बागलुङ/ अबैध जडिबुटी ओसारपसार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारको देवचोकबाट निसीखोला गाउँपालिकाका दुई युवालाई जडिबुटीसहित नियन्त्रणमा लिईएको हो ।
निसीखोला गाउँपालिका–५ कारीगाउँका २४ बर्षिय मिलन भण्डारी र वडा नं. ४ कानाबगरका २१ बर्षिय रेशम बहादुर मल्ललाई नियन्त्रणमा लिईएको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । लु१ज.४५२६ नम्बरको पिकअप भ्यानमा उनीहरुले सुनाखरी, बनलसुन लगायतका जडिबुटी हिँडाएका थिए ।
उनीहरुको साथबाट ८ वटा बोरामा रहेको १ सय ३८ किलो ५०० ग्राम सुनाखरी, २ वटा बोरा र १ वटा जेब्रा झोलामा रहेको २२ किलो ५०० ग्राम च्याउ र एक ९ किलो बन लसुन बरामद गरेको केसीले जानकारी दिए । पक्राउ परेका भण्डारी र मल्लसहित उनीहरुबाट बरामद गरिएको अवैध जडिबुटी सव डिभिजन वन कार्यालय बुर्तिबाङमा बुझाईएको केसीले बताए ।
प्रहरी पक्राउ गरेका व्यक्ति र जडिबुटीको बिषयमा सव डिभिजन कार्यालयले अनुसन्धान गरिरहेको डिभिजन बन अधिकृत मुकुन्द प्रसाद अधिकारीले बताए । बन सम्बन्धि कानून र जडिबुटी सम्बन्धि कानून अनुसार कारवाही प्रकृया अघी बढाईने उनले बताए ।





