बागलुङ/ चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङका विद्यार्थीहरुले तित्याङका तीन सामुदायीक विद्यालयका विद्यार्थीलाई पोशाक सहयोग गरेका छन् । निम्न मावि तहमा अध्ययनरत विद्यार्थीले अतिरिक्त क्रियाकलापको खर्च घटाएर शैक्षिक सामग्री र पोशाक सहयोग गरेका हुन् ।
उनीहरुले कक्षा ६, ७ र ८ का विद्यार्थीहरुको जन्मदिनमा चकलेट, केक तथा कार्यक्रमबाट बचेको पैसा विपन्न परिवारका बालबालिकालाई सहयोग गर्दै आएका छन् । बागलुङ नगरपालिका वडा नं. ९ को तित्याङ, इन्द्र र सरस्वती प्राविका विद्यार्थीलाई स्पोटर्स ड्रेस सहयोग गरेको कक्षा ७ मा अध्ययनरत सिम्रन थापाले बताए ।
कार्यक्रममा तित्याङका वडा अध्यक्ष राजु थापाले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमा सामाजिक कार्य प्रतिको चासो देख्दा सकारात्मक प्रभाव परेको बताए । थापाले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरीय ढंगले विकास गर्न वडा, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, वडावासीको महत्वपुर्ण भूमिका निर्वाह गर्न आव्हान गरे ।
कार्यक्रममा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल व्यवस्थापन समितिका सदस्य सम्झना श्रेष्ठ, शिक्षक राजु राना, तित्याङ प्राविका प्रधानाध्यापक कमला खड्का क्षत्री, इन्द्र प्राविका प्रधानाध्यापक विन्दु शर्मा, सरस्वती प्राविका प्रधानाध्यापक चिजा थापा मगर, चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी एन्जल अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन बोर्डिङका शिक्षक दिपक सुवेदी र शिक्षक एलिना ओलीले गरेका थिए ।





