बागलुङ/ शिक्षा विकास तथा समन्वय इकाई बागलुङले शुक्रबार एकैपटक ४ सय बढी शिक्षकलाई नियुक्ती दिएको छ ।
प्राथमिक तहको शिक्षक परीक्षामा उत्तिर्ण भएका ती शिक्षकलाई नियुक्ती दिएर पठाइएको इकाई प्रमुख कुश्मराज उपाध्यायले बताए । तीमध्ये बडिगाड गाउँपालिकामा १ सय ८ जना शिक्षक नियुक्ती भएका हुन् ।
लामो समयदेखि जिल्लामा ५ सय ३३ शिक्षक दरबन्दी खाली भएकोले शिक्षक पदपूर्ति गर्न आवस्यक थियो । दरबन्दीको तेरिजको आधारमा शिक्षक नियुक्ती भएको उपाध्यायले जानकारी दिए । बागलुङमा लामो समयदेखि शिक्षक दरबन्दी खाली हुँदा निजी श्रोतका शिक्षक राखेर पढाइएको थियो । कतिपय बिद्यालयमा गणित, अंग्रेजी र बिज्ञान शिक्षक खाली थिए । ‘महत्वपूर्ण बिषयका शिक्षक नहुँदा बिद्यार्थीको शैक्षिक गुणस्तरमा समेत समस्या थियो’ उपाध्यायले भने, ‘अबको नियुक्तीले कम्तिमा गुणस्तर सुधार गर्न सहयोग मिल्नेछ ।’
यसअघि शैक्षिक योग्यता नभएका शिक्षकले समेत पढाउनु परेकोमा यो पटक उत्तिर्ण भएर आउने अधिकांसले स्नातक र स्नातकोत्तर तह उत्तिर्ण गरेर आएका छन् । उनीहरुबाट शिक्षा क्षेत्रमा सुधार ल्याउन र गुणस्तर सुधार गर्न सहयोग मिल्ने बताइएको छ ।
सदरमुकाम रहेको बागलुङ नगरपालिकामा सानो संख्यामा दरबन्दी खाली रहेको र अन्य पालिकामा धेरै शिक्षक आवस्यकता थियो । आवस्यकताको आधारमा पालिकालाई दरबन्दीका शिक्षक पठाइएपछि पालिकाले ती शिक्षकलाई पुनः नियुक्ती दिएर बिद्यालयमा पठाउने व्यवस्था गर्ने छ ।
सबैभन्दा धेरै बडिगाडका ६५ वटा बिद्यालयमा शिक्षक दरबन्दी अभाव थियो । यसअघि निमावि र मावि तहको शिक्षक दरबन्दी पनि बितरण भैसकेको छ ।





