बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सडकको काम समयमा नभएको भन्दै उपभोक्ता आन्दोलित

सडकको काम समयमा नभएको भन्दै उपभोक्ता आन्दोलित


  • ढोरपाटन संवाददाता
  • चैत्र १३ २०७९, सोमबार

बागलुङ/ प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चकोट पुग्ने सडक स्तरोन्नतिको काममा ढिलासुस्ती भएको भन्दै स्थानीयले बागलुङ नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । सडक निर्माणमा भैरहेको ढिलासुस्तीविरुद्ध स्थानीयले सरोकार समिति नै गठन गरेर संघर्ष थालेका हुन् ।

बागलुङ नगरपालिका–६ भान्साको बलश्वारादेखि विचिन्द्रेसम्मको सडक स्तरोन्नतीको काममा ढिलासुस्ती भएको हो । आर्थिक बर्ष २०७८/०७९ मा यो सडकको ८ सय ८ मिटर खण्ड स्तरोन्नती तथा कालोपत्रेका लागि ठेक्का स्म्झौता भएको थियो । २०७९ साल असार मसान्तसम्म काम सक्नेगरी ठेक्का सम्झौता गरेको जुगल विल्डर्स कम्पनीले तोकिएको समयभन्दा नौ महिनासम्म पनि सडकको काम नसकेको भन्दै स्थानीयले नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।

‘तोकिएको समय सकिएको नौं महिना बित्यो तर सडक बन्ने छाँटकाँट छैन्, नगरपालिकाले काम गरेकोभन्दा बढी भुक्तानी गर्छ, निर्माण व्यवसायी सडकमा देखिँदैनन्’, सरोकार समितिका संयोजक गोविन्द प्रसाद शर्माले भने ‘नाली बनाएको छ, नालीभित्र ढलान छैन्, घुम्ती बनेको ठाउँमा ट्याक्सी समेत घुम्दैन् ।’ नगरपालिकाकै संरक्षणमा निर्माण व्यवसायीले काम नगरेको शर्माले आरोप लगाए ।

शर्माको नेतृत्वमा नगरपालिका पुगेका स्थानीयले छिट्टै उक्त सडकको काम नसकिए थप संघर्षका कार्यक्रम ल्याउने बताए । उनीहरुले उपप्रमुख राजु खड्का र निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेललाई भेटेर ध्यानाकर्षण गराएका थिए । ‘जे गर्दा पनि हुन्छ भनेर सडक अलपत्र पारिएको हो, अब पनि सडक नबने काम नगर्ने ठेकेदार र भुक्तानी दिने कर्मचारीको फोटो राखेर प्रचार गर्छौं’, स्थानीय चण्डी शर्माले भने ।

बागलुङ नगरपालिकाले ७७ लाख १७ हजार ४ सय १४ रुपैयाँमा ठेक्का सम्झौता गरेको उक्त सडकमा ११० मिटर ढलान र ६ सय ९८ मिटर कालोपत्रे गर्ने स्टमेट छ । त्यो मध्ये केही सडक ढलान भएपनि कालोपत्रेको काम भने सुरु नै भएको छैन् ।

रिटर्नीङ वाल, मेसिनरी वाल, तारजाली, र ४ सय ९० मिटर नालीको स्टमेट रहेको इञ्जिनियर त्रिलोचन गिरीले बताए । २०५८ सालमा ट्रयाक खुलेको यो सडक कालोपत्रे गर्न बागलुङ नगरपालिकाले बजेट बिनियोजन गरेको थियो । सडकका घुम्तीहरु साँघुरा हुँदा दुर्घटनासमेत भैरहेको स्थानीय बताउँछन् । सरोकार समितिले सडक निर्माणमा गुणस्तरको समेत प्रश्न उठाएको छ । नालीमा ढलान नभएको, घुम्ती चार मिटरभन्दा साँघुरो भएको लगायतका समस्या सडकमा देखिएका छन् ।

सडकको बिषयमा ध्यानाकर्षण गराउन आएका स्थानीयलाई उपप्रमुख राजु खड्काले माग सम्बोधन गर्ने बताए । उक्त सडकको बिषयमा पटक पटक छलफल भैरहेको भन्दै खड्काले काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने आश्वासन समेत दिए । जुगलले नगरका अन्य आयोजनाहरुमा समेत काम गरिरहेकाले उक्त सडकको काम नसके अन्य आयोजनाको बिषयमा समेत विचार गर्ने खड्काले बताए ।

नगरपालिकाले निर्माण कम्पनीका प्रतिनिधि प्रतिप गौतमलाई स्थानीय उपभोक्ताकै अघि बोलाएर समयमा काम सक्ने प्रतिबद्धता जनाउन लगाएको थियो । थप भएको समय असार समान्तसम्म उक्त सडकको सबै काम सकिने गौतमले प्रतिबद्धता जनाए । सरोकार समितिले केही दिनभित्रै भरलाग्दो प्रतिबद्धता नआए थप संघर्षका कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->