बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

श्रमिक महिला भन्छन् : समाजको दृष्टिकोण सकरात्मक होस्

श्रमिक महिला भन्छन् : समाजको दृष्टिकोण सकरात्मक होस्


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २६ २०७९, शुक्रबार

बागलुङ/ होटल तथा रेष्टुँरामा काम गर्ने महिला श्रमिकहरुले आफुहरुलाई समुदायले हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने माग गरेका छन् । होटल तथा रेष्टुँराहरुमा काम गर्ने महिला श्रमिकहरुलाई समुदायले हेर्ने दृष्टिकोण अन्य रोजगारीका क्षेत्रमा रहेका महिलामा जस्तो नरहेको उनीहरुको गुनासो छ ।

११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बागलुङ नगरपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको अन्तरक्रियामा सहभागी महिला तथा किशोरी श्रमिकहरुले होटल तथा रेष्टुँरा पनि रोजगारीको सम्मानजनक क्षेत्र भएको बताए । सम्मानित हिसाबले काम गरिरहेको भएपनि समाजको दृष्टिकोण सकारात्मक र सम्मानजनक नभएको उनीहरुको गुनासो छ ।

‘हामी गुजारा चलाउनकै लागि काम गछौं, सम्मानजनक हिसाबले काम गरिरहेका छौं तर, समाज सकारात्मक छैन्’, एक किशोरीले भनिन् ‘विहे गर्ने बेला होटलमा काम गर्ने भनेपछि नाक खुम्च्याउँछन्, के श्रम गरेर खानु गलत हो ?’ होटल व्यवसायीहरुले विभेद नगरेपनि ग्राहक र समुदायले गलत आशय प्रकट गर्ने गरेको उनले गुनासो गरिन् ।

श्रमिक महिलाहरुले कामका लागि समय तालिका र बिदाको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । एक महिना काम गर्दा कम्तिमा दुई दिन बिदा, दिनमा आठ घण्टा काम र थप समय काम गर्दाको पारिश्रमिक थप हुनुपर्ने, होटल तथा रेष्टुँराहरुले प्राथमिक उपचारको व्यवस्था गर्नुपर्ने लगायतका माग उनीहरुका छन् । कामको सम्झौता, काम सुरु गर्दा नियुक्तीको व्यवस्था र समान पारिश्रमिकको व्यवस्था गर्नुपर्ने उनीहरुको माग थियो ।

‘सधैं काम गर्दा कहिलेकाहीँ त आत्माग्लानी हुन्छ, आरामका लागि पनि बिदा चाहिन्छ’, श्रमिक कविता शर्माले भनिन् ‘होटलमा काम गर्ने महिलाका समस्या भनेको बिदा र समय तालिकाअनुसार काम गर्न नपाउनु मुख्य हुन् ।’ कार्यक्रममा सहभागि कतिपय श्रमिक महिलाहरुले दैनिक खाना खाने समयसमेत नमिल्ने गुनासो गरे ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले व्यवसायी र श्रमिकबीच छलफल सुरुवात गरेको भन्दै सबै पक्षलाई लाभ हुने गरी कार्यक्रम ल्याउन तयार रहेको बताए । उनले व्यवसायी, श्रमिकका समस्या र वर्तमान नीतिगत व्यवस्थामा सुधार गरेर सबैका लागि न्याय हुनेखालको वातावरण बनाउनुपर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले श्रमिक महिलाहरुको समस्या समाधानका बिषयमा सुक्ष्म ढंगल नगरपालिकाले काम गर्ने बताए । होटल व्यवसायी संघ नेपाल बागलुङका अध्यक्ष सञ्जय श्रेष्ठले दक्ष जनशक्ति होटल तथा रेष्टुराँ व्यवसायको क्षेत्रमा पाउनै कठिन रहेको बताए । श्रमिकहरुले लामो समय काम नगर्ने, अर्धदक्ष जनशक्ति दक्ष बनेपछि छोडेर हिँड्ने लगायतका समस्या रहेको उनको गुनासो थियो ।

महिला तथा बालबालिका शाखाकी प्रमुख सरस्वती रेग्मीले अन्याय कसैले पनि सहन नहुने बताइन् । पत्रकार महासंघ बागलुङका कार्यबहाक अध्यक्ष नविन शिशिर बिकले समान कामको समान ज्याला, तोकिएका सेवा सुविधा पाउने अधिकार र अन्यायमा पर्दा न्याय खोज्नका लागि अघि बढ्न श्रमिक महिलालाई आग्रह गरे । कार्यक्रममा २० जना बढी होटल तथा रेष्टुराँमा काम गर्ने श्रमिक महिलाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->