बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गलकोटको प्रशासनिक भवन निर्माण ढिलाइ

गलकोटको प्रशासनिक भवन निर्माण ढिलाइ


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०८०, आइतबार

बागलुङ/ गलकोट नगरपालिकाको प्रशासनिक भवन बनाउने ठेक्का लिएको निर्माण कम्पनीले काम ढिलो गरेको छ ।

डिलोलागरी काम गर्दा भवनको समयमा सकिने संभावना छैन । समयमा काम नसकिंदा गलकोट नगरपालिकाले मासिक लाखौं भाडा तिर्न बाध्य छ ।

आठ वर्षदेखि भाडाको घरमा बसेको गलकोट नगरले अझै कति वर्ष बस्नुपर्छ भन्ने नगर प्रमुखलाई समेत थाहा छैन । मासिक डेढ लाख बढी नगरपालिकाले भाडा तिर्नुपर्छ ।

आफ्नै भवन बनाउन जग्गा खोज्दा ५ वर्ष लाग्यो । ७ रोपनी जमिनमा भवनको ठेक्का लगाएपनि कामले गति लिन सकेको छैन । जग्गा व्यवस्थापनपछि डेढबर्ष बितिसक्दा पनि कामले गति नलिँदा जनप्रतिनिधिले दोश्रो कार्यकालमा पनि आफ्नो भवन बनाएर बस्न पाउने नपाउने अन्यौल भएको स्थानीयले बताए ।

नगरपालिकाले ठेक्का लगाएपनि ठेकेदारले काम थाल्नै ढिला गरेको र काम गर्न पनि थोरै कामदार राखेर ढीलाई गरेको हो । जनप्रतिनिधिले ठेकेदारलाई दबाव दिन नसकेकोले काम ढिला भएको बताए ।

‘कानूनको कमजोरीलाई खोजेर ठेकेदारहरुले काम ढीला गर्न खोज्छन्,’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘हामीले ताकेता गरिरहेका छौं तर कामको गति ढीला छ ।’ पाँचतले भवनको अहिले जगमा हात्तिपाइले राख्ने काम मात्रै भएको छ । नगरप्रमुख गैरेले तोकिएको समयमा काम सम्पन्न नगरे बिना कारण म्याद थप्न नदिने चेतावनी दिएको बताए ।

भवन वडा नंं. ६ को चरौंदी फाँटमा निर्माणाधिन छ । वडाध्यक्ष रामप्रसाद कंडेलले नियमित अनुगमन गर्दा कामले गति नै नलिएको बताए । ‘दुईचार जना मजदुर राखेर काम गर्दा दिनमा एउटा पिलर भर्नपनि सक्दैनन्,तोकिएको समयमा काम सक्न धेरै गाह्रो छ,’ उनले भने, ‘बर्षा लाग्यो भने पानीले काम दिंदैन, अहिले केही गरेका छैनन् ।’ काम गरेझै देखाएर भुक्तानी लाने काम हुने उनले चिन्ता गरे ।

नगरपालिकाका इन्जिनियर बलविक्रम दाहालले कामको ताकेता गरेपनि ढीला भएको स्वीकारे । ठेकेदार ‘रबिना जुगल संयुक्त निर्माण कम्पनी’ले आगामी २०८१ को मंसिर समान्त सम्ममा काम सक्ने ठेक्का लिएको हो ।

१२ करोड ४१ लख ५५ हजार रुपैयाँको लागतमा ५ तले भवन बनाउनुपर्ने सम्झौता छ । गत वर्ष काम थालेपनि अझै हात्तिपाइले बनाउने काम समेत नसकेको हो । ठेकेदार कम्पनीका साइट इन्चार्ज रघु ठाकुरले मजदुर अभावमा काम ढिला भएको बताए ।

‘हात्तिपाइले र जगमा भूकम्प प्रतिरोधी काम गर्न दक्ष कामदार चाहिन्छ त्यसैले ढिला भएको हो’ उनले भने, ‘भुइँ तलाको ढलानपछि मात्रै कामले गति लिन्छ ।’ तोकिएकै समयमा काम गर्ने लक्ष्य उनले सुनाए ।

काम अघि नबढ्दै ठेकेदार कम्पनीले २० प्रतिशत रकम लगिसकेको छ । इन्जिनियर दाहालका अनुसार अहिलेसम्म २ करोड ४८ लाख रुपैयाँ संचालन खर्चस्वरुप भुक्तानी भैसकेको हो ।

भुक्तानी अनुसारको काम नभएको भन्दै कंडेलसहितका जनप्रतिनिधिले भने ठेकेदारको जिम्मेबार व्यक्ति बसेर छिटो काम सक्ने वातावरण बनाउन पहल गरेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->