बागलुङ/ चैत्र शुक्ल प्रतिपदा आजदेखि नवरात्र सुरु भएको छ । चैते दशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैं अर्थात् बडादशैँ जति भव्य रुपमा सर्वसाधारणले चैते दशैं नमनाइए पनि चैतेदशैँमा बागलुङ कालिका मन्दिरमा भने विषेश पूजा आराधना हुने गरेको छ ।
असोजमा पर्ने नवरात्रमा जस्तै चैतको नवरात्रमा पनि बागलुङ कालिकाको पुजा आराधना र बली दिइने गरिन्छ । चैते दशैंको अवसरमा कालिका भगवती मन्दिरमा पूजाअर्चना गर्नाले मनोकामना पूरा हुने विश्वासका साथ हिन्दु धर्मावलम्बीहरु मन्दिरमा पुग्ने गर्छन् ।
गण्डकी प्रदेशकै मुख्य शक्तिपीठको रुपमा रहेको बागलुङ कालिका मन्दिर दर्शन गर्दा मनले आँटेका सबै कुरा पूरा हुन्छ भन्ने विश्वासका साथ मन्दिर दर्शनार्थी आउने गरेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । ‘बागलुङ भगतवीमा विशेष शक्ति छ भन्ने मान्तयताले भक्तजन यहाँ आउँछन्’, खड्काले भने ‘गुठीले नवरात्रमा मन्दिर आउने भक्तजनको सहजताका लागि आवश्यक व्यवस्थापन गर्छ ।’
नवरात्रको अघिल्लो दिन मंगलबार मन्दिर परिसर सरसफाई गरिएको छ । परिसरमा रहेका सत्तल, मठ र अन्य स–साना मन्दिरहरु समेत चिटिक्क पारिएको छ । नवरात्रको समयमा हुने भीड र पुजा व्यवस्थापनको लागि गुठीका कर्मचारी परिचालन गरिने खड्काले बताए । सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरीको सहायता लिइने उनले जानकारी दिए ।
चैत दशैंका सन्दर्भ पारेर गुठीले मेलाको समेत आयोजना गरेको छ । मेला चैतको १३ गतेदेखि सुरु हुनेछ । मेला हेर्न र मन्दिरको दर्शन गर्न आउने गरी २० लाख पर्यटक बागलुङ भित्राउने लक्ष गुठीको छ । विगतमा चैत्राष्टमी मेला वस्तु विनीमयको केन्द्र पनि थियो । बागलुङमा उत्पादन भएका कृषि तथा हस्तकलाका सामग्री, भेडाको उनबाट निर्मित राडी–पाखी घुमलगायतका वस्तुहरुमा मेलामा राखिन्थ्यो ।
तराईबाट मसला लगायत अन्य वस्तुहरु ल्याएर सामग्रीहरु एक आपसमा साटासाट गरेर मेलामा आफूलाई आवश्यक पर्ने वस्तुको जोहो गर्ने चलन थियो । लामो समयदेखि स्वतःस्फूर्त रुपमा चैते दशैंको समयमा लाग्दै आएको मेला केही वर्ष यता गुठीले औपचारिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।
चैते दशैं मेला बागलुङको मुख्य पहिचान र अवसर पनि हो । यो बेला बागलुङ कालिका मन्दिरमा पूजाआजा गर्नका लागि देश विदेशबाट श्रद्धालु भक्तजन आउने गर्छन् । कोरोनाका कारण वितेका केही वर्ष हुन नसकेको मेला यस पटक भव्य रुपमा सञ्चालन गर्न लागिएको खड्का बताउँछन् । मेलाको अवसरमा राष्ट्रिय लोकदोहोरी, कालिका कप खुला पुरुष भलिबल, राष्ट्रिय लोक भजन र छेलो फाल्ने प्रतियोगिताको आयोजना गरिएको छ ।
मेलामा घरेलु तथा हस्तकलाका सामग्रीसंगै फेन्सी तथा होटल रेष्टुरेन्टका स्टलहरु पनि राखिने छन् । बागलुङ कालिका मन्दिर अहिले बागलुङको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । बागलुङ कालिका मन्दिर, लामो झोलुङ्गे पुल, पञ्चकोट र शालिग्राम संग्रहालयलाई प्याकेजको रुपमा अगाडि बढाउने सके यहाँको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण हुने पर्यटन व्यवसायीहरु बताउँछन् ।





