बागलुङ/माध्यामिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि खटिने शिक्षक कर्मचारीको पारिश्रमिक कम हुँदा काममा खटाउन कठिन हुने गरेको छ । खाजा खर्च समेत नपुग्ने गरी मसलन्द खर्च आउने र व्यक्तिगत रुपमा पाउने पारिश्रमिक समेत न्यून रहेको शिक्षक कर्मचारीको गुनासो छ ।
एसईई परीक्षामा केन्द्रादक्षले २ हजार २ सय रुपैयाँ मात्रै मसलन्द खर्च पाउँछन् । परीक्षामा खटिएका शिक्षक कर्मचारीलाई सामान्य चिया खाजा दिने बजेटसमेत नभएको शिक्षा बिकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले बताए ।
‘मसलन्द खर्चले उत्तरपुस्तिका सिलाउन मात्रै पुग्छ, केन्द्रादक्षहरुलाई चिया खाजाको व्यवस्था गर्नुस् भन्नै नसकिने अबस्था छ’ उपाध्याय भन्छन् ‘२०७१ सालमा तोकिएको पारिश्रमिक अहिले पनि कायम छ, न्युन पारिश्रमिकमा कसरी शिक्षक कर्मचारीले काम गर्न सक्छन् ।’
एसईईका लागि खटिने शिक्षक कर्मचारीहरुमध्ये केन्द्रादक्षले ८ सय, सहायक केन्द्रादक्षले पाँच सय, निरीक्षकले ३५० र कार्यालय सहयोगिले १५० रुपैयाँ कर बाहेकको पारिश्रमिक पाउने गरेका छन् । ‘तबलभत्तामा काम गर्ने हो भने अन्य मन्त्रालय अन्तर्गतका कर्मचारीले पनि सोही अनुसार गर्नुपर्यो’ उपाध्यायले भने ‘यसरी नै अन्य मन्त्रालयका कर्मचारीले काम गर्दा पारिश्रमिक कति पाउँछन्, शिक्षाकाले कती पाउँछन् मुल्यांकन गर्न जरुरी छ ।’ उनले समयानुकुल पारिश्रमिक बृद्धि हुनुपर्नेमा जोड दिए ।
न्यूनदृष्टि भएकालाई होमसेन्टर
जनता–धन माध्यमिक विद्यालय बागलुङमा अध्ययनरत न्युन दृष्टि भएका विद्यार्थीहरुले यस बर्ष आफ्नै विद्यालय परीक्षा केन्द्रबाट एसईई परीक्षा दिन पाउने भएका छन् । न्यून दृष्टि भएका विद्यार्थीहरुको आवतजावतमा हुने समस्यालाई मध्यनजर गरेर पढिरहेकै विद्यालयबाट परीक्षा दिन पाउने व्यवस्था मिलाईएको हो ।
यसअघिका एसईई परीक्षामा यो विद्यालयबाट सहभागी हुने अन्य विद्यार्थीकै परीक्षा केन्द्रबाट न्युन दृष्टि भएका विद्यार्थीहरुलाई पनि परीक्षा दिलाउँदै आएको थियो । जनता–धनका तीन जना विद्यार्थीले सोही विद्यालयमा स्थापना गरिएको उपकेन्द्रबाट परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कुश्मराज उपाध्यायले बताए ।
आफ्नै विद्यालयमा परीक्षा केन्द्र हुँदा न्युन दृष्टि भएका विद्यार्थीका लागि आवतजावतमा समस्या नहुने उनको विश्वास छ । जनता–धनका अन्य विद्यार्थीले भने त्रिभुवन मावि पैञ्युपाटा परीक्षा केन्द्रबाट परीक्षा दिँदैछन् ।
‘यसअघि प्राबिधिक बिषयको एउटै विद्यालय सदरमुकाममा मात्रै केन्द्र हुन्थ्यो अहिले सम्बन्धित ठाउँकै बिद्यालयमा केन्द्र तोकिएको छ’ उापध्यायले भने ‘दृष्टिबिहिन विद्यार्थीको समस्यालाई मध्यनजर गरेर आफ्नै विद्यालयमा उपकेन्द्र तोकेर परीक्षा लिईंदै छ ।’
प्राबिधिक धारतर्फ बाली बिज्ञान बिषयका ३, सिभिल इञ्जिनियरिङ २, कम्प्युटर साइन्स २ गरी दश विद्यालयका विद्यार्थीले ९ वटा परीक्षा केन्द्रबाट परीक्षा दिने छन् । बागलुङमा यो बर्ष ४ हजार ८ सय ३६ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । तीमध्ये ३२ जना खुल्ला विद्यालय र तीन जना बटुक एसइई परीक्षामा सहभागी हुने उपाध्यायले बताए ।
३१ वटा परीक्षा केन्द्रबाट २ हजार ५ सय ९८ छात्रा र २ हजार २ सय ३८ छात्र परीक्षामा सहभागी हुन लागेका हुन् । ६५ जना ग्रेड बृद्धिका लागि परीक्षामा सामेल हुँदैछन् ।
परीक्षा सञ्चालनका लागि ३१ केन्द्रादक्ष, ४२ सहायक केन्द्रादक्ष, २६१ निरीक्षक, ३१ परीक्षा सहायक र १०४ जना कार्यालय सहयोगी खटाईएको छ । परीक्षाको सम्पूर्ण तयारी पुरा भएको उपाध्यायले बताए । परीक्षा केन्द्रमा सौचालय, खानेपानीदेखि सुरक्षा व्यवस्था चुस्त रहेकाले ढुक्क भएर परीक्षामा सहभागि हुन उपाध्यायले अनुरोध गरे ।





