मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

आन्तरिक परामर्शमा मुख्यमन्त्री: ‘जे पर्छ, त्यही गर्दै जाऊँ’

आन्तरिक परामर्शमा मुख्यमन्त्री: ‘जे पर्छ, त्यही गर्दै जाऊँ’


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०८०, आइतबार
फाईल तस्वीर ।

पोखरा / प्रदेशसभाको विशेष बैठक नजिकिएसँगै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी आन्तरिक परामर्शमा जुटेका छन् । मुख्यमन्त्री अधिकारी अल्पमतमा छन् । गएको चैत १० गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नोतर्फबाट मन्त्रिपरिषद्मा रहेका दुई मन्त्रीलाई फिर्ता गरेसँगै उनी अल्पमतमा परेका हुन् ।

संविधानको धारा १८८ (२) मा ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नु पर्नेछ ।’ भन्ने स्पष्ट व्यवस्था गरेको छ । सोही कारण सरकारले वैशाख ९ गते विशेष बैठकको लागि प्रदेश प्रमु्ख पृथ्वीमान गुरुङलाई अनुरोध गरे अनुसार वैशाख ९ गते प्रदेश सभा बैठक डाकिएको छ ।

एमालेका २२ जना, माओवादी केन्द्रका ८ (सभामुखसहित ) र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसदको समर्थनमा गएको पुस २५ गते मुख्यमन्त्री बनेका अधिकारी माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा छन् । अल्पमतमा रहेका मुख्यमन्त्रीसँग विश्वासको मतको लागि सदनमा प्रस्ताव लैजाने वा राजीनामा दिने भन्ने दुई विकल्प बाँकी छन् ।

मुख्यमन्त्रीले निकटस्थहरुसँग विश्वासको मत माग्नुको सट्टा संवोधनसति राजीनामा गर्ने सोच बनाएको सुनाउँदै आएका छन् । यही उपक्रममा आइतबार एमालेको संसदीय दलको बैठक बसेको छ । पोखराको एक होटलमा आयोजना गरिएको रात्रिकालीन खानासहितको बैठकमा मुख्यमन्त्रीले पछिल्लो परिस्थितिबारे जानकारी गराउँदै सांसदहरुसँग सुझाव मागेका थिए ।

एमालेका एक सांसदका अनुसार बैठकमा सहभागीहरुले मुख्यमन्त्री स्वयं पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकार रहेकाले स्वविवेक प्रयोग गर्न सुझाएका थिए ।

‘खासमा हामी पार्टीले संचालन गरेको मिसन ग्रासरुट अभियानमा होमिएका थियौँ, यता संसद पनि थिएन, ’एमलो केन्द्रीय सदस्यसमेत रहेका सांसद भीम कार्कीले भने, ‘नयाँ वर्षको शुभकामना पनि दिऊँ भन्ने हिसाबले शुभकामना कार्यक्रम नै आयोजना गरिएको हो । त्यहाँ मुख्यमन्त्रीज्यूले परिस्थितिबारे जानकारी गराउनुभयो ।’

शुभकामना व्यक्त गर्ने क्रममा मुख्यमन्त्री अधिकारीले ‘परिस्थिति अनुसार जे आइपर्छ, त्यही गर्दै जाऊँ,  त्यसरी नै जाऊँ’ भनेका थिए । ‘हामीले चाहिँ एक-आपसमा शुभकामना आदान–प्रदान ग¥यौँ, दीर्घायूको कामना गरियो,’ सांसद कार्कीले भने । सरकारको दीर्घायूबारे कुरा भएन भन्ने प्रश्नमा उनले हाँस्दै भने, ‘सांसदहरु धेरैपछि भेट भएकाले नौलो र रमाइलो मानेका बेला त्यस्तो कुरा भएन । आउँदो ९ गतेसम्म ढुक्कै छौँ नि ।’

वैशाख ९ गतेको लागि बोलाइएको बैठकको कार्यसूची तय भएको छैन । त्यहाँ मुख्यमन्त्रीले संवोधन गर्ने र राजीनामा दिने सम्भावना रहेको छ । केन्द्रमा कांग्रेस र माओवादी गठबन्धन बनेपछि यहाँ यी दुई दलसँग सुविधाजनक बहुमत छ । कांग्रेस एक्लैसँग २७ सांसद छन् भने स्वतन्त्र जितेका तथा पछिल्लो समय नेकपा एकीकृत समाजवादी केन्द्र रोजेका दीपक मनाङेको नामबाट चिनिने राजीव गुरुङ पनि सत्ता पक्षमै देखिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->