बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नारी दिवशमा सम्मान र अधिकारका कुरा

नारी दिवशमा सम्मान र अधिकारका कुरा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०७९, बुधबार

बागलुङ/१ सय १३ औं अन्तराष्ट्रिय नारी दिवश बागलुङमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । दिवशको अबसरमा प्रवचन, सचेतना ¥याली तथा सामाग्री बितरण समेतका कार्यक्रमहरु सम्पन्न भएका हुन् ।

बागलुङ नगरपालिका र सामाजिक बिकास कार्यालयको आयोजनामा श्रमिक महिला बीच अन्तरक्रिया समेत सम्पनन भयो । अन्तरक्रियामा आएका महिला श्रमिकहरुले ज्यालामा पुरुषको तुलनामा महिलालाई बिभेद भएको गुनासो गरे । उनीहरुले काम गर्दापनि महिला भएकोले बिश्राम समेत नपाएको समस्या बताए ।

मजदुरी गर्दा होस् वा मिस्त्री बनेर काम गर्दापनि पुरुष सहकर्मी भन्दा फरक व्यवहार हुने गरेको उनीहरुको गुनासो थियो । ‘लामो समय देखि मजदुरी बाट काम सिकेर मिस्त्री बनेरपनि मैले पुरुष सरह ज्याला पाइन’ बानपा २ की कुमारी बिकले भनिन्, ‘महिला भएकै कारण आधा ज्यालामा काम गर्न बाध्य छु । उनले घर बनाउने काम गरेको बताइन् ।

त्यस्तै महिला भएकै कारण शारिरीक रुपमा आउने समस्याको बेला पनि आराम गर्न नपाउने गुनासो गरे । ठेकेदारहरुले मजदुरलाई ज्यालामा ठगेर नाफा कमाएको उनीहरुको गुनासो थियो । ‘ठेकेदारले ज्यालामा हामीलाई ठग्छन्, त्यसमापनि महिला मजदुर भए बेलामा नदिने, थोरै दिने र लामो समय अलमल्याउने गरेका छन्’ अर्की मजदुर मीना बोसेलले भनिन्, ‘काम गरेको ज्याला नआए चुलो बल्दैन, तर हामीनै हेपिनुपर्छ ।’ बोसेलले मजदुरीबाटै परिवार पाल्ने काम गर्दै आएकी थिइन् । अहिले उनकी एक छोरी मृगौलाको बिरामी भएर नियमित उपचार गराउन बाध्य छिन् । नियमित डाएलाएसिस गराउन लाग्ने खर्चको जोहो गरेर घर चलाउन उनलाई धौधौ भएको गुनासो गरिन् ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख राजु खड्काले पीडित महिलाहरुको समस्या बारे ठेकेदारहरुसँग बसेर समाधान गर्ने बताए । उनले महिला मजदुरले बचत गर्न पनि सिक्नुपर्ने भन्दै छोराछोरी पढाएर दक्ष बनाउन आग्रह गरे । नगरकार्यपालिका सदस्य धनमाया शर्माको अध्यक्षता र महिला तथा बालबालिका शाखाकी प्रमुख सरस्वती देवी रेग्मीको संचालनमा सम्पन्न कार्यक्रममा सामाजिक बिकास समितिका संयोजक ज्ञानेन्द्र गौतम, सामाजिक बिकास कार्यालयका प्रमुख डम्बर जिसी, स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल लगायतले बोलेका थिए ।

उक्त अबसरमा सामािजक बिकास कार्यालयले ४० जना महिला श्रमिकलाई साबुन, टुथपेष्ट र टावेल तथा नगरपालिकलो नगदै ५ सय रुपैयाँ सहयोग गरेको थियो ।
त्यस्तै लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार भन्ने नाराका साथ १ सय १३ औं अन्तराष्ट्रिय नारी दिवशको अबसरमा सचेतना मुलक ¥याली र प्रवचन कार्यक्रम समेत समपन्न भयो । नगरपालिका सहित नगरक्षेत्रका विभिन्न महिला संघ संगठन तथा अन्तरपार्टी महिला संजाल समेतको आयोजनामा कार्यक्रम भएको हो ।

¥याली सहित बजार परिक्रमा पछि बालमन्दिरमा पुगेर शुरु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले महिला सशक्तीकरणबाट मात्र हिंसा रोक्न सकिने बताइन् । उनले विश्व परिवेश सिर्जनात्मक प्रविधिमा पहुँच बिस्तार गर्ने अबस्थामा पुगिसक्दा नेपाल भने अधिकारको लडाइमा लागिरहेको अबस्था रहेको भन्दै अब समान अबसर र समावेशीकरणले बिकासमा अगाडि बढाउने विश्वास पनि व्यक्त गरिन् ।

संजालकी उपाध्यक्ष भगवती केसीको अध्यक्षता, बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख सरस्वतीदेवी रेग्मीको संचालन र सामाजिक बिकास कार्यालयका प्रमुख डम्बर जिसीको स्वागतमा सम्पन्न कार्यक्रममा राजनीतिक दलका अगुवा महिला, जनप्रतिनिधि तथा सामाजिक क्षेत्रका महिलाले पनि हिंसा बिरुद्ध एक हुनुपर्ने बताए । साथै उनीहरुले समान कामको समान ज्याला, महिलाप्रति सम्मानजनक व्यवहार लगायतका बिषयमा धारणा राखेका थिए । मानव अधिकार तथा शान्ति समाजले बानपा १ को मालढुंगामा काम गर्ने महिला श्रमिकहरुकालागि सम्मान तथा सामाग्री हस्तान्तरण कार्यक्रम पनि सम्पन्न गरेको छ ।

त्यस्तै अन्तराष्ट्रिय गलकोट समाजले गलकोटमा महिलाको अबस्था हिजो आज र भोली बिषयक भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यक्रममा अधिकारकर्मी सहित बिभिन्न पेशामा आबद्ध २६ जना महिलाले मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागिले बैदेशिक रोजगारीमा जाने महिलालाइ शिप र क्षमताले युक्त बनाएर मात्र पठाउनुपर्ने धारणा राखेका थिए ।

सहभागिले महिलालाइ प्रविधि मैत्री बनाउन सक्दा आत्मनिर्भर पनि बनाउन सकिने भन्दै स्वरोजगारबाट हिंसा न्युनिकरणमा पनि योगदान पुग्ने बताएका थिए । उक्त अबसरमा गलकोट समाज जापानकी अध्यक्ष कालीका थापा, डा. साल्मा केसी, गलकोट नगरपालिकाकी पूर्व उपप्रमुख रेणुका काउचा, महिला अधिकारकर्मी ललिता थापा र पत्रकार शर्मिला बस्नेत लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->