बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एक लाखमै बन्यो पक्की पुल !

एक लाखमै बन्यो पक्की पुल !

वडा अध्यक्ष पवन हमालले पुल हाल्ने प्रस्ताव गरेपनि नगरपालिकाले बजेटमा चासो नदेखाएपछि आफ्नै वडाको एक लाख बजेट बिनियोजन गरी समुदाय परिचालन गरेर पक्की पुल बनाएर देखाएका छन् ।


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०७९, सोमबार

बागलुङ/अत्यावस्यक सामाग्री एक लाखमा खरिद गरेपछि श्रमदान र अन्य सहयोगबाट गलकोटमा पुल बनेको छ । बिद्यालय आउन सास्ती खेपेका बिद्यार्थीलाई पुलले साथ दिएको छ । पुल बनेपछि स्थानीय बासिन्दाले घाँस दाउराका लागि पनि बर्षात्मा सहज आउजाउ पाउने भएका छन् ।

गलकोट नगरपालिका–५ को सिरमखोला भनिने खहरेखोलामा बर्षात्मा भने ठूलो बाढी आउँछ । पुल नभएपछि झरी परेको दिन बालबालिका बिद्यालय जान नसक्ने भएपछि वडा अध्यक्ष पवन हमालले नगरपालिकामा पुल हाल्ने प्रस्ताव गरे । नगरपालिकाले बजेटमा चासो देखाएन । त्यसपछि उनले आफ्नै वडाको एक लाख बजेट चालु बर्षका लागि बिनियोजन गरे ।

पुल बनाउन १ लाख रुपैयाँ मात्र बिनियोजन गरेको भन्दै धेरैले हमाललाई उल्याए । तर, उनले जसरी पनि पुल बनाइ छाड्ने निधो गरेर समुदायलाई परिचालन गरे । किन्नै पर्ने सामानबाहेक सबै काम उपभोक्ताले गर्ने सहमति भयो । खोलाको दायाबायाँ पर्खाल लगाउने, सिमेन्ट, ढुंगा र बालुवा बोक्ने तथा गिटी कुट्ने काम पनि उपभोक्ताले गरेपछि वडाको एक लाख खर्चेर मानिस हिंड्ने पक्की पुल बनेको छ ।

यो पुल बनाउन ७५ हजारको रड र ३० हजारको सिमेन्ट खर्च भएको सिरमखोला पुल निर्माण समितिका उपाध्यक्ष गोबिन्दबहादुर खत्रीले बताए । ‘हामीले नगदलाई सामान किन्नमा मात्रै खर्च गरेका छौं, अझै पुगेको छैन’ खत्रीले भने, ‘तर पुल बनिसकेकोले सबै उपभोक्ता खुसी भएका छन ।’

यहाँको कौलेनीका २५ घर परिवारको खेतीपाती र खरवारी पुग्न यो पुल तर्नुपर्छ । श्रद्दाखेत र सिरम तर्फका बालबालिका नियमित बिद्यालय आउन पनि यो पुलकै सहायता लिनुपर्छ । ‘बर्षात्मा धेरै बिद्यार्थी अनुपस्थित भएको गुनासो आएको थियो, अब त्यस्तो नहोला’ हमालले भने, ‘पुल बनेपछि धेरैले अनौठो मानेका छन् ।’ पुलमा राखिएको रेलिङ समेत उपभोक्ताले आफ्नै खर्चमा जोहो गरेका छन् ।

सबैले कामको प्रशंसा गरेपछि वडा अध्यक्ष हमालले पुल छेउबाट सिरमतर्फ जाने बाटोको स्तरोन्नती गर्न थप एक लाख बिनियोजन गरेको बताए । उक्त बजेटले पक्की सिंढी लगाइएकोले बर्षात्मा यात्रा गर्न सहज हुनेछ ।

यसैबीच, गलकोटको कौलेनीदेखि दानसिंङहुँदै टेउवा जाने पदमार्ग बनाइएको छ । तीन लाख रुपैयाँको लागतमा झण्डै २ सय ५० मीटर लामो पक्की सिंढी मार्ग बनाइएको हो । यो मार्गले टेउवातर्फ पैदल जाने यात्रीलाई सहज भएको स्थानीय डिलबहादुर खत्रीले बताए । ‘काम गर्न चाहने हो भने सानो बजेट भएपनि हुने रहेछ’ उनले भने, ‘आबस्यक काम गर्दा उपभोक्ताले पनि राम्रो श्रमदान गरेका छन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->