घरमा बसेर फेसबुक र टिकटक चलाएर दिन काट्नुभन्दा दुईचार पैसा हुने काम गाउँमै पाउँदा खुशी लागेको सृजना टोल पदमार्ग उपभोक्ता समितिकी सविच राधा रानाले बताईन् ।
बागलुङ/अक्सर विकास निर्माणका काममा महिलालाई कम प्राथमिकतामा राखिन्छ । ज्यालामा बिभेद, अवसरमा कम सहभागितासंगै विकास निर्माणका काममा पनि समस्या छन् । तर, महिलाले नै नेतृत्व गरेका योजनामा भने महिला सहभागिता उल्लेख्य भएको पाईएको छ ।
बागलुङको जैमिनी नगरपालिका–१० राङखानी न्वाराघाटदेखि सृजनाटोल जोड्ने पदमार्ग निर्माणमा महिलाको उत्साहपूर्ण सहभागिता छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ३ लाख ९२ हजार ९ सय ६६ रुपैयाँ लागतमा आकर्षक पदमार्ग तयार गरिएको हो । राङखानीको पर्यटकीय क्षेत्र हात्तीढुंगा जोड्ने लक्ष्यका साथ निर्माण गरिएको पदमार्गले स्थानीयलाई पैदल यात्रामा सहजता थपेको छ ।
विशेषगरी बर्खाको समयमा साँघुरो गोरेटोमा यात्रा गर्दा चिप्लने डर थियो । साना बालबच्चालाई हिंड्न निकै कठिन रहेको गोरेटोलाई सुधार गरी चाक्लो, सिंढी र सोलिङ गरी पैदलमार्ग तयार गरेको न्वाराघाट सृजना टोल पदमार्ग उपभोक्ता समितिका अध्यक्ष खिमकुमारी थापाले जानकारी दिइन् । उक्त पदमार्ग निर्माणपछि हात्तीढुंगासँगै मन्दिर जाने धार्मिक पर्यटकलाई पनि सहयोग पुगेको छ ।
उक्त पदमार्ग निर्माणको लागि उपभोक्ता समिति गठन गर्न भेला बोलाउने, बैठक सञ्चालन तथा बैठकमा निर्णय लेख्नेदेखि उपभोक्ता समितिको नेतृत्व र विकास निर्माणमा कामदारको रुपमा स्थानीय महिलाको सहभागिता थियो । उपभोक्ता समितिमा सबै महिला सदस्य मात्रै छन् ।
पदमार्ग निर्माण गर्दा पनि कामदार महिलानै थिए । विशेष गरी सोलिङ र सिंढी निर्माण गर्न स्थानीय दुई/तीन जना सिपालु पुरुषले सहयोग गरेपनि पैदलमार्ग चाक्लो बनाउने, खोलामा ढुंगा फोड्ने, छपनी निकाल्ने, ढुंगा बोक्ने तथा सिंढी र सोलिङ गर्न पनि महिलानै अघि बढेको अध्यक्ष थापाको भनाई छ ।
‘हामीले ढुंगा फोड्न घन पनि हान्यौ, छिनो पनि समात्यौँ’ अध्यक्ष थापाले भनिन्–‘महिलाले अवसर पाए विकास निर्माणको काम पनि गर्न सक्छौँ ।’ यो बर्ष सिपालु पुरुष कामदारसँग सिंढी चिन्ने काम सिकेको हुँदा आगमी बर्ष अझै सहज हुने उनको भनाई छ । पदमार्ग निर्माणमा ६ जना महिला कामदार खटिएका थिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले व्यक्तिगत क्षमता विकाससँगै दैनिकी चलाउनसमेत सहयोग गरेको समितिका सचिव राधा रानाले बताइन् । घरमा बसेर फेसबुक र टिकटकमा दिन काट्नुभन्दा दुईचार पैसा हुने काम गाउँमै पाउँदा खुशी लागेको रानाको भनाई छ । ‘बर्खामा मौसमी काम पाइन्छ, हिउँदमा कठिन थियो’ रानाले भनिन्े– ‘रोजगार कार्यक्रम आएपछि घर व्यावहार चलाउन सजिलो भएको छ ।’
उक्त समुहका सदस्य प्रधानमन्त्री रोजागार कार्यक्रम सञ्चालन भएदेखि निरन्तर कामदारको रुपमा खटिदै आएका छन् । जैमिनी नगरपालिकाले यो बर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १२ वटा योजना सञ्चालन गरेको छ । १२ योजनामध्ये छ योजनाको नेतृत्वमा महिला रहेको रोजगार संयोजक सुरेश पुनले बताए । महिला नेतृत्वमा रहेको योजनामा तोकिएको समयमै काम सम्पन्न भएको संयोजक पुनको भनाई छ । उनीहरुले दैनिक ६ सय ५६ रुपैयाँ पारिश्रमिक पाउँछन् ।





