बागलुङ/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संघीय सरकारले प्रदेशमा अधिकार प्रत्यायोजन गर्न आनाकानी गरेको बताएका छन् । प्रदेश सरकार कमजोर हुँदा संघीयता कमजोर हुने भन्दै अधिकारीले देशका तीनै तह बलियो बनाउन प्रदेश सरकारले संबिधानको व्यवस्था अनुसार अधिकार प्रयोग गर्न पाउनुपर्नेमा जोड दिए ।
‘प्रदेशलाई अधिकार दिँदा संघ कमजोर हुने होईन, झन् बलियो पो हुन्छ त’ अधिकारीले भने ‘प्रदेशलाई काम लगाउनुको साटो संघले अधिकारमा अंकुश लगाईरहेको छ, कानूनको अभाव छ, भूमीको उपयोग गर्ने अधिकार समेत दिईएको छैन् ।’ उनले केन्द्रियताबादी सोँचका कारण संघीयता बिरोधीहरुलाई सहयोग गरिरहेको आरोप समेत लगाए ।
बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले चैत्राष्टमीको अवसरमा कालिका मन्दिर परिसरमा आयोजना गरेको चैते दशैं मेलाको मुल समारोहलाई बुधबार उद्घाटन गर्दै अधिकारीले बिकास र समृद्धिका लागि प्रदेश सरकारको महत्वपूर्ण भूमिका रहने बताए । गण्डकी विश्वविद्यालयले खानी इञ्जिनियरिङ बिधाको अध्यापनका लागि दरवन्दी स्वीकृत भएको स्मरण गर्दै प्रदेश सरकारले स्थान अनुसार सम्भावनाको खोजी गरेर बिकास गर्ने बताए ।
‘हामीसँग भएको युरेनियमको अध्ययन बेलायती ल्याएर गराउने होईन, हाम्रै उत्पादनले गर्नुपर्छ’ अधिकारीले भने ‘हामीसँग फलाम, तामालगायत धातुहरुका खानी छन्, तिनको अध्ययन र उत्खनन्ले समृद्धि ल्याउँछ, यस्ता कामका लागि प्रदेश अधिकार सम्पन्न हुनैपर्छ ।’ अधिकारीले संघीयताको बिरोध गर्नुको कुनै तुक नरहेको बताए । नेपालका लागि संघीयताको आवश्यकता छैन् भन्नु व्यवस्था र जनचाहनाबिपरित रहेको उनको भनाई थियो ।
‘संघीयताको रक्षा र समावेशी शासन प्रणालीका लागि हामी हजारौं हण्डर खान तयार छौं’ अधिकारीले भने ‘चुप लागेर बस्यो भने बाघले सिकार पाउँदैन्, खानका लागि जंगलको राजा पनि कुद्नै पर्छ भने हामस्ले पनि संघीयताको रक्षाका लागि संघर्ष गर्न तयार हुनैपर्छ ।’ अधिकारीले नेपालको संघीयता कसैको नक्कल गरेको संघीयता नभएको दाबी गरे । उनले नेपालमा रहेको शासन प्रणाली र संघीयतामा आफ्नैपन रहेको बताए ।
पहाडका गाउँहरु रित्ता भएकोप्रति अधिकारीले चिन्ता व्यक्त गरे । पहाडका रानीका रुपमा चिनिने गण्डकीका बागलुङ, स्याङ्जा, गोरखा लगाययतका शहरमा बिकास फर्काउनका लागि प्रदेश सरकार तयार रहेको उनको भनाई थियो । अधिकारीले बागलुङमा डिपिआरको चरणमा रहेको उत्तरगंगा जलाशययुक्त आयोजना निर्माणका लागि बागलुङले दबावमुलक कार्यक्रम गर्नुपर्ने बताए । ‘११ जना प्रदेशका माननीयहरु, दुई जना संघका माननीय हुनुहुन्छ, प्रभावशाली अरु नेताहरु हुनुहुन्छ’ उनले भने ‘उत्तरगंगाको बिषयमा तपाईहरु दबावमा लाग्नुहोस, म ढाल बनेर उभिन तयार छु ।’
कार्यक्रममा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले बागलुङको बिकासका लागि संघ र प्रदेश सरकारले सझा कार्यक्रमहरु ल्याउनुपर्ने बताए । जिल्लामा अलपत्र योजनाहरुको बिषयमा आफ्नो ध्यानाकर्षण भएको पौडेलको भनाई थियो ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले गण्डकी प्रदेशकै पुरानो बजार बागलुङ बजार र आसपासका क्षेत्रको बिकासमा संघ र प्रदेशको ध्यान जानुपर्नेमा जोड दिए ।
कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तारा शर्माले स्वागत र निसान खड्काले सञ्चालन गरेका थिए । मेलामा बिभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रम चलिरहेका छन् ।





