बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बसाईसराईले रित्ता घरहरु, रित्तै छन् गाउँहरु, घट्दै छ जनसंख्या

बसाईसराईले रित्ता घरहरु, रित्तै छन् गाउँहरु, घट्दै छ जनसंख्या

जैमिनीको जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०७९, बुधबार

बागलुङ/दुई बर्षअघि बस्ती माथीबाट आएको पहिरोले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरीए, दर्जनबढी घर जोखिममा परे । पहिरोले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थिए । बसाईसराईले अहिले गाउँ रित्तिएको छ ।

सोही बर्ष जैमिनी–९ पैञ्युथन्थापको पिप्ले गाउँ नै उठ्नेगरी पहिरो खस्यो, सात घरपरिवार जोखिममा परे । मानवीय क्षती नभएपनि अधिकांश घरको उठिबास लाग्यो । पैञ्युथन्थापकै घ्युरमा आएको पहिरोले गाउँ बिस्थापित बन्यो ।

जैमिनैकै दमेक, जैदी र बिनामारेमा पहिरोले धेरै धनजनको क्षती भयो । तत्कालका लागि पहिरोले पु¥याएको क्षतीको राहत त पीडितले पाए, तर बाढीपहिरो, बाँदर र बिकास अभावले भैरहेको बसाईसराईका दिर्घकालिन प्रभाव भने देखिन सुरु गरेको छ । प्राकृतिक प्रकोपका कारण भैरहेको बसाईसराईको एउटा ज्वलन्त उदाहरण हो जैमिनीको जनसंख्यामा आएको गिरावट । २०७८ मा भएको राष्ट्रिय जनगणनाले त्यसको उजागर गरेको छ ।

जैमिनीकै मुटु कुश्मीशेरामा रहेको शान्ति माध्यमिक विद्यालयको एसएलसी व्याच २०६४ का एक सयबढी विद्यार्थीमध्ये अधिकांश कक्षा १२ पास गरेपछि जैमिनी छोडेका छन् । शान्ति माविमा जैमिनीका अधिकांश विद्यार्थीले अध्ययन गर्थे । उच्च शिक्षाका लागि घर छोडेर हिँडेकामध्ये अधिकांश गाउँ फर्किएनन् । युरोप, अमेरिका र देशकै ठुला सहरमा पुगेका उतै बसे । नगरपालिकाले तथ्यांक निकालेको छैन् । विद्यालयका प्रधानाध्यापकका अनुसार उनीहरु अधिकांशले बसाईसराई गरिसकेका छन् । कारण : रोजगारीका अबसर गाउँमा नहुनु, कृषि पेशाले मात्रै गुजारा नचल्दा नगरको जनसंख्या घट्दो छ ।

जैमिनीमा देसभरका नगरपालिका तहमध्ये सबैभन्दा बढी ऋणत्मक जनसंख्या भएको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार, जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक हुने जैमिनी नगरपालिका दोस्रो स्थानमा परेको हो । जैमिनीमा २.५३ प्रतिशतले जनसंख्या ऋणत्मक बृद्धि भएको हो । अछामको साँफेवगर नगरपालिकापछि सबैभन्दा धेरै जनसंख्या बागलुङको जैमिनीमा घटेको छ । साँफेवगरमा २.५५ प्रतिशतले जनसंख्या ऋणात्मक छ ।

राष्ट्रिय जनगणना २०६८ मा ३२ हजार ४६ जना रहेकोमा दश बर्षपछिको आँकडा आउँदा २४ हजार ६ सय २८ मा झरेको छ । तथ्यांक बिभागका अनुसार सबैभन्दा बढी ऋणात्मक जनसंख्या हुने पाँच नगरपालिका तहमध्ये अछामका दुई, बागलुङ, पर्वत र स्याङ्जाका एक/एक स्थानीय तह छन् । ऋणत्मक जनसंख्या हुनेमा तेस्रो नम्बरमा अछामकै मंगलसेन छभने चौथो स्थानमा स्याङ्जाको गल्याङ र पाँचौंमा पर्वतको फलेवास नगरपालिका छ ।

‘२०६८ को जनगणनामा केही त्रुटी भएका कारण अहिले संख्या धेरै घटेको देखिएको हो । तर, जनसंख्या नघटेको भने होईन्’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा भन्छन् ‘पहिलो कारण बसाईसराई हो, दोस्रो जन्मदर पनि निकै कम छ ।’ शर्माका अनुसार २०६८ को जनगणनामा जैमिनीको तथ्यांक बास्तविकताभन्दा धेरै थियो । पछिल्लो समय अनलाईन प्रबिष्ट गर्दा वास्तविक तथ्यांक आएको शर्माले बताए । देश बाहिरभन्दा देशभित्रै बसाई सरेर जानेहरु जैमिनीमा धेरै छन् । नगरपालिकामै गणना भएको हजारौं जनसंख्याको बसोबास अहिले पनि नगर बाहिर छ ।

‘बालबालिकालाई खोप लगाउने बेला थाहा हुन्छ गाउँ खाली छन्, हामीले त बिभागले दिएको लक्षको आधा पनि पुरा गर्न सक्दैनौं’ जैमिनी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख गोविन्द आचार्य भन्छन्, ‘पहिलो कारण बसाईसराई हो, दोस्रो जन्मदर घट्नुले जनसंख्या घटेको छ ।’ उनका अनुसार जैमिनीमा एक प्रतिशतभन्दा कम जन्मदर छ ।
बसाईसराई जनसंख्या घट्नुको मुख्य कारण भएको तथ्यांक अधिकृत घनश्याम सापकोटा बताउँछन् । युवापुस्ताले स्वरोजगारभन्दा रोजगारीलाई प्राथमिकतामा राख्नु, सुविधाको खोजी हुनु, युवापुस्तामा सन्तान जन्माउने चाह कम हुनु, बैदेशीक रोजगारीले श्रीमान÷श्रीमती लामो समय छुटिनुले जनसंख्या घट्नुमा भुमिका खेलेको सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->