बागलुङ/ मकै रोप्ने बेला बिउका लागि भौंतारिने सुरेन्द्र केसीलाई यो बर्ष त्यसको चिन्ता भएन । बागलुङको बडिगाड गाउँपालिका–९ का केसीको खेतबारीमा मकै फल्छ । यो बर्ष पालिकाको कृषि शाखाले किसानले मागेअनुसारकै बिउ दियो । बिउ पाएपछि खोज्ने झण्झट त टर्यो तर बाली जोगाउने चुनौतीले उनलाई सताउन थालेको छ । बिउको पोका हातमा नराख्दै उनले बाँदर सम्झिए । पोहोर जस्तै यो पालि पनि बाँदरले सताए बाली कसरी जोगाउने ?
गाउँपालिकाले मकै बाली प्रबद्र्धन कार्यक्रममार्फत वडामै पुगेर बिउ बाँडिरहेको छ । बिउ पाएका किसानमा भने उत्साह र निराशा दुवै छ । ‘पहिला मकैको विउको लागि धेरै ठाँउमा खोजी गर्नुपथ्र्यो’ केसीले भने ‘बागलुङ, पोखरा तथा बुटवलबाट व्यापारीलाई विउ मगाउँदा लगाउनै ढिलो हुन्थ्यो । अहिले बिउ घरै आयो तर मकै कसरी जोगाउने भन्ने चिन्ता छ ।’
यो वर्ष बडिगाडले मकैबाली प्रर्वद्वन कार्यक्रममार्फत पाँच वटा वडामा काम गर्दै छ । वडा नंं. ४, ५, ६, ९ र १० मा मकै बाली प्रबद्र्धनका लागि २० लाख २० हजार बजेट छ । मकैबाली प्रबद्र्धन कार्यक्रम लागु भएका वडामा कृषक समुह गठन गरेर मकैको बिउ वितरण भैरहेको कृषि शाखाका प्रमुख ईश्वर वलीले बताए । वडामा मकैको बिउसँगै कोसे तरकारी बालीको विउसमेत निशुल्क वितरण गरिएको छ ।
बडिगाड–१ दगातुम्डाँडामा उत्पादन भएको ‘मनकामना–३’ जातको मकैको विउ किसानलाई वितरण गरिएको वलीले बताए । ‘मकैको विउ ९० रुपैयाँमा खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा प्रतिकेजी ४५ रुपैयाँमा उपलव्ध गराएका छौं’ उनले भने । बिउ पाएका सबै किसानले बाँदरका कारण बाली जोगाउन सकस हुने गरेको सुनाएका थिए ।
गाँउपालिकाको वडा नंं. १, २ र ३ मा मकै पकेट क्षेत्र कार्यक्रम र अन्य वडामा मकैबाली प्रवधन कार्यक्रमअन्तर्गत बिउ वितरण गरिएको हो । मध्य पहाडमा उपयुक्त हुने मनकामाना–३ मकैको विउ सेतो जातको हुन्छ । खान निकै स्वादिष्ट हुने भएपछि किसानको रोजाईमा यो बिउ परेको वलीले बताए ।
मनकामना–३ संगै देउती मकैको विउ उत्पादनको तयारी
गाउँपालिकाको दगातुन्डाँडा कृषि समुहले अहिलेसम्म मनकामना–३ जातको मकैको विउ उत्पादन गर्दै आएको छ । यो बर्षदेखि देउकी जातको विउ पनि उत्पादन गर्नेगरी तयारी थालेको छ । समुहका अध्यक्ष भिमसेन वनका अनुसार यो वर्ष समुहले १६ क्विन्टल मकैको विउ उत्पादन गरेको थियो । जसमा १२ क्विन्टल बिक्री भएको छभने ४ क्विन्टल स्थानीयले बिउ लगाउन राखेका छन ।
समुहले यो पटक ५ क्विन्टल बडिगाड–१० मा, ८० किलो बडिगाड–९ मा ढोरपाटन–२ मा ४ क्विन्टल र निसीखोलामा २ क्विन्टल वितरण गरिएको बनले बताए । देउती जातको मकै उत्पादनको लागि भने अझै कलस्टरको टुङ्गो नलागेको उनले बताए ।
“हामिले ७ हेक्टर क्षेत्रफलमा अहिले मनकामनाको विउ लगाएका हौं, १२ क्विन्टल मकैको विउ बिक्रीको लाईसेन्स छ’ वनले भने, ‘यो पटक मनकामना–३ को १२० केजी र देउती जातको ८० केजी मुल विउ खरिद गरिसकेका छौं । तर, देउतीको विउ दगामा लगाउन पहल गरेका हौं, केही समस्याले कलस्टर मिलाउन सकेका छैन्नौ ।’
बाँदरबाट बाली जोगाउने चिन्ता
मकैको बिरुवा नउम्रिँदैबाट बाँदरले खेतबारीको डिल कुर्छ । गत बर्ष बाँदरकै कारण मकैको उत्पादनमा क्षति व्यहोरेका किसानले भने बिउसँगै
बाँदर नियन्त्रणका उपाय खोजिदिन पालिकासंग आग्रह गरेका छन् । बिउ पाएपछि किसान सुरेन्द्र केसीले भने ‘यो क्षेत्रमा बाँदरले निकै दुख दिन्छ । सिँचाईको समस्याको लागि अहिले वडाले काम गरिरहेको छ । त्यसले केहि सहज होला तर बाँदर नियन्त्रणमा हजुरहरुले नै केहि काम गरिदिनुप¥यो ।’
पहिलेभन्दा यो पटक बाँदरको संख्या झन् बढेको भन्दै केसीले खेतबारीमा मात्र नभई घरमा समेत बाँदरले दुख दिने गरेको बताए । उनले बाँदरको कारण घरका खाद्यान्न समेत जोगाउन मुस्किल भएको बताए ।





