बागलुङ/ भुईँ तलामा सभाहल, पहिलो तलामा वडाको काम सम्पादन । दोस्रो तलाको ढलानपछि ठड्याईएका पिल्लरले दुई बर्खाको पानी खाए तर, छानो पाएका छैनन् ।
दोस्रो तलासमेत कार्यालय प्रयोजनाका लागि कोठाहरु तयार गर्नेगरी तीन बर्षअघि भवनको निर्माण सुरु गरिएको थियो । तर, बजेट अभावका कारण काम रोकिएपछि जीर्ण बनेका फलामे रडले सरोकार राख्ने सबैलाई गिज्याईरहेका छन् ।
बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँको बिहुँपोखरामा निर्माण भएको प्रशासनिक भवनले छानो कुरिरहेको छ । वडा कार्यालय आफ्नै बलबुतामा तीन बर्षअघि निर्माण थालेको भवनबाट सबै प्रशासनिक काम त हुन्छ तर भवन पुरा भएको छैन् ।
‘हामीले बजेटका लागि कयौं ठाउँमा गुहार माग्दा कहिँबाट नपाएपछि वडाकै बजेटबाट भवन बनाएका हौं तर, अझै पुरा भएको छैन्’ निवर्तमान वडाध्यक्ष शिव प्रसाद कँडेलले भने ‘दुई तलाले काम त दिएका छन्, दोस्रो तला बने वडालाई सुविधासम्पन्न भवन हुन्थ्यो ।’
आर्थिक बर्ष २०७६/०७७ बाट वडा कार्यालय भवनको निर्माण सुरु भएको थियो । वडाको बजेट, गाउँपालिकाको तोक आदेशमा प्राप्त बजेट र गण्डकी प्रदेशको स्थानीय पूर्वाधार क्षेत्र बिकास कार्यक्रमको सहयोग गरि ८० लाख रुपैयाँ खर्च भएको छ । ५५ लाख वडा कार्यालय र स्थानीय पूर्वाधार क्षेत्र बिकास कार्यक्रमको २५ लाख अनुदानमा भवन तयार भएको वडा सचिव शिवबहादुर थापाले बताए ।
भुईँतला र पहिलो तलाको काम सकिएको भएपनि दोस्रो तलामाथिको कामका लागि समयमा बजेट नपाउँदा भवन छानोबिहिन बनेको छ । ‘चालु आर्थिक बर्षको हिउँदे अधिबेशनबाट दश लाख रुपैयाँ गाउँपालिकाले बिनियोजन गरेको छ’ थापाले भने ‘ढलान गर्न त बजेट नपुग्ला ट्रस हालेरै भएपनि भवनले छानो पाउँछ ।’ भवन निर्माण पूर्व वडा कार्यालय भाडाको घरबाट सञ्चालित थियो । मासिक ७ हजार रुपैयाँ भाडा तिर्दै आएको वडाले भवन बनेपछि भने भाडामा खर्च हुने रकम बिकास निर्माणमा खर्चिने गरेको छ ।
गत बैशाखदेखि अधुरै भवनबाट वडा कार्यालयका सेवा प्रवाह हुँदै आएका छन् । वडा स्तरमा हुने सार्वजनिक कार्यक्रमका लागि प्रशासनिक भवनको सभाहल प्रयोगमा ल्याईने गरेको छभने पहिलो तलामा रहेका ६ वटा कोठामा अध्यक्ष, वडा सदस्य, सचिव र अन्य कर्मचारीको प्रशासनिक कक्ष निर्माण गरिएको छ ।
प्रशासनिक भवनका सबै संरचना तयार हुँदा कर्मचारीलाई आवासीय सुविधा दिन सकिने वडा कार्यालयले जनाएको छ । प्रशासनीक भवन परिसरको तारबार, बगैंचाको व्यवस्थापन लगायतका काम बाँकी रहेको थापाले बताए ।





