बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्थानीय उत्पादनको घट्दो व्यापार, व्यवसायी निराश

स्थानीय उत्पादनको घट्दो व्यापार, व्यवसायी निराश


  • तारानाथ आचार्य
  • चैत्र १४ २०७९, मंगलबार

बागलुङ/ तीस वर्षअघि चैतेदशैं मेलामा बागलुङ बजार आउन गादरे बुढाथोकीलाई एक महिनादेखि तयारी गर्नुपथ्र्यो । चार/पाँच दिनको पैदलयात्रापछि बडिगाड गाउँपालिका–४ जलजलाबाट उनी भरियाका साथ मेलामा आउँथे ।

भरिया खोज्ने, भारी बनाउने, बाटोमा खानेबस्ने व्यवस्था गर्दा उनलाई महिना दिन लाग्थ्यो । बागलुङ कालिका मन्दिर परिसरमा लाग्ने चैते दशैं मेलामा उनले बुनेका चोयाका सामग्रीको खुब खोजी हुन्थ्यो । भारीसहित आएका उनलाई भेट्न व्यापारी बजारभन्दा पाँच/सात किलोमिटर पश्चिम काठेखोला नै पुग्थे । आधाउधी डाला/नाङ्ला त बाटैमा बिक्थे । मेलामा पु¥याउन नपाउँदै उनको व्यापार सकिन्थ्यो । ‘उबेला बाटोमै पुगेका व्यापारीलाई डाला/नाङ्ला दिएर नाम्लो फुकाए पुग्थ्यो’ बुढाथोकीले पुराना दिन सम्झिँदै भन्छन्, ‘मेलामा हानालुछी हुन्थ्यो, निगालोका डाला/नाङ्लाले पनि राम्रै मूल्य पाउथ्यो ।’

वर्षभरी निगालोका डाला, नाङ्ला, डोका र भाकारी बुनेर बुढाथोकीले वर्षभरिको खर्च पु¥याउँथे मेलाबाट । तीनभाई छोरा र एक बहिनी छोरीको लालनपालन गर्ने खर्च पु¥याएर केही बचाउँथे र पो चैतेदशैं आएजस्तो लाग्थ्यो । उनी जस्तै आफ्नै श्रमले गुजारा गर्ने गाउँमा धेरै थिए । व्यापार गर्ने थलो थियो चैतेदशैं मेला ।

बुढाथोकी चैते दशैं मेलामा डाला/नाङ्ला बोकेर आउन छोडेका भने छैनन् । तर, पहिलेको जस्तो चोयाका सामग्रीको खोजी मेलामा हुँदैन् । पहिलेको जस्तो मूल्य पनि पाइदैन । ६६ वर्षको उमेरमा पनि उनले वर्षभरी निगालोसँग कुस्ती खेल्दै जीवन चलाएका छन् ।

अहिले पहिले जस्तो मेलामा आउँदा उनलाई भरिया खोज्नु पर्दैन् । दैलोबाटै सवारीमा डाला/नाङ्ला चढाएर मेलामा आउँदा सुविधा त भएको छ तर परिश्रमको मुल्य उठ्दैन् । ‘घरबाट यहाँसम्म आउँदा सामानको एक हजार, मान्छेको एक जनाको १३ सय, बजारमा खानबस्न लाग्ने खर्चको कुरै नगरौं’ बुढाथोकी भन्छन् ‘हस्तकलाको सम्मान हुन छोड्यो, प्लाष्टिकका सामग्रीले हामीलाई चौपट बनायो ।’ व्यापार राम्रो नभएपनि परम्परा धान्नकै लागि उनी मेलामा आउने गर्छन् ।

बुढाथोकीसँगै जलजलाका केही युवाले पनि मेलामा डाला/नाङ्ला ल्याएका छन् । तर, उनीहरु पनि सन्तुष्ट छैनन् । तीस बर्ष पहिले ३० रुपैयाँदेखि एक सय रुपैयाँ सम्ममा बिक्री हुने डाला/नाङ्लालाई अहिले ४ सयदेखि एक हजार रुपैयाँ पर्छ । तर, परिश्रमको मूल्य भने नउठ्ने जलजलाका डाला/नाङ्ला व्यवसायी खगेन्द्र बिक बताउँछन् । ‘विदेशमा दुःख गर्नुभन्दा हस्तकलाको उपयोग गरौं भन्ने लाग्छ, मुल्य नपाउँदा पलायन हुन मन लाग्ने’ बिकले भने ‘न हाम्रो सीपको कतैबाट संरक्षण छ, न बनेका बस्तुको बजार ।’

यस पटकको चैतेदशैं मेलाका लागि बागलुङ कालिका मन्दिर परिसर आईपुगेका उनीहरु मेलास्थलको एक छेउमा बसेका छन् । खुल्ला आकाशमुनी डाला/नाङ्ला लिएर बसेका उनीहरुले छाप्रो समेत पाएनन् । ‘बिक्री होला–नहोला डाला÷नाङ्लामा सिपको प्रदर्शन गरेर भएपनि जान्छौं, तर हाम्रो जिल्लामा अन्यत्र जस्तो समान्न छैन् ।’

डाला/नाङ्लाको मात्रै होईन चैतेदशैं मेलाको बिषेशतामा पर्ने स्थानीय उत्पादन ठेकाको व्यवसाय पनि चौपट छ । मेला स्थलमै रहेका बागलुङको बलेवाका टिका चुँदारा पुराना दिन सम्झनै चाहन्नन् । अमलचौरका चुँदारा समुदायको मुख्य पेशा ठेका बनाउने कामबाट सीप भएकाहरु पनि पलायन हुने अबस्था आएको उनी बताउँछन् । ‘२०५२ सालदेखि चैतेदशैंमा ठेका लिएर बस्दै आएको छु, तर पहिले जस्तो ठेकाको व्यापार छैन्’ चुँदारा भन्छन् ‘मेरै अघि प्लाष्टिक र स्टिलका ठेका हल्लाउँदै जान्छन्, सस्तो उतै पर्छ ।’

राज्यका निकायले स्थानीय सीप र साधनको प्रयोगमा ध्यान नदिएको गुनासो उनले गरे । चुँदाराले एक हजारदेखि १८ हजारसम्मका दारका ठेका बिक्रिका लागि राखेका छन् । मेलामा फलामका भाँडा, नेपाली कागज लगायतका स्थानीय उत्पादनको कम खोजी हुन थालेको व्यवसायी बताउँछन् । यो बर्षको मेला आयोजना गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिले स्थानीय उत्पादनलाई प्राथमिकता दिने भनेको छ । तर, पहिले पहिले जस्तो मेलामा स्थानीय उत्पादन आउनै छाडेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->