बागलुङ/चितुवाले घरगोठमा पसेर पशुचौपाय मार्न थालेपछि किसान चिन्तित बनेका छन् । बागलुङका बिभिन्न गाउँमा चितुवाले आतंक मच्याएको हो ।
बागलुङ नगरपालिका–१२ अमलाचौरको पात्लेखेत र बुकेनी गाउँमा पछिल्लो १५ दिनमा मात्रै चितुवाले चार वटा बोका मारेको पात्लेखेतका किसान लक्ष्मी प्रसाद पौडेलले बताए । ‘काठले बनाएको पक्कि खोरसमेत खोलेर चितुवाले बोका लगेछ, रातको समयमा थाहै भएन्’ पौडेलले भने ‘बिहान बाख्रा निकाल्दा बोका भेटिएन खोज्दै जाँदा गाउँ नजिकैको जंगलमा आधा खाएर छोडेको अबस्थामा बोका भेटियो ।’पौडेलका अनुसार, चितुवाले बुकेनीका सुप्रिन ढकालका दुई बाख्रा, पात्लेखेतका लक्ष्मी पौडेलको एक र बुकेनीका गुमा ढकालको एक बोका मारेको छ ।
‘गोठबाट धमाधम बाख्राबोका चितुवाले जंगल पु¥याउँदा बालबालिका घरमा छोडेर मेलापात गर्न समेत त्रास भयो’ स्थानीय गुमा ढकालले भनिन् ‘गाउँमा बस्ती पातलो हुँदै गायो, जंगली जनावरको बिगबिगी बढ्न थाल्यो ।’ एक महिनाको बीचमा झण्डै एक लाखका बाख्रा चितुवाले खाएपछि किसान चिन्तामा छन् । नजिकै जंगल रहेकाले पात्लेखेत बुकेनीका किसानले बोकाबाख्रा पालेर घर खर्च चलाउने गरेका छन् ।
चितुवाको त्रासले स्थानीयले साँझ पर्नेबित्तिकै घरको ढोका लगाउने गरेका छन् । घाम डुब्न लाग्दा गाउँभरी चितुवाको त्रास हुने गरेको स्थानीय हरि पौडेलले बताए । खोरका बोकाबाख्रा जोगाउन नसकेपनि घरमा भएका मानिसलाई आक्रमण नगरोस् भनेर स्थानीयले झ्यालढोका बन्द गर्न थालेका हुन् ।
चितुवाको डरले बालबालिकाहरु खुल्लाचौरमा खेल्न जान छाडेका छन् । जंगलमा घाँसदाउरा गर्न जानेहरु पनि घटेका छन् । चितुवा आतंक बढ्दै गएपछि गाउँमा पशुचौपाय जोगाउन नै मुस्किल भएको पौडेलले बताए ।





