बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पहिलो दिनमै हातमा पाठ्यपुस्तक

पहिलो दिनमै हातमा पाठ्यपुस्तक


  • हरिकृष्ण गौतम
  • बैशाख ४ २०८०, सोमबार

म्याग्दी/म्याग्दीमा शैक्षिक सत्र २०८० सुरु भएको पहिलो दिनमा विद्यालयमा प्रवेश गरेका विद्यार्थीले पाठ्यपुस्तक पाएका छन् ।

विगतका वर्षमा भर्ना अभियानको केही समयपछि मात्रै विद्यार्थीको हातमा पुस्तक पुग्ने गरेकोमा यसपटक शैक्षिक सत्र सुरु हुनु अगावै जिल्लामा आवश्यक पर्ने पाठ्यपुस्तक आइपुगेपछि वितरण गरिएको हो ।

जिल्लाको कक्षा १–१० मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर आवश्यक पुस्तकहरु सबै विद्यालयमा पुगेको छ । म्याग्दी सदरमुकाम बेनीमा पुस्तक बिक्री डिपो राखेर नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले पालिकाको केन्द्र हँुदै विद्यालयसम्म पाठ्यपुस्तक पुर्याएको छ ।

यता विद्यालयमा समयमै पुस्तक उपलब्ध भएपछि शैक्षिक गतिविधिमा सहज भएको मंगला गाउँपालिका–१ कुहुँ पुर्णगाउँका प्रधानध्यापक टेक राम्जालीले बताए ।

‘पुस्तकले विद्यार्थीलाई स्वागत गरियो,अब नियमित पठनपाठन सुरु हुन्छ,’प्रअ राम्जालीले भने । त्यस्तै उत्तरी म्याग्दीको ज्ञानप्रकाश माविका प्रधानध्यापक शान्त नेपालीले समेत समयमै पाठ्यपुस्तक उपलब्ध भएकाले सबै विद्यार्थीलाई वितरण गरिएको बताए ।

‘पुस्तक पाएपछि विद्यार्थी उत्साहित छन्,‘नियमित गतिविधिमा समेत सहज हुन्छ,’ प्रअ नेपालीले भने । उनका अनुसार पुस्तक भएपछि नियमित शैक्षिक तालिकालाई सहज हुने र गतिविधिमा केन्द्रित हुने बताए ।

म्याग्दीमा पुस्तक व्यवसायी महासंघको पहलमा ९० लाख रुपैयाँको लागतमा जिल्लामा सरकारी पाठ्यपुस्तक ल्याइएको छ । कक्षा १–५ को सबै पुस्तकहरु जिल्ला भित्रिएकोमा कक्षा ६–१० को पाठ्यपुस्तक विद्यालयमा पुगेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले बताए ।

उनका अनुसार यसपटक पुस्तक समयमै उपलब्ध हुदाँ भर्ना अभियान समेत प्रभावकारी हुने बताए । म्याग्दीलाई चाहिने करिब १५ हजार सेट पुस्तक आवश्यकता पर्नेमा आवश्यक अधिकांश पुस्तक उपलब्ध रहेको छ ।

जिल्ला भित्रिएको पाठ्यपुस्तकहरु दुर्गमका विद्यालयलाई प्राथमिकता दिएर वितरण गरिएको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा सामुदायिक, संस्थागत, क्याम्पस, अनौपचारिक, धार्मिक र संस्कृत गरी कुल २६३ वटा शैक्षिक संस्थाहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->