बागलुङ/ घामपानी ओत्ने बास जमिनसँगै भाँसिएपछि ४८ वर्षीया धनमायाको परिवार पाँच वर्ष अर्कैको घरमा बस्यो । कहिले छिमेकी त कहिले आफन्तको घरमा उनीहरुका दिन बिते ।
२०७२ सालपछि धनमाया दर्जी र गाउँका १४ परिवार एकैपटक गाउँबाट बिस्थापित भएका थिए । भूकम्पले हल्लिएको जमिन एकाएक भाँसिएपछि सबैले गाउँ छोडे । पाँच वर्षपछि धनमायाको परिवारले अहिले आफ्नै घर पाएको छ । धनमाया मात्रै होइन, काठेखोला गाउँपालिका–५ बिहुँ काहुलेका दश परिवारले पाँच वर्षको कष्टपूर्ण समय बितेपछि गतवर्ष आफ्नै घर पाएका हुन् ।
काठेखोला गाउँपालिका–५ मा एकैनासका १० घर बनेका छन् । सरकारले बनाएको ‘नमूना बस्ती’मा धनपाया, रुपा दर्जी लगायतका परिवार मिलेर बसेका छन् । दशवटै घरमा औषतमा पाँच जनाको परिवार बस्छन् । दुई कोठा भएका घर नजिकै जोडेर बनाइएको छ । नमूना बस्तीको जग्गा र घर सबैको एकमुष्ट लालपूर्जा छ ।
लामो समय आफ्नो घर छोडेर बसेको समुदायले घर त पाए तर भर भने अझै पाएका छैनन् । पुख्र्यौली घर भएको ठाउँमा घरसँगै गरीखाने सम्पत्ति पहिरोले सकेको छ । नयाँ घर बनेको ठाउँमा खुर्सानी रोप्ने जग्गासमेत नहुँदा पीडित परिवार समस्यामा छन् । ‘न खेती गरेर खाने जमिन छ, न पशु पालौ भने गोठ,’ धनमाया दर्जीले भनिन् ‘घरमा खाने तरकारी त फलाउन सकिन्थ्यो तर, एक टुक्रा जग्गा छैन् ।’ मजदुरी गरेर खाने अधिकांश परिवारमा बिहान–बेलुका छाक टर्नै समस्या छ । घरायसी प्रयोजनका लागि तरकारीसमेत उत्पादन गर्न नपाउँदा थप समस्या भएको दर्जी बताउँछिन् ।
ठूलो परिवार भएकालाई नमुना बस्तीमा भनेका घरसमेत अपर्याप्त छन् । दुईवटा मात्रै कोठासहित बनेका घरमा परिवार अटाउनै कठिन हुने गरेको अर्की स्थानीय रुपा दर्जीले बताईन् । एउटा कोठामा भन्छा र अर्कोमा चारपाँच जना बस्नुपरेको पीडा उनीहरुसँग छ । स–साना बालबालिका खेल्ने ठाउँको समेत अभाव छ । पीडितले अहिले सरकारसँग सामान्य भएपनि रोजीरोटीका लागि रोजगारको माग गरेका छन् ।
नमूना बस्तीमा खानेपानीको अभाव छ । वर्षायामको पानी व्यवस्थापनका लागि बनाईएको नालीले पानी थेग्दैन् । बस्ती वरपर बनाउने भनिएको पदमार्ग र सार्वजनिक सभाहल पनि बनेनन् । ‘कोरोना महामारीअघि ४० लाखको योजना थियो, नाली, पानी, भवन र बाटोका लागि तर, कामै नभइ सकियो,’ उपभोक्ता समितिको अध्यक्ष समेत बनेकी धनमायाले भनिन् ‘८ लाखको काम गरेर नाली बनाइयो, बाँकी काम गर्न सकिएन्, कोरोनापछि बजेट आएन् ।’ सबै गाउँमा मोटरबाटो पुगे पनि आफूहरुको बस्तीसम्म सडक नपुगेको उनको गुनासो छ । सरकारले आफूहरुका लागि खानेपानी र सडक निर्माण गरिदिए सहज हुने उनको भनाइ छ ।
‘ठूलो घर त हामीले मागेकै छैनौं, सके बनाउँला नसके भएकाले काम चलाउँला,’ धनमाया भन्छिन्,‘कम्तिमा तरकारी रोपेर खाने जमिन मात्रै भएपनि बिहान बेलुका खान पुग्थ्यो ।’ गाउँपालिकाका अध्यक्ष राजु थापाले नमूना बस्तीमा रहेको खानेपानी समस्या समाधानका लागि गाउँपालिकाले योजना बनाएको जनाउँदै उक्त समस्या केही समयमै समाधान हुने बताए । उनले यस बस्तीसम्म सडक पु¥याउने प्रयास थालेको बताए ।
देशविदेशमा रहेका बिहुँ र बागलुङबासी तथा गाउँपालिकाको सहयोगमा जग्गा खरिद गरेर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा घर निर्माणपछि नमूना बस्ती तयार भएको थियो । बस्ती तयार भएपनि आवश्यक संरचनाहरु भने अझै तयार भैसकेका छैनन् । बस्तीका स्थानीयले आफ्नो घरको लालपुर्जा आँफूसँग नहुँदा दुःख मान्ने गरेको लालबहादुर परियार बताउँछन् ।





