन् ।
बागलुङ/ सात बर्ष अघिदेखि निर्माणाधिन भवन नबनेपछि भकुण्डेको स्वास्थ्यचौकी पुरानो र साँघुरो भवनमा चलेको छ । पुरानो भवनको चार कोठामा सिंगो स्वास्थ्यचौकी संचालन गर्नु पर्दा निकै अप्ठ्यारो भएको इन्चार्ज उमेश सर्बुजाले बताए । पुरानो भवनमा आउने बाटोसमेत अप्ठ्यारो हुँदा बिरामी ल्याउन कठिन छ ।
बिरामी जाँच्ने, प्रशासन, कार्यालय प्रमुख र स्टोरसहित सुत्केरी कोठा चाहिने स्वास्थ्यचौकीमा साँघुरा चार कोठाले धेरै नै अप्ठ्यारो भएको उनले बताए । बैठक बस्नुपर्ने र पाहुना आएको बेला खुला ठाउँ खोज्नु पर्ने बाध्यता सर्बुजाले सुनाए ।
गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्नुपरेमा पनि गोप्य कोठा छैन । सुत्केरी गराउँदा चाहिने उपकरणसमेत नअट्ने कोठामा सेवा प्रवाह नै प्रभावित भएको छ । गाउँघरमा घाउचोट लागेका बिरामी पनि आइरहन्छन् । तर, उनीहरुको लागि उपचार गर्ने कोठा छैन । औषधी भण्डारण गरिएकै स्थानमा उपचार गर्नुपर्छ । बिरामी नै राख्न नमिल्ने स्थानमा कुरुवा राख्ने त संभवै छैन ।
ठेकेदारले जिम्मा लिएको काम पुरा नगर्दा बर्षौदेखि स्वास्थ्यकर्मी र बिरामीका आफन्तले यो सास्ती भोग्नुपरेको हो । ठेक्का लिएको काम ६ पटक म्याद थप्दा पनि ठेकेदारले पुरा नगर्दा यो सास्ती भोग्नुपरेको हो । अन्तिम पटकको म्याद पनि गत असोज ३० गते सकिएको हो । ‘नयाँ भवन बनेपनि काम पुरा नभएकोले सार्न पाइएन’ उनले भने, ‘पुरानो र जीर्ण भवनमा काम गर्नै अप्ठ्यारो भएको छ ।’ यहाँ कार्यरत ५ जना स्वास्थ्यकर्मीले आफ्नो जिम्माको काम गर्न पनि कोठा नभएर एकैठाउँमा पालो गर्नुपरेको गुनासो गरे ।
यो स्वास्थ्यचौकीमा बर्षमा झण्डै ५० देखि ७० जना गर्भवती महिला नियमित स्वास्थ्य परीक्षणमा आइरहेकोमा सुत्केरी हुने बेलामा सहर जान बाध्य भएको अनमी देवी थापाले बताइन् । ‘नियमित गर्भ परीक्षण गर्न यहीं आउनुहुन्छ, तर भवन अभावले साँघुरो र अप्ठ्यारो देखेपछि अधिकांस सहर जाने गर्नुभएको छ । एकदुइ दिनअघिनै सदरमुकाम झरेर कोही होटलमा बस्ने, कोही आफन्तको घर खोज्ने गरेका छन्’ थापाले भनिन् । सेवा भएरपनि भवन अभावमा सेवा दिन नसकेको उनले गुनासो गरिन् । रबिना एण्ड कन्स्ट्रक्सन प्रालिले २०७२ सालमा यो स्वास्थ्यचौकीको नयाँ भवन बनाउने ठेक्का लिएको थियो ।
स्वास्थ्यचौकी उपभोक्ता समितिका सचिव भीमबहादुर मल्लका अनुसार ठेकेदारले धेरै मजदुरको ज्याला पनि दिएका छैनन् । ‘चार जना मिस्त्रीको झण्डै ३ लाख ५० हजार बढी भुक्तानी बाँकी छ’ उनले भने, ‘सामान ल्याएको पनि भुक्तानी दिएका छैनन् ।’ सदरमुकामस्थित एक हार्डवेयरबाट २० लाख बढीको सामान लगेर भुक्तानी नदिएको उनले बताए । स्थानीय दलबहादुर थापाले ५१ दिन काम गरेको ज्याला नपाएको गुनासो गरे । त्यस्तै रेमलाल थापा, सर्वजित थापा र कविराम थापाले पनि ज्याला नपाएको गुनासो गरे । स्थानीय शर्मिला मल्लले कामदार र ठेकेदारका कर्मचारीले खाजा खाएको रकम समेत नपाएको गुनासो गरिन् ।
कम्पनीले ६ पटक म्याद थप गर्दा पनि काम पुरा नगरेको सघन सहरी तथा भवन निर्माण आयोजनाकी प्रमुख सुनिता श्रेष्ठले जानकारी दिइन् । स्थानीय सरोकारवालाले पनि स्वास्थ्यचौकी भवन अलपत्र पार्नेलाई कारवाही गर्न सिफारिस गरेको वडा अध्यक्ष तिलबहादुर थापाले बताए । प्राविधिक रुपमा भवनको १४ प्रतिशत काम मात्रै बाँकी रहेको श्रेष्ठले जानकारी दिइन् ।





