बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जसलाई जेलमै बहुदल प्राप्तिको खुसी मनाउन बाध्य बनाइयो

जसलाई जेलमै बहुदल प्राप्तिको खुसी मनाउन बाध्य बनाइयो

बहुदल घोषणापछि धेरै राजबन्दीहरु छुट्दा पौडेल छुट्न पाएका थिएनन् । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषद्को निर्णयले मात्रै पौडेल २०४७ साल वैशाख २ गते छुटेका थिए ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०७९, बुधबार

बागलुङ/ सोमबारमात्रै राष्ट्रपति पद सम्हालेका कांग्रेस नेता रामचन्द्र पौडेल बागलुङेहरुसँग बढी चीरपरिचित व्यक्ति हुन् । २०४६ सालको जनआन्दोलन र त्यसअघिको तयारीका बेला बागलुङ आएका र बागलुङकै कारागारमा बसेकाले उनीप्रति धेरैले आशा र भरोसा पनि गर्छन् ।

बहुदलपछिका धेरै कार्यक्रममा पनि पौडेलले बागलुङ आएर आन्दोलनका अनुभव सुनाउने गर्थे । नेपाल विद्यार्थी संघको जिल्ला अधिवेशनको प्रमुख अतिथि र पार्टीको संगठन बिस्तारका लागि केन्द्रीय प्रतिनिधि भएर उनी बागलुङ आउँदा पक्राउ परेका थिए । २०४६ मंसिर २६ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

नेविसंघका तत्कालीन अध्यक्ष जगदिशचन्द्र उपाध्यायको घरमा भएको छलफलकै क्रममा उपाध्यायसहित पौडेललाई पक्राउ गरेर कारागार चलान गरिएको थियो । व्यवस्था विरोधी काम गरेको भन्दै पौडेलविरुद्ध विभिन्न मुद्दा लगाइएका थिए । ती मुद्दामा पौडेलसहित तनहुँका लक्ष्मी आचार्य, बागलुङका तत्कालीन पार्टी सभापति गोविन्दप्रसाद शर्मा कंडेल, रघुपति कंडेल, शेखर कंडेल, ऋषिराम कंडेल र विष्णु गिरीसमेत कारागार चलान भएका थिए । जनआन्दोलन चर्केपछि विद्यार्थी नेता नवराज पौडेल पनि उनीसँगै जेल बसे । नवराज पौडेल पटक–पटक कांग्रेस महाधिवेशन प्रतिनिधि र पार्टी सचिवसमेत भए । हाल उनी कांग्रेसमा छैनन् ।

रामचन्द्रविरुद्ध संघसंस्था विरोधी गतिविधि गरेको, राज्यविरुद्ध षड्यन्त्र गरेको तथा राजकाज मुद्दा लागेको वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले बताए । वरिष्ठ अधिवक्ता श्रेष्ठले पौडेलको पक्षमा मुद्दा लडिदिएका थिए । यसरी मुद्दा लडेको उनले पैसासमेत लिएनन् । पंचायतको धरपकडका बाबजुत पौडेलको पक्षमा श्रेष्ठले वकालत गरेका थिए । ‘मैले कुनै पार्टी विशेषको मायाले नभइ बहुदल र प्रजातन्त्रको पक्षमा वकालत गरेको हुँ’, श्रेष्ठले भने, ‘प्रजातन्त्र घोषणापछि पनि नछुटेका नेतालाई कानूनी लडाइनै लड्नुपरेको थियो ।’ बहुदल घोषणापछि धेरै राजबन्दीहरु छुट्दा पौडेल छुट्न पाएका थिएनन् । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराइ नेतृत्वको मन्त्रिपरिषदको निर्णयले मात्रै पौडेल २०४७ साल वैशाख २ गते छुटेका थिए । पौडेलले १४ वर्ष जेल बसेको दाबी गरेका छन् । बागलुङ कारागारबाट छुटेपछि भने उनले २०६२÷०६३ मा केही समय हिरासतमा बस्नेबाहेक कारागार बस्नु परेन ।

छुटेपछि पौडेलले धौलागिरि बहुमुखी क्याम्पसमा आयोजित विजयी ¥यालीलाई सम्बोधन गरेका थिए । कांग्रेस नेता जगदिशचन्द्र उपाध्यायले पौडेल राजनीतिक निष्ठामा प्रतिबद्ध रहेको बताए । ‘धेरै पटक लोभ देखाएर छुटाउन पनि खोजिएको थियो तर उहाँले प्रजातन्त्र, बहुदल र कांग्रेसको निष्ठाप्रति सम्झौता गर्नुभएन’, उपाध्यायले भने, ‘उहाँको प्रेरणाले बागलुङ कारागारका धेरै बन्दी प्रभावित थिए ।’

पौडेलसँगै कतिपय कम्युनिष्ट नेता पनि जेलमा थिए । उनीहरुलाई पनि सम्मान गर्ने र पंचायत विरोधी राजनीतिमा सबैको समान सहभागिताको खोजी गरेको भेटेको जेलमा सँगै बसेका अधिवक्ता बद्रीप्रसाद उपाध्यायले बताए । उनलाई कम्युनिष्ट संगठनमा लागेकोले पंचायतले पक्राउ गरेर जेल हालेको थियो । ‘पौडेल कांग्रेसमा बुद्धिजीविमा पर्थे, उनले नहुँदो बोलेनन्, नचाहिने काम गरेनन्’, उपाध्यायले भने, ‘दूरदृष्टि राख्ने नेता पनि रहेछन् ।’ जेलमै राजनीतिक प्रशिक्षण दिएर धेरैको मन जितेको उनले बताए । उनको प्रशिक्षणले सधै आस्थाका बन्दीलाई सम्मान गरेको उपाध्यायको बुझाइ थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->