बागलुङ/बर्षअघि शान्ति दिप बहुमुखी क्याम्पस सञ्चालनका लागि गरिएको महायज्ञमा बोलकबोल गरेको चन्दा रकम भुक्तानी नभएपछि क्याम्पसले सार्वजनिक सूचनामार्फत भुक्तानीका लागि ताकेता गरेको छ ।
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको क्याम्पस सञ्चालनका लागि २०६४ सालमा भएको धन–धान्याञ्चल महायज्ञमा बोलकबोल गरेर बाँकी रहेको रकम भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत दाताहरुलाई ताकेता गरेको हो ।
महायज्ञमा बोलकबोल गरेकामध्ये ५० जना दाताले रकम भुक्तानी गरेका छैनन् । एक करोड २३ लाख रुपैयाँ चन्दा बोलकबोल भएकोमा ९ लाख रुपैयाँ पन्ध्र बर्ष बितिसक्दा समेत भुक्तानी नभएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष चित्र प्रसाद चापागाईंले बताए । ‘तीन हजारदेखि दुई लाख रुपैयाँसम्म बोलकबोल गरेका दाताले भुक्तानी गर्न बाँकी छ’ चापागाईंले भने ‘दाताहरुले समयमा भुक्तानी दिए दैनिक प्रशासन र क्याम्पसको शैक्षिक बिकासमा सहज हुन्थ्यो ।’
पटक पटक व्यक्तिगत भेटघाट र व्यवस्थापन समितिले जानकारी गराउँदा समेत दाताहरुले भुक्तानीका लागि चासो नदेखाएपछि सार्वजनिक सूचना गर्न बाध्य भएको चापागाईंले बताए । ‘पहिले क्याम्पस सञ्चालनका लागि भनेर गरिएको महायज्ञको सबै रकम भुक्तानी भए क्याम्पसका लागि खर्च जुटाउन र नयाँ कार्यक्रम ल्याउन हुन्थ्यो’ उनले भने ‘क्याम्पस सञ्चालन गर्न धौ–धौ भैरहेको छ तर दाताले बोलेको रकम भुक्तानीमा चासो दिनुभएन् ।’ समयमा बोलकबोल रकम भुक्तानी नहुँदा शैक्षिक गतिबिधिमा समेत प्रभाव परेको उनले बताए ।
महायज्ञबाट उठेको चन्दा रकमबाट क्याम्पस सञ्चालनका लागि भवन बनाईएको छभने १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । ‘क्याम्पस सञ्चालन जस्तो पवित्र उद्देश्यका लागि भएको महायज्ञमा बोलकबोल गरेको रकम दाताहरुले आँफै जानेर भुक्तानी गर्नुपर्ने हो’ महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष तथा क्याम्पसका पूर्व अध्यक्ष हरिप्रसाद शर्माले भने ‘बाँकी रहेको बोलकबोल रकम भुक्तानी गरिदिए क्याम्पसलाई राहत हुन्थ्यो ।’
बोलेको रकम भुक्तानी नगर्नेमा वडा नं. १ कुश्मीशेराका १८ जना, वडा नं. २ दमेकका १२ जना र २० जना जैमिनी नगरपालिका भन्दा बाहिरका रहेका छन् । क्याम्पसमा ८० जना विद्यार्थी अध्ययनरत, १४ जना प्रध्यापक र दुई जना कर्मचारी कार्यरत छन् । दश बर्ष अघिसम्म खचाखच विद्यार्थी रहेको क्याम्पसमा पछिल्लो समय बिदेशमा पढ्न जाने र बसाईसराईको प्रभाव परेको छ । विद्यार्थी संख्या कम भएपनि दक्षिण बागलुङका न्युन आय भएका परिवारका विद्यार्थीका लागि क्याम्पस शिक्षाको प्रमुख गन्तव्य रहेको शर्मा बताउँछन् ।





