बागलुङ/जैमिनी नगरपालिका–३ दमेकमा रहेको पर्यटकीय गाजाको दह क्षेत्रका किसानले आयआर्जन र पर्यटन प्रबद्र्धनका लागि ओखरको वन बनाउने प्रयास थालेका छन् । नौला गाउँ र गाजा दहको सुख्खा र उजाड जमिन हरियाली बनाउने प्रयास थालिएको हो ।
नौला र गाजादह क्षेत्रका कृषकले दाँते ओखरको व्यवसायिक खेती थालेपछि उजाड जमिन हरियाली बन्दै छ । हुर्किदै गरेका ओखरका बिरुवाले उजाड क्षेत्रमा हरियाली थप्दै गरेको किसान शेरबहादुर छन्त्यालले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय इकाई बागलुङको सहयोगमा एक हजार सात सय दाँते ओखरका विरुवा रोपिएको छ ।
छन्त्याल कृषक समूहमा आवद्ध कृषकले एक सय रोपनी क्षेत्रमा ओखर रोपेका हुन् । उक्त जग्गा समुहमा आबद्ध कृषककै हो । खाली जग्गामा थिङसेल जातको कलमी बिरुवा रोपेको जैमिनी नगरपालिका कृषि शाखामा कार्यरत प्राविधिक रविन्द्र शर्माले जानकारी दिए ।
कलमी बिरुवाले तीन बर्षपछि उत्पादन दिने छ । ‘उजाड जमिन हरियाली भएको छ’ प्राविधिक शर्माले भने– ‘बाँझो जमिनको उपयोग र कृषकलाई व्यावसायिक बनाउन सहयोगी बन्ने छ ।’ कार्यक्रमको लागि परियोजनाले १० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
बिरुवा खरिद, ढुवानी, बिरुवा रोपणको लागि खाडल खन्ने, मल व्यवस्थापन, सिँचाई व्यवस्थापन र बिरुवा रोप्ने क्षेत्रमा रहेका रुख कटानको लागि प्रयोग हुने चेन्सो मेसिन खरिदको गर्न कुल १७ लाख ८५ हजार रुपैयाँ खर्च भएको छन्त्याल कृषक समुहका अध्यक्ष देवप्रसाद छन्त्यालले जानकारी दिए । परियोजनाले उपलब्ध गराएको १० लाखबाहेक अपुग भएको रकम कृषकबाट संकलन गरिएको थियो । समुहमा ११४ जना कृषक आबद्ध छन् ।
कृषकले एउटा बिरुवाको ३५० रुपैयाँ कृषकले तिरेका थिए । जसको जमिनमा जति बिरुवा रोपिएको छ त्यसको उत्पादन त्यहीं कृषकले प्रयोग गर्ने प्राविधिक शर्माले बताए । वडा कार्यालयले पनि पचास प्रतिशत अनुदानमा वडाको अन्य क्षेत्रमा एक हजार बिरुवा वितरण गरी ओखर खेती सुरु गरेको छ । विज बिरुवा खरिद गरी अनुदानमा प्रदान गरेको वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए । विज बिरुवाले पाँच बर्षपछि उत्पादन दिनेछ । उपल्लो दमेक दाँते ओखर खेतीको लागि उपयुक्त क्षेत्र हो ।





