बागलुङ/ वार्षिक परीक्षा सकिएकाले बिद्यालय सुनसान छ । शिक्षक कर्मचारी बार्षिक परीक्षाको नतिजा तयार पारेकाले फुर्सदमा छन् । ५२ जिल्लाका सुस्तश्रवण क्षमता भएका विद्यार्थीको भविश्य खोज्ने विद्यालय हो धौलागिरि बहिरा आवासिय विद्यालय । अहिले यही विद्यालय बिद्यार्थीको खोजीमा दुर्गम गाउँहरु चाहरी रहेको छ ।
विद्यार्थी घर फर्केपछि विद्यालय प्रशासनलाई कामको बोझ घट्को छ । त्यही मौका छोपेर विद्यालय प्रशासन र शिक्षकको टोली बहिरा विद्यार्थी खोज्दै दुर्गम गाउँ घुमिरहेका छन् । बागलुङका विभिन्न स्थानीय तह तथा छिमेकी रुकुमसम्म विद्यार्थी खोज्दै पुगेको प्रअ रेशम श्रीसले जानकारी दिए ।
‘कयौं बहिरा बालबालिकाका परिवारले पठनपाठनका लागि ल्याउनुभएको छैन, सचेतना र बहिरा विद्यार्थीले सहजै पढ्न सक्छन् भन्ने सन्देश बोकेर गाउँ घुमेका छौं’ उनले भने । ग्रामिण क्षेत्रमा अझै पनि बहिरा बालबालिकाले पढ्ने ठाउँ छ भन्ने सुचना नहुँदा शिक्षाबाट वञ्चित हुनुपरेको प्रअ श्रीस बताउँछन् ।
बागलुङ सदरमुकामदेखि सुरु भएको विद्यार्थी पहिचान अभियान छिमेकी जिल्ला रुकुमसम्म पुगेको छ । अभियानको क्रममा निसीखोला गाउँपालिकामा छ जना र रुकुमको रुकुमकोटमा दुई गरी आठ जना विद्यालय उमेर समुहका नयाँ बालबालिका पहिचान भएका छन् । उनीहरुका अभिभावकलाई बालबालिकाको अपाङ्गता परिचय पत्र, जन्मदर्ता, वडाको सिफारिस लगायतका आवश्यक कागजातसहित विद्यालयमा उपस्थित हुन सचेत गराएको विद्यालयमा कार्यरत दोभाषे पुजा किसानले बताइन् ।
‘गाउँ गाउँमा बहिरा बालबालिकाले पढ्न सक्दैन्न भन्ने भ्रम छ’ प्रअ श्रीसले भने– ‘बहिरामैत्री विद्यालयको जानकारी नहुँदा पहुँच बाहिर बस्न बाध्य छन् ।’ विद्यार्थी खोजी अभियानको क्रममा अभिभावक, जनप्रतिनिधिलाई भेटेर आ–आफ्नो क्षेत्रमा रहेका विद्यालय उमेर समुहका बहिरा बालबालिकालाई विद्यालय पठाउन आग्रह गरिएको थियो ।
बहिरा विद्यार्थीले आवासीय सुविधासहित पठनपाठनको लागि नेपाल सरकारबाट छात्रावृत्ति प्राप्त गर्छन् । विदाको समय विद्यार्थी घर आउने र विद्यालय फर्कने खर्च अभिभावकले बेहोर्नु पर्दा घर गएपछि विद्यालय नआउन समस्या रहेको प्रअ श्रीसले बताए । निसीखोलामा तीन जना विद्यार्थी पुराना छन् । अभिभावकले गाडी भाडा हालेर विद्यालय पठाउन नसक्ने उनीहरु विद्यालयको पहुँच बाहिर छन् ।
आर्थिक रुपमा अति जटिल समस्यामा भएका बालबालिकालाई वर्षको एक पटक मात्रै घर पठाउने अन्य समय विद्यालयकै छात्रावासमा राख्न सकिने प्रअ श्रीसको भनाई छ । वडा कार्यालयसँग गाडी भाडाको व्यवस्थापन गर्न आग्रह गरिएको छ । ‘विद्यालयले गाडी भाडा दिन सक्दैन’ सहायक प्रधानध्यापक सन्तोष पौडेलले भने– ‘अभिभावकले त्यसको व्यवस्थापन गर्न नसक्दा बालबालिका घर आएपछि फर्किन कठिन छ ।’ स्थानीय तहसँग समन्वय गरेर सामान्य खर्च व्यवस्थापन गर्न सकिने उनको भनाई छ ।
यस्तै, बागलुङको पुरानो विद्यालय विद्यामन्दिर माविले पनि अनौपचारिक रुपमा भर्ना अभियान सुरु गरेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक कर्मचारसहितको टोली निर्माण गरी सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्न अभिभावकलाई सचेत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले बताए ।





