बागलुङ/ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी नगर अस्पताल सञ्चालनमा आएपछि बिरामीको चाप बढेको छ । बागलुङको गलकोट नगरपालिकाले सञ्चालनमा ल्याएको नगर अस्पतालमा बिरामीको चाप बढेको हो ।
अस्पतालको व्यवस्थापकीय सुधार र चिकित्सकले सेवा दिन थालेपछि अस्पतालमा बिरामीको चाप बढेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पवन हमालले जानकारी दिए । गलकोट नगरपालिकाले तत्कालिन हरिचौर प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नती गरेर नगर अस्पताल सञ्चालनमा ल्याएको थियो ।
अहिले नगरबासीलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ आवश्यक गृहकार्य गरिरहेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । नगरबासी र छिमेकी पालिकाका नागरिकलाई समेत लक्षित गरि आवश्यक स्वास्थ्य सेवा सुविधा गाउँमै पाउन अस्पतालले भुमिका खेल्ने गैरे बताउँछन् ।
‘हामी नागरिकको स्वास्थ्यप्रति गम्भिर छौं, स्रोत साधनले भ्याएसम्म सेवा दिईरहेका छौं’ नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले भने । उनले अहिले आवश्यक गुरुयोजना बनाएर अस्पताललाई सुविधा सम्पन्न बनाउन प्रयास भईरहेको उल्लेख गरे । सामान्य स्वास्थ्य सेवा नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न आफुहरु प्रयासरत रहेको उनले बताए ।
स्वास्थ्यमा सामान्य समस्या हुँदा पनि काठमाडौं, पोखरा जानुपर्ने बाध्यताको अन्त्य भएको स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलले जानकारी दिए । गलकोट नगर अस्पतालमा अहिले सेवा सुविधाको विषयमा दैनिक स्वास्थ्यकर्मीहरुको समिक्षा बैठकसमेत बस्ने गरेको अस्पतालका सुचना अधिकारी जीवन बोहोराले जानकारी दिए ।
२०१६ सालमा स्थापना भएको स्वास्थ्य चौकीलाई २०५१ सालमा प्राथमिक स्वास्थ्य केन्द्र र गतवर्ष गलकोट नगर अस्पतालमा स्तरोन्नती गरिएको थियो ।





