बागलुङ/ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले चैतेदशै मेलामा बजार अनुगमन गरेको छ ।
बिशेषगरी खाद्य पसल, चना चटपट र खुला रुपमा बेचिएका खानाका परिकारमा डिभिजनले विभिन्न सरोकारवाला निकायको रोहवरमा अनुगमन गरेको हो । बागलुङ नगरपालिका, जिल्ला प्रशासन, प्रहरी, पर्यटन तथा उद्योग कार्यालय, उद्योग बाणिज्य संघ, उपभोक्ता मञ्च लगायतका संस्थाले अनुगमन गरेका हुन् ।
टोलीले २६ वटा पसलमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा अधिकांस पसलमा खाद्यबस्तु खुला छाडेर धुलो बनाएको भेटिएको अनुगमन टोलीका संयोजक तथा डिभिजनका प्रमुख सौरभ श्रेष्ठले बताए । केही पसलमा धेरै पटक तेल तताएर खान अयोग्य बनाएको भेटिएपछि परीक्षण गरेर तत्काल नष्ट समेत गरिएको थियो ।
त्यस्तै, चटपटे र चाउमिनमा प्रयोग गरिने ससको नाउँमा भेनेगर रसायनलाई प्रयोग गरेको समेत भेटिएको हो । भेनेगर स्वास्थ्यका लागि हानिकारक रसायन हो । उक्त बस्तु भेटेपछि डिभिजन कार्यालय बागलुङले नमूना सामान बरामद गरेर ल्याब परीक्षणका लागि पठाएको छ ।
भेनेगरलाई सस भन्दै बेचिरहेका खुला पसलेले बताएअनुसार उनीहरुले बानपा २ को शर्मा इन्टरप्राइजेजबाट सामान खरिद गरेका थिए । इन्टरप्राइजेजका संचालक नरिश्वर शर्माले पोखराको सामान आँफूले बेच्ने गरेको बताए । उनले गुणस्तरबारे थाहा नभएको, लेबल देखेर बिक्री गरेको भन्दै मानव स्वास्थ्यको लागि कस्तो हो भन्ने कुरा प्रयोग गर्नेले जान्नुपर्ने बताए । भेनेगर भनेको शरीरलाई हानि गर्ने रसायन भएको श्रेष्ठको दावी छ ।
उक्त भेनेगर उत्पादन गर्ने संस्था भने पोखराको मालेपाटनस्थित ‘तिरुपति फुड एण्ड बेभरेज’ भएको उक्त लेबलमा लेखिएको छ । उक्त बस्तु खानका लागि मात्र हो वा अन्य प्रयोजनमा उपयोग गरिन्छ भन्ने खुलाइएको छैन । टोलीले बरामद गरेको सामाग्री सिल्ड गरेर ल्याबमा पठाएको छ । परीक्षण पनि मानव स्वास्थ्यका लागि कति हानिकारक हो भन्ने प्रमाणित हुनेछ ।
नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत युक्त प्रसाद सुवेदीका अनुसार अखाद्य बस्तु बिक्री गर्नेलाई कसुर हेरी ५० हजार जरिवाना र एक बर्षसम्म जेल सजाय समेत हुन सक्ने कानूनी व्यवस्था रहेको बताए । यद्यपी कतिपय त्रुटीलाई सच्याउने समय पनि दिइनेछ । अनुगमन टोलीले बजारमा लेबल नभएका सामाग्री, अखाद्य बस्तु, मूल्यसूचि र म्याद नभएका, भएका पनि म्याद गुज्रेका बस्तुको नियमित खोजी गरिरहने छ ।
कालीका मन्दिरमा पूजा गर्न तयार पारिएको सामाग्री पनि महंगो मुल्यमा बिक्री भएको गुनासो आएपछि अनुगमन गरिएको थियो । अनुगमनको क्रममा ३ सयदेखि ५ सय रुपैयाँमा बेचेको भेटिएको थियो । उक्त मूल्य अन्यत्रभन्दा चर्को भएको टिप्पणी भएको छ ।





