बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

उपभोक्ता समिति गठनमा समस्या : अलपत्र बने योजना

उपभोक्ता समिति गठनमा समस्या : अलपत्र बने योजना

गाउँमा उपभोक्ता समितिमा बसेर काम गर्ने मान्छेकै अभाव ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १३ २०७९, सोमबार

बागलुङ/ स्थानीय तहले बिनियोजन गरेको बजेट कार्यान्वयनमा उपभोक्ता समिति नहुँदा कठिनाइ भएको छ । गाउँमा उपभोक्ता समितिमा बसेर काम गर्ने युवा जनशक्तिको अभाव छ भने भएका युवाहरु समेत समितिमा बस्न मान्दैनन् ।

काठेखोला गाउँपालिका–६ वडा कार्यालयले प्रजातन्त्रदय प्राविमा शौचालय निर्माण तथा अमृतपानी आधारभूत विद्यालयमा शौचालय, सुरक्षा पर्खाल, खानेपानीलगायतका योजनामा बजेट विनियोजन गरेको छ । वडा कार्यालयले बर्खाअघि वडा तहका योजना सम्पन्न गर्ने लक्ष्य राखेपनि दुई विद्यालयमा निर्माणको काम अघि बढ्न सकेको छैन । दुवै योजना उपभोक्ता समितिमार्फत् गर्नुपर्ने हुन्छ ।

समितिमा बस्ने उपभोक्ताको अभावले दुवै विद्यालयका योजना अघि बढ्न नसकेको वडाध्यक्ष वृहस्पति शर्माले बताए । एउटा योजनामा सात जना समिति र तीन जना अनुगमन समिति गरी दश जना उपभोक्ता आवश्यक पर्छ ।

एउटा योजनामा बसेको उपभोक्ता उक्त योजना सम्पन्न नभएसम्म अर्काे योजनाको समितिमा बस्न नपाउने प्रावधानले उपभोक्ता समिति गठन गर्न कठीन भएको अध्यक्ष शर्माको भनाई छ । उपभोक्ता समितिमा बस्न योग्य अधिकांस अन्य योजनामा बसेको र उमेर पुग्ने धेरै स्थानीय बजार केन्द्रीत हुँदा जनशक्ति अभाव रहेको अध्यक्ष शर्माको भनाई छ ।

योजना कार्यान्वयनको लागि बजार क्षेत्रमा अध्ययनको लागि गएका युवालाई गाउँ बोलाएर भए पनि काम गर्नुपर्ने अवस्था छ । वडा कार्यालयले यो आर्थिक बर्षमा सानाठुला गरी ४९ योजना तयार गरेका छ । ‘उपभोक्ताको संख्या पु¥याउन कठीन छ’, वडाध्यक्ष शर्माले भने, ‘उपभोक्ताको भेला, बैठक राखेर काम गर्न गाउँमा मान्छे छैनन् ।’

वडा, गाउँपालिका प्रदेश र संघीय सरकारका कार्यक्रम अधिकांश उपभोक्ता समितिमार्फत गर्नुपर्ने प्रकृतिका योजना छन् । पूर्वाधार निर्माणका लागि गठन भएका उपभोक्ता समितिका पदाधिकारीसमेत रहेकाले समितिमा बस्ने उपभोक्ता भेटाउन कठीन भएको छ । एउटा उपभोक्ता समितिमा रहेको व्यक्ति अर्काे समितिमा बस्न पाइँदैन । शिक्षक, कर्मचारी र राजनीतिक दलमा आबद्ध पदाधिकारीले पन उपभोक्ता समितिमा बस्न पाउँदैनन् ।

योजना सम्झौतादेखि फरफराक सम्मका झन्झटमा व्यक्तिगत खर्च र समयको बर्बादी सम्झेर कसैले काम गर्न रुचि नराख्ने वडा–५ का वडाध्यक्ष ज्ञामनाथ कँडेलले बताए । समितिमा बसेर काम गर्दा प्राविधिक ज्ञानको अभावले दायित्व बोक्न नचाहने हुँदा पनि उपभोक्ता तर्सिने गरेका छन् । अध्यक्ष, सचिव र कोषाध्यक्षबाहेक अन्य सदस्यलाई उपभोक्ता समिति दोहोरिँदा समस्या नआउने गरी व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->