पोखरा/ प्रधानमन्त्री बन्दाको सत्ता समीकरण राष्ट्रपति निर्वाचनमा भत्किँदा संघीय सरकारमा नयाँ गठबन्धन बनेको छ । पुष १० गते प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको एमाले राष्ट्रपति चुनावमा भने बाहिरिन पुगेको छ । एमाले बाहिरिएको मात्रै होइन, सरकार नै छाडेर प्रतिपक्षी बन्न पुगेको छ ।
नयाँ बनेको गठबन्धनबाट राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन भने चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । नयाँ गठबन्धनमा कांग्रेस सहितका मधेसवादी दलहरु पनि मिसिन पुगेका छन ।
यसले गर्दा संघ सरकारलाई असर नपरेतापनि एमाले बाहिरिँदा प्रदेश सरकारहरु भने धरापमा परेका छन । संघमा नयाँ गठबन्धन बन्नासाथ राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारबाट बाहिरिएको छ । राप्रपाले प्रदेशहरुको हकमा पनि संघकै निर्णय लागु हुने बताएको छ ।
तर, एमाले मुख्यमन्त्री भएका प्रदेशहरुमा भने राप्रपाले समर्थन कायमै राखेको छ । यसले गर्दा प्रदेशहरुमा पुरानो गठबन्धनको सरकार कहिलेसम्म टिक्छ भन्ने कौतुहलता उत्तिकै छ ।
गण्डकीमा राप्रपाबाट पञ्चराम गुरुङ सामाजिक विकासमन्त्री छन । दुई सिटको राप्रपा अहिले गण्डकीमा एमाले, माओवादीको सरकारमा निर्णायक छ । ६० प्रदेशसभामा सदस्य रहेको गण्डकीमा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ । एमालेका २२, माओवादीका ७ (सभामुख बाहेक) र राप्रपाका २ गरि अहिले ३१ सांसदको समर्थनमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री छन ।
उनलाई राप्रपाले समर्थन कायमै राखेको छ । राप्रपाले साथ नछोड्दासम्म अधिकारी सेफ जोनमा नै छन । तर, उपराष्ट्रपति निर्वाचन पश्चात संघमा नै नयाँ गठबन्धनलाई सरकारमा सहभागी हुनेछ । उपराष्ट्रपति निर्वाचनकै कारण सरकारमा सहभागिताको विषय गौण बनेको छ । चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन पश्चात गठबन्धनमा सहभागी नौ दलको सरकारमा सहभागिताको बारेमा छलफल हुनेछ ।
त्यसको प्रभाव प्रदेशमा पनि पर्ने निश्चित छ । ‘उपराष्ट्रपति निर्वाचन पछि नै प्रदेशमा पनि केही निर्णय होला,’ माओवादी संसदीय दलका नेता तथा गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले भने ।
सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको सपथग्रहण कार्यक्रम छ भने राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल पनि सकिँदैछ । भण्डारीको बिदाई तथा नयाँ राष्ट्रपतिको सपथग्रहण कार्यक्रमको लागि गण्डकीका मुख्यमन्त्री अधिकारी सोमबार नै काठमाडांै जाँदैछन ।
माओवादी मुख्यमन्त्री रहेको ठाउँमा एमालेले पनि समर्थन कायमै राखेका कारण तत्काल प्रदेशमा के गर्ने भन्ने विषयमा अन्योलता रहेको चुमान बताउँछन । ‘हाम्रा मुख्यमन्त्री रहेका ठाउँमा पनि एमालेले समर्थन कायमै राखेको छ, एमाले मुख्यमन्त्री रहेको ठाउँमा पनि माओवादीले समर्थन फिर्ता लिएको छैन,’उनले भने ।
उपराष्ट्रपति निर्वाचनका लागि काठमाडांै जाँदा प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गर्ने र थप निर्णय हुनसक्ने उनी बताउँछन ।
‘प्रधानमन्त्रीज्यूसँग भेटघाट हुन्छ, त्यहाँ नै उहाँले केही भन्नुहोला,’ चुमानले भने । एमाले आफै बाहिरिए सहज हुने तर, नबाहिरिएको खण्डमा भने माओवादीले नै समर्थन फिर्तासम्म लिनसक्ने उनले संकेत गरे । ‘अब कसले पहिला छाड्ने भन्नेजस्तो भएको छ, जे हुन्छ उपराष्ट्रपति निर्वाचनपछि नै हुन्छ,’ उनले भने ।
यता सरकारले भने संसद नै अन्त्य गरिसकेको छ । गत पुस १८ गते सुरु भएको गण्डकी प्रदेशको पहिलो अधिवेशन गत फागुन १८ गते अन्त्य गर्ने निर्णय सरकारले गरेको थियो । केन्द्रमा नयाँ गठबन्धन बनिसकेको अवस्था र राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेपछि नै सरकारको अधिवेशन अन्त्यको निर्णय गरेको थियो ।अधिकारी पुष २५ गते गण्डकीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।





