बागलुङ/ नेपालको संविधान र कानूनले दिएका उपभोक्ता अधिकार व्यवहारमा लागू नभएको सरोकारवालाले बताएका छन् । उनीहरुले राज्य उत्तरदायी र हरेक नागरिक सचेत बन्न सके अधिकार लागू हुने उनीहरुको भनाई छ ।
विश्व उपभोक्ता अधिकार दिवशको अबसरमा बुधबार आयोजित कार्यक्रममा सहभागिले हरेक उपभोक्ता आफ्नो अधिकारबारे सचेत बन्नुपर्ने बताए । ‘एउटा बस्तुको उत्पादक पनि अर्को बस्तुको उपभोक्ता हो, त्यसैले उपभोक्ता अधिकार कसैले दिने र कसैले लिने मात्र हैन’ प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भनिन्, ‘हरेक नागरिक अधिकार र कर्तव्यमा सचेत बन्न सके कानूनहरु स्वतः लागू हुन्छन् ।’ उनले अधिकार मागेर मात्र नभई सबैले दायित्व बोध गर्दा लागू हुने बताइन् ।
कार्यक्रममा सहायक प्रजिअ गणेश पौडेलले अनुगमनको क्रममा भेटिएका समस्यामा सुझाव दिएर सुधार गर्दै उपभोक्ता हित र अधिकार संरक्षणमा पहल भैरहेको बताए । प्रत्येक नागरिक उपभोक्ता भएकोले आफ्नो स्वास्थ्य समेतको ध्यान दिएर उपभोग्य बस्तु प्रयाग गर्नुपर्ने सुझाए । उनले खाद्य स्वच्छतादेखि कालोबजारी नियन्त्रण र सुशासन समेत उपभोक्ताको अधिकारक्षेत्रमा पर्ने बताए ।
पर्यटन तथा उद्योग कार्यालय बागलुङको आयोजना, जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय उपभोक्ता मंचको समन्वयमा भएको उपभोक्ता शिक्षा कार्यक्रममा उद्योगी, व्यापारी, सेवाप्रदायक संस्था र बिद्यार्थी समेतको सहभागिता थियो ।
उक्त अबसरमा नागरिक समाजका अगुवा काजी गाउँले श्रेष्ठ, महिला अधिकारकर्मी लक्ष्मीदेवी जिसी, जिल्ला सहकारी संघकी अध्यक्ष हुमाकुमारी जिसी, जिल्ला समन्वय अधिकारी कृष्णराज शर्मा, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल, लीला खड्का लगायतले बोलेका थिए ।
पर्यटन तथा उद्योग कार्यालय बागलुङकी प्रमुख गुमादेवी शर्माको अध्यक्षता, उपभोक्ता मंचका कोषाध्यक्ष युक्तजंग राजभण्डारीको संचालन र सहायक प्रजिअ गणेश पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा उपभोक्ता मंच बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले उपभोक्ता हकहित सम्बन्धी अवधारणापत्र र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले खाद्य प्रविधि तथा गुण नियन्त्रण अधिकार र उपभोक्ताको दायित्व बिषयक कार्यपत्र पेश गरेका थिए ।
कार्यक्रममा औषधी व्यवसाय, सडक तथा यातायात, खाद्य क्षेत्रमा भएका कालोबजारी, अखाद्यबस्तुको प्रयोग, तापतौलमा हुने ठगी र म्याद नाघेका सामाग्री बिक्री बितरण लगायतका बिषयमा पनि जिज्ञाशा र प्रश्नोत्तर गरिएको थियो ।
पछिल्लो समय स्वास्थ्य क्षेत्र, सूचना तथा संचार, बिज्ञापन र व्यवसाय, बिद्युत सेवा, नेपाल गुणस्तर प्रमाण चिन्ह, बैंक तथा बित्तिय क्षेत्र, खानेपानी, पेट्रोलियम पदार्थ, यातायात, दैनिक उपभोग्य पदार्थ, शिक्षा, सुनचाँदी, हार्डवेयर, गैरसरकारी लगायतका क्षेत्रमा उपभोक्ता हित संरक्षण गर्नुपर्ने अबस्था देखिएको सहभागिको भनाइ थियो ।
पछिल्लो समय प्रतिष्पर्धाको कारण अनुचित व्यापारिक क्रियाकलाप बढेको, सरकारी पक्ष फितलो अनुगमन र निरिहपन भएको समेत सहभागिको टिप्पणी थियो ।





