बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जैमिनीमा शैक्षिक सामग्री खरिद गर्न शिक्षकलाई ऋण कोष

जैमिनीमा शैक्षिक सामग्री खरिद गर्न शिक्षकलाई ऋण कोष


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०७९, बुधबार

बागलुङ/ जैमिनी नगरपालिकाले शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न सहयोग गर्ने उद्देश्यले चक्रिय कोष स्थापना गर्ने घोषणा गरेको छ । दुई दिनसम्म चलेको विज्ञ सम्मेलनले घोषण पत्र जारी गर्दै नगरपालिकाले नगरका सबै विद्यालयमा कोष स्थापना गरी शिक्षकलाई आवश्यक शैक्षिक सामाग्री खरिद गर्न ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।

शिक्षकले शिक्षण क्रियाकलाप सञ्चालन गर्न चाहिने सामग्री खरिद गर्न उक्त कोषबाट न्यून ब्याजमा ऋण पाउने छन् । ऋण प्राप्त गर्ने शिक्षकको तलबबाट मासिक निश्चित रकम काटेर नियमित ऋण असुली गर्ने योजना रहेको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।
शिक्षकलाई आवश्यक पर्ने ल्यापटप जस्ता व्यक्तिगत सामाग्री खरिद गर्न ऋण प्राप्त हुनेछ । नगरपालिकाले कमाउँदै पढ्दै गर्ने अवधारण पनि अघि बढाउने र त्यसका लागि विद्यालयमा करेसाबारीको व्यवस्था मिलाउने घोषणा गरेको छ । आगमी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेटले योजनालाई सम्बोधन गर्ने शर्माको भनाई छ ।

जैमिनीका विद्यालय एकीकरण र समायोजनलाई अघि बढाउँदै क्रमशः सबै वडामा आवासिय विद्यालयको प्रवद्र्धन गर्दै जाने योजना सार्वजनिक गरेको उपप्रमुख शर्माले बताए । नगरपालिकाको तत्कालिक र दीर्घकालिन लक्ष्य निर्धारण गरी योजना निर्माणका साथ अगाडी बढ्ने, कृषि तथा पशु उत्पादनमा लागत अनुदानमा भन्दा उत्पादन र बिक्रीमा आधारित अनुदान र सहुलियत ऋणलाई प्रोत्साहन गर्ने तथा पशु कृषि विमाको लागि अनुदान उपलब्ध गराईने छ ।

कृषिमा चक्रिय प्रणाली अपनाउँदै कृषि र पशुजन्य उत्पादनको बजारीकरणको लागि ब्राण्डिङ, लेभलिङ र प्याकेजिङ गर्ने, स्वास्थ्यतर्फ टेलिमेडिसिन नेटवर्क स्थापना, स्वास्थ्यमा बिरामीको पहुँच विस्तार र नगर अस्पतालमा एमडिजीपी डाक्टर एवं एम्बुलेन्सको राम्रो सेवा सुनिश्चित गर्ने नगरपालिकाले घोषणा गरेको छ ।

पूर्वाधार निर्माणमा विपत् न्युनिकरण गर्दै नगरपालिकाको उत्थानशिल विकास निर्माण कार्यलाई अगाडी बढाउने, निजी तथा अन्य सरोकारवाला निकायको समन्वयमा पर्यटन पूर्वाधार विकासलाई सवल बनाउँदै स्थानीय कला संस्कृति झल्किने पर्यटन क्षेत्रको विकास गरिने नगर प्रमुख नरबहादुर पुनले जानकारी दिए ।

निजी तथा अन्य सरोकारवाला निकाय सँगको समन्वयमा पर्यटन पूर्वाधार विकासलाई सवल बनाउँदै स्थानीय कला संस्कृति झल्कने पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । नगरपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवालाई सुलभ बनाउन सुचना प्रविधिसँग जोड्न संयन्त्र निर्माण गर्ने, राजश्व परिचालन र अन्य क्षेत्रमा दरिलो तथ्याङ्क आधार तयार गर्न सुचना प्रणालीलाई प्रभावकारी बनाउने र सार्वजनिक वित्त व्यवस्थापन तथा अन्य क्षेत्रलाई व्यवस्थित गर्न ऐन, नियम कार्यविधि र योजना निर्माण गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

बाँदर आतंकबाट पीडित किसानलाई राहत दिन छिमेकी पालिकाकामा भएका असल अभ्यासको अवलम्बन गर्ने, तत्कालिन र दीर्घकालिन समाधानका उपायको खोजी गर्ने, संघीय र प्रदेश सरकारसँग बाँदर नियन्त्रणमा देखिएका कानुनी अड्चन फुकाउन समन्वय गर्ने योजनासमेत नगरपालिकाले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->