बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दर्ता एउटाको उपभोग अर्कैको

दर्ता एउटाको उपभोग अर्कैको


  • तारानाथ आचार्य
  • चैत्र १० २०७९, शुक्रबार

बागलुङ/ २०४८ सालअघि बागलुङ नगरपालिका–४ उपल्लाचौर लगायतका क्षेत्रमा पातलो बस्ती थियो । शहरीकरण नभएकाले एकाध घरपरिवारले गाउँ छेउकै कुवा तथा पोखरीको सहयतामा पानीको जोहो गरे । बागलुङ बजार सडक सञ्जालसँग जोडिएपछि उपल्लाचौरमा शहरीकरण हुन थाल्यो । कोदो फल्ने बारीमा ठुल–ठुला घर बने ।

एउटै घरमा चार÷पाँच परिवार अटेका छन् । केही साना उद्योग पनि छन् । तर, अहिले उपल्लाचौर, कुँडुलेलगायत आसपासका गाउँ काकाकुलजस्तै भएका छन् ।
मानवबस्ती कम हुँदा पानीका स्रोतले पुगेपछि नजिकैका मुहान नखोजेको बागलुङ नगरपालिकाले अहिले आफ्नो सिमा क्षेत्रका मुहानमा चासो देखाएको छ । तर, उपल्लाचौर, कुँडुले लगायतका गाउँमा ल्याउन सकिने बागलुङ नगरपालिकाकै वडा नं. ५ का दर्जन बढी पानीका मुहान भने म्याग्दीबासीले प्रयोग गरिरहेका छन् ।

मालिका आसपासका दर्जन बढी मुहानबाट प्रतिसेकेण्ड ५० लिटरभन्दा धेरै पानी छिमेकी म्याग्दीमा पुगेको छ । आफ्नै नगरका मुहानको पानीले बेनी नगरपालिका–१ रत्नेचौर हराभरा हुँदा सिमाना जोडिएको कुँडुलेले पानीको चरम अभाव खेपिरहेको छ । खानेपानीको अभाव भएपछि आफ्नो क्षेत्रका मुहान खोजी गरेपनि योजना बनाएर पानी ल्याउन नगरलाई सकस छ । २०५८ सालमा बागलुङ नगरपालिका–५ मालिकाको कमेरे खानेपानी मुहान मूलको पानी बागलुङ नगरपालिका–५ र ४ का उपभोक्तालाई वितरण गर्ने उद्देश्यले आयोजना निर्माण भएको थियो ।

आयोजना अघि बढाउन रकमसमेत विनियोजन भयो । तर, मुहान विवादका कारण न योजना अघि बढ्न सक्यो न खानेपानीको अभाव खेपिरहेका उपभोक्ताले पानी पाए । रत्नेचौरका स्थानीयले कमेरेपानी नजिकै रहेको ठूलो खोला र बागलुङमा रहेका करिब एक दर्जन मूल आफ्ना बनाएका छन् । सरकारी निकायमा दर्ता कहिँकतै नभएको भएपनि पाइप बिच्छाएर पानी रत्नेचौर पुगेको छ । वर्षौँदेखि विवाद हुँदै आएको कमेरे खानेपानी मुहानबाट बगेको पानी म्याग्दी रत्नेचौरका स्थानीयले सिँचाइका लागि प्रयोग गरेको बागलुङ नगरपालिका–४ का वडाअध्यक्ष कुमारविक्रम क्षेत्री बताउँछन् ।

‘एक÷दुई हजार जनसंख्यालाई एउटै मुहानको पानी फालाफाल हुन्छ, यहाँ त ६२ एमएमदेखि ६ इन्चको पाइपसम्ममा ११ मुलको पानी लगिएको छ’ क्षेत्री भन्छन् ‘हामीले प्यास मेटाउन प्रतिसेकेण्ड ३ लिटर पानी लैजान्छौं भन्दा आफ्नै जमिनको पानी पाएनौं,’उनले भने । कमेरे खानेपानी मुहानमा विवाद हुँदा बागलुङका १२ सय घरधुरीले समस्या झेलेका छन् ।

बागलुङ नगरपालिका–५ बान्द्रे र वडा नं. ४ कुँडुले फेदीका उपभोक्तालाई खानेपानी उपलब्ध गराउने योजना पर्दासमेत रत्नेचौरबासीले अवरोध गर्दै आएका छन् । बान्द्रे, कुँडुले फेदी, छाप, दाह्रेगौँडा, रमेटार, उपल्लाचौर, डुङढुंगा बस्तीमा खानेपानी ल्याउने योजना भएपनि अवरोधका कारण योजना अघि बढ्न नसकेको क्षेत्री बताउँछन् ।
कमेरे मूलको पानी बागलुङ नगरपालिका–४ मा खानेपानी ल्याउन पहल सुरु भई ०५८ सालमा मूल दर्ता भएको थियो । वडाध्यक्ष क्षेत्रीले भने, ‘सो समयमा बागलुङका उपभोक्ताले बिछ्याएका खानेपानीका पाइप, पाइप जडान गर्ने मेसिन लगायतका उपकरण म्याग्दीको रत्नेचौरका स्थानीयले लुटेर लगे । तत्कालीन उपभोक्ता समितिले प्रशासन र प्रहरीमा उजुरी दिएका पनि हुन् । सशस्त्र द्वन्द्व तथा संकटकालले पानीको काम अघि बढ्न सकेन । अहिले काम सुरु गर्दा रत्नेचौरबासीले विरोध गर्नु दुःखद कुरा हो ।’

उनका अनुसार, बागलुङ नगरपालिकामा रहेका मूल म्याग्दीले दर्ताबिना नै लगेको र करिब २ लाख खर्च गरेर हाल निर्माण गरेको कमेरे मूलमा निर्माणाधिन खानेपानी ट्यांकीको संरचना तोडफोड भएको छ । उनले अझै पनि सहमतिको बाटो खोजेको, आधा–आधा पानी लैजाने र पुरानै प्रवृत्ति नदेखाउन आग्रह गरे ।

पानीकै विषयमा बागलुङ र म्याग्दीका सुरक्षा प्रमुख तथा जनप्रतिनिधिबीच सहमतिको प्रयास भएको थियो । खानेपानी समस्या समाधान गर्न भन्दै दुई जिल्लाका उच्चपदस्थ अधिकारीको ०७९ फागुन १७ मा बागलुङ बजारमा बसेको बैठकले मुहानको पानीको प्राविधिक जाँचमा प्रतिसेकेन्ड सात लिटर पानी रहेकोमा प्रतिसेकेन्ड चार लिटर म्याग्दीको रत्नेचौरले प्रयोग गर्ने र बाँकी तीन लिटर बागलुङले प्रयोग गर्ने, हिउँदका चार महिना ९ फागुनदेखि जेठसम्म मुहानको कुल पानीको ५८ प्रतिशत रत्नेचौर र ४२ प्रतिशत बागलुङले उपयोग गर्नेगरी सहमति भएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । मौखिक सहमतिलाई अहिले रत्नेचौरका बासिन्दाले नमानेका कारण पुनः विवाद भएको श्रेष्ठले बताए ।

उनले जनताको बीचमा लडाइँ–झगडाभन्दा पनि सबै नेतृत्व तहकाले यसको सहमतिको बाटो खोज्नुपर्ने बताए । नगरपालिकाले उक्त योजना सम्पन्न गर्नका निम्ति ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कमेरे मुहानको पानी अपुग भएमा आसपासका लगायत खोलाको पानीसमेत मिसाएर बाँडफाँट गरिने गरी सहमति भएको र सहमति दुवै क्षेत्रका उपभोक्तालाई जानकारी गराउने सहमति भएको भएपनि रत्नेचौरका केही स्थानीयले जनप्रतिनिधिलाई समेत दबाबमा राखेपछि सहमति कार्यान्वयन हुन सकेको छैन ।

रत्नेचौरका स्थानीयले प्रयोग गर्दै आएको खानेपानीका विषयमा सहमति गरेर निकास निकाल्नुपर्ने म्याग्दीको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापालले बताए ।
स्थलगत अध्ययनका लागि गएका जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले दुई गाउँबीच सहमति गरेर खानेपानी व्यवस्थापन गर्नुपर्ने बताए । अहिलेसम्म बागलुङले जबर्जस्ती नगरेको भन्दै थापाले अधिकांश मुहान बागलुङकै भू–भागमा रहेकाले पनि म्याग्दीले व्यवहारिकता बुझ्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->