बागलुङ/ हिउँदभरी डोजर लगाएर सडक बनाउने, बर्षात्मा पहिरोले पुरेपछि पछुताउने प्रवृत्ति हटाउन गलकोट नगरपालिका–६ मा पक्की सडक बनाउने लहर चलेको छ । वडा अध्यक्ष रामप्रसाद कंडेलले चालु बर्षको शुरुवातमै सडकको छनौट गरेर पक्की बनाउने अभियान चलाएको बताए ।
ग्रामीण सडकहरु प्रायः ग्रेड नमिलेका छन् । ती सडकमा डोजर लगाएपछि बाढीपहिरोको प्रकोप बढी हुने गरेको छ । ती सडकका घुम्तीहरु ढलान गर्ने, पक्की नाली बनाउने र पानीका श्रोतलाई निकास दिने गरी कल्भर्ट र कजवे बनाएको उनले बताए । ‘डोजर लगाएर छाड्ने काम कतैपनि गरेका छैनौं, बरु ट्रयाक खुल्नासाथ पक्की बनाएका छौं’ उनले भने, ‘यो बिधिले बर्षातमा पहिरोको प्रकोप कम हुनेछ ।’
ढलानका लागि जंगरा लामीडँडा दरम सडकको १ किमी खण्ड तयार भएको उनले बताए । त्यो मध्ये चालुबर्ष १६ लाखमा ३ सय मीटर ढलान गरिनेछ । सडकमा सोलिङको काम भने सबै गर्ने लक्ष सुनाए । नौबिसेदेखि जामुनडाँडा जाने सडक ढलानपछि नियमित सवारी चलाउन अहिले सहज भएको स्थानीयले बताए ।
यो सडकले जामुनडाँडाका ६० घरधुरीलाई सामान ढुवानीमा सहज भएको हो । वडा नं. ६ कै चरौंदीदेखि नेपानेहुँदै कापस सम्मको सडक पनि ढलान गरिएको छ । वडा अध्यक्ष कंडेलले अधिकांस सडकमा ४० लाख बजेट बिनियोजन गरेर सबै संरचना पक्की बनेको बताए । वडा नं. २ मा पनि यो अभियान चलेको छ । कतिपय सिमाना परेका स्थानमा दुवै वडा अध्यक्षले समन्वय गरेर काम गरेको वडा नंं २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए । तोरखीखोला देखि बतासेहुँदै ठाना पुग्ने सडकमा पनि ढलान गरेर बर्षातमा नरोकिने बनाएको भण्डारीले बताए ।
‘वडा नं. ६ र २ जोड््ने नाकामा दुवै वडाले सहकार्य गरेर काम गर्दा पहिरो नियन्त्रणमा सहयोग पुगेको छ । ‘कालोपत्रेभन्दा ढलान महंगो पर्छ, तर दिगो हुन्छ’ इन्जिनियर बलबिक्रम दाहालले भने, ‘बर्षातको भेल बगेपनि ढलानमा असर गर्दैन, कालोपत्रे भए पुरै भत्किन्छ ।’ उनले भिरालो जमिनमा कालोपत्रेको काम संभव नहुने भएपछि थोरै सडक बनाउने, तर पक्की बनाउने लक्षले स्टिमेट गराएको बताए ।





